नेपालको इन्जिनियरिङ शिक्षा अब्बल छ, विदेश जानु पर्दैन (भिडियाे सहित)
एक्सन खबर
काठमाडौं, २९ साउन । नेपालका विश्वविद्यालय र कलेजहरु गुणस्तरीय शिक्षा गर्न योग्य रहेकाले कक्षा १२ पास गरेपछि थप उच्च शिक्षा हासिल गर्न बिदेश गइरहन नपर्ने बताइएको छ । नेपालमै गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने तथा उच्च शिक्षा हासिल गरेपछि पनि रोजगारीका प्रसस्त अवसरहरु पाइने बताइएको हो ।
राजधानीमा आयोजित इन्जिनियरिङ अध्ययनका अवसर सम्बन्धी कार्यक्रममा बोल्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर प्रेमनारायण अर्यालले इन्जिनियरिङ शिक्षामा विश्वविद्यालयले समयानुकुल पाठ्यक्रम परिमार्जन गरेको जनाउँदै विश्वविद्यालयले विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने पाठ्यक्रम बनाएको जिकीर गरे ।
‘पोखरा विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु कमैले जागिर नपाएको गुनासो गरेका छन् । इन्जिनियरिङ शंकायको सबै विषयहरुको पाठ्यक्रम परिमार्जन गरेको छौं ।’ उपकुलपति अर्यालले भने,‘पाठ्यक्रममा ज्ञानको संसारमा व्यापक बृद्धि भएको अवस्थामा हामीले पाठ्यक्रम समसामयिक बनाउँदै लगेनौं भने विश्वबजारमा प्रतिष्पर्धा गर्न सक्दैनौं । विश्वविद्यालय आफ्ना पाठ्यक्रम समयानुकुल बनाउन सक्रिय छ ।’
विश्वविद्यालयले पाठ्यक्रमलाई परिस्कृत गर्नुका सार्थै इन्टर्नसिपलाई अनिवार्य गरेको छ । पोखरा विश्वविद्यालयले इन्जिनियरिङका सबै विषयकालागि तीन महिने अनिवार्य इन्टर्नसिपको व्यवस्था गरेको छ । नेपालमा उच्च शिक्षा हासिल गरेका नेपाली इन्जिनियरहरु विश्वबजारमा उत्कृष्ट भएको बताउँदै उपकुलपतिले नेपालको शिक्षालाई कमजोर भन्न नमिल्ने दावी गरे । साथै, नेपाली विद्यार्थीहरुलाई विदेश पलायन हुनबाट रोक्न अब सरकारलाई घच्घच्याउन जरुरी रहेको पनि बताए । ‘विदेशमा पढ्न गएकाहरुलाई नेपालमा फर्कने वातावरण बनाउनु पर्छ । सरकारलाई घच्घच्याउने बेला आइसकेको छ ।’
उपकुलपति अर्यालले विश्वविद्यालयले अन्य विश्वविद्यालयको दाँजोमा बढी छात्रवृत्ति दिएको जानकारी दिए । ‘हामीले २० प्रतिशत छात्रवृद्धि दिने गरेको छौं । अन्य विश्वविद्यालयले दिन सकिरहेका छैनन् ।’ विश्वविद्यालय बस्ने, पढ्ने र अक्षर चिनाउने शास्त्र मात्र नभएको जिकीर गर्दै उनले विश्वविद्यालय जीवन र दर्शन सिकाउने थलो रहेको पनि चर्चा गरे ।
