प्रचण्डलाई लगाएको गुनको पैंचो हत्कडी लगाएर पाएँ, केपी ओली राष्ट्र नायकः सांसद सुनिल शर्मा
एक्सन खबर
काठमाडौं, २६ साउन । नेपाली कांग्रेसका सांसद डाक्टर सुनिलकुमार शर्मा काठमाडौं जिल्ला अदालतबाट साधारण तारेखमा रिहा हुँदैै सुन तस्करीको विरुद्धमा आफुले आमरण अनसनको घोषणा गरेपछि त्यसलाई विगार्न र तोडमोड गर्नको निम्ति आफुलाई पक्राउ गरिएको बताएका छन् । साथै, उनले प्रधानमन्त्रीको निर्देशनमा आफुलाई ३० वर्ष अगाडीको केसमा सुन तस्करको संरक्षण गर्न पक्राउ गरिएको दावी गरे ।
‘सुन तस्करहरुका संरक्षकहरु विषेशतः अहिलेका गृहमन्त्री र अर्थमन्त्रीको राजीनामाको मागसहित अनसनको घोषणा गरेको थिए । त्यसलाई तोडमोड गर्नको निम्ति र राज्यसत्तामा टिकीरहनको निम्ति मलाई गिरफ्तार गरिएको थियो, यो गैरकानुनी छ आफैंमा ।’ आफुलाई प्रधानमन्त्रीकै निर्देशनमा पक्राउ गरिएको भन्दै डा.शर्माले भने,‘प्रधानमन्त्रीको निर्देशनमा भएको हो मेरो गिरफ्तारी ।’ आफुले घोषणा गरेको आमरण अनसन यथावत रहेको बताए ।
मिनबहादुर र बालकृष्ण भगौडा हैनन्
उनले न्यायालयले आफुलार्ई न्याय दिएपनि धेरै मान्छेहरुले न्याय पाउन बाँकी रहेकोसमेत जिकीर गरे । ‘मिनबहादुर जस्ता मान्छेहरु कस्टडीमा छन्, उनीहरुले बाहिर बसेर मुद्दा लड्न पाउनु पर्छ । बालकृष्ण खाँडले पनि बाहिर बसेर मुद्दा लड्न पाउनुपर्छ किनभने उहाँ भगौडा हैन ।’ डा. शर्माले भने ।
केपी शर्मा ओली राष्ट्र नायक
सांसद शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विशेष धन्यवाद दिए । सुन तस्करी प्रकरणमा संसदमा पक्ष र विपक्ष छैन भन्ने कुरा आज प्रमाणित भएको भन्दै डा. शर्माले भने,‘मेरो पिताजी सरह रोल निर्वाह गरिदिनु भएको राष्ट्र नायकको रुपमा आफुलाई उभ्याउनु भएको केपी शर्मा ओली र नेकपा एमालेलाई म फरक पार्टीको भएपनि ह्दयको अन्तस्करणबाट धन्यवाद दिन चाहन्छु ।’
प्रजातन्त्रको निम्ति र देश बनाउने पक्षमा लडिरहेकाहरुलाई राष्ट्र नायकहरुले सधैं बचाउँदै जानुपर्ने बताउँदै केही गुणहरु केपी शर्मा ओलीका राम्रा रहेको जिकीर गरे ।
प्रचण्डलाई लगाएको गुनको पैंचो हत्कडी लगाएर
त्यस्तै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वकालमा आफु लगायत केहीले शान्तिपूर्ण प्रक्रियामा ल्याउन स्वर्गीय गिरिजाप्रसाद कोइरालासँग वार्ता गराएको लगाएको गुनको पैंचो हत्कडी लगाएर तिरेको समेत भने । ‘त्यति सारो बैगुनी पनि हुनुहुँदैन । नेपालको इतिहासमा सुनिल शर्मा, शेखर कोइराला, कृष्ण सेन इच्छुक, महेश्वर दाहाल, मनोज थापाहरु जस्ता मान्छे नभएको भए आज उहाँ जंगलमा हुनुहुन्थ्यो । गिरिजाबाबुलाई कन्भिन्स गराएर पहिलो टेलिफोन वार्ता गराउने व्यक्तिहरु हौं हामीहरु ।’ सांसद शर्माले अगाडी भने,‘सास्वत सत्य हो उहाँले हैन भन्न सक्नुहुन्न । हामीले लगाएको गुनको पैंचो उहाँले आज हत्कडी लगाएर दिनु भएको छ । उहाँलाई म विशेष धन्यवाद दिन चाहन्छु । यो पावरको उन्माद हो ।’
उनले नेपाली कांग्रेसले अब माओवादीसँगको सत्ता गठबन्धनमा पनि पुर्नविचार गरिनुपर्ने जिकीर गरे । ‘यसरी नै गृहमन्त्रीले नेपाली कांग्रेसका मान्छेहरु, नेताहरु र सांसदहरुलाई एकएक गरेर धुलो चटाउँदै जाने र हाम्रो पार्टी एलाएन्स गरेर बसीराख्ने हो भने हाम्रो पार्टी सिध्धिने वाला छ । माओवादीसँगको सरकारको एलाएन्समा तत्काल रिथिङकीङ गर्नुपर्छ ।’
गृहमन्त्री टिकाउन लागे सरकार ढल्छ
यस्तै, उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई एक सेकेण्ड पनि सत्तामा बस्न नमिल्ने पनि बताए । ‘आतंककारी गृहमन्त्रीले एक सेकेण्ड सत्तामा बसिरहन मिल्दैन । उहाँलाई तुरुन्त हटाउनु पर्छ । प्रधानमन्त्रीले गृहमन्त्री टिकाउन लागे सरकार ढल्छ ।’ सांसद शर्माले भने ।
मेरो सर्टिफिकेन नक्कली छैन, प्रुफ गरेर देखाउँछु
सांसद सुनिलकुमार शर्माले आफुले हासिल गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली नरहेको प्रष्ट पारे । साथै उनले शैक्षिक प्रमाणपत्रहरु सक्कली रहेको विषय अदालतमा प्रमाणित गरेर देखाउने जिकीर गरे । ‘त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ मेडिसिनबाट ल्याव टेक्निसियन गरेको हुँ । त्यहाँ मेरो ५९ जति नम्बर छ । इन्ट्रान्स दिएर गरेको हो । मेरो एमविविएसको डिग्रीमा कुनै प्रश्न छैन । मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा दिएर पास गरेको हुँ । प्राइभेटबाट टियूको अर्को पनि डिग्री लिएको छु ।’ आइएस्सी भने आफुले भारतमा पढेको भन्दै उनले भने,‘त्यतिबेला मेरो मितबुबाहरु इण्डियामा हुनुहुन्थ्यो, उहाँहरुसँग बसेर पढेर परीक्षा दिएर बकाइदा पास भएर आएको मेरो सर्टिफिकेट हो । मेरो सर्टिफिकेट नक्कली छैन म अदालतमा त्यो प्रुफ गरेर देखाउँछु ।’
0 प्रतिकृया