कार्यक्रममा बोल्दै पूर्वमिस नेपाल तथा आर्किटेक्ट इन्जिनियर श्रृंखला खतिवडाले नेपालबाट इन्जिनियरिङ गरेकाहरु विश्व बजारमा सजिलै स्थापित हुन सक्ने बताइन् । धेरै नेपालीहरु नेपालमा ब्याचलर, मास्टर्स गरेर पिएचडीको लागि विश्वभर गएको बताउँदै नेपालको इन्जिनियरिङ शिक्षा विश्वब्यापी रहेको बताइन् । अमेरिकाको प्रसिद्ध हार्वर्ड विश्वविद्यालयबाट अर्वन प्लानिङमा स्नातकोत्तर खतिवडाले इन्जिनियरिङ अध्ययन गर्न चाहनेहरुले भविष्यमा नेपालमै धेरै संभावना र अवसरहरु पाउने जिकीर गरिन् ।
नेपालमै रहेर पनि अन्तराष्ट्रिय प्रोजेक्टहरुमा जोडिएर काम गर्न सकिने, भिजा प्रक्रियाले अमेरिका, अस्ट्रेलिया जापानजस्ता देशहरुमा अवसर पाउन समस्या परेपछि पछिल्लो समय मध्यपूर्वी खाडीमुलुकहरुमा इन्जिनियरिङ क्षेत्रमा धेरै अवसरहरु प्राप्त हुने जनाइन् । तत्कालै नेपालमै पढेर नेपालमै अवसर खोज्नेहरुले भनेजस्तो सेवा सुविधाहरु नपाउने समस्या रहेपनि भविष्यमा इन्जिनियरिङ क्षेत्रका दायराहरु बढी फराकिला हुँदै थप अवसरहरु पाइने भएकाले नेपाली माटोमा काम गरेर देशको विकास गर्न विद्यार्थीहरुलाई सुझाईन् । आफुले हार्वर्ड युनिभर्सिटीमा गएर स्नातकोत्तर गरेपनि त्यहाँको पाठ्यक्रमका कतिपय विषयहरु नेपालमै पढेको पाएकोले नेपालको पाठ्यक्रम कमजोर नरहेको दावी गरिन् ।
पोखरा विश्वविद्यालयका डीन राजेशकुमार ठकुराठीले विश्वविद्यालयको पाठ्यक्रम, आङ्गिक, संयुक्त क्याम्पस तथा सम्बन्धन प्राप्त क्याम्पस, तिनीहरुबाट प्राप्त हुने छात्रवृत्ति, प्रवेश परीक्षाका बारेमा जानकारी दिँदै पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु देशभित्र र देश बाहिरका उत्कृष्ट संस्थाहरुमा गएर काम गरिरहेको जिकीर गरे । नयाँ ऐच्छिक विषय आउने वित्तिकै तत्कालै लागु गर्न सक्ने विश्वविद्यालयको विशेषता रहेको जनाए ।
उर्जा व्यवसायी, नेपाल हाइड्रोपावर डेभलपर्स प्रा.लि.का अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले नेपालमा जलश्रोत, उर्जा क्षेत्रमा इन्जिनियरिङका लागि अत्यन्त संभावना रहेको बताए । कक्षा १२ पास गर्ने वित्तिकै विदेश जानुपर्छ भन्ने धारणा चैं विद्यार्थीहरुले हटाउनु पर्ने भन्दै प्रधानले भने,‘इन्जिनियरिङ यहाँ गर्नुस्, विदेश पनि जानुस, पैसापनि कमाउनुस आउनुस स्वदेशमा नै प्रसस्त अवसरहरु छ ।’
नेपालको खोलानालामा बगिरहेको पानी नभई सेतो सुन रहेको जिकीर गर्दै उनले त्यसमा नेपाल र नेपालीको भविष्य रहेको उल्लेख गरे । हाइड्रोपावर इन्जिनियरिङमा प्रसस्त संभावना रहेकाले विद्यार्थीहरुलाई त्यसतर्फ लाग्न प्रधानले सुझाए ।
नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पदमबहादुर शाहीले नेपालमा इन्जिनियरिङ पढ्न मात्र हैन व्यवसायीक हिसाबले काम गर्ने अवसर पनि रहेको बताए । स्नातक नेपालमा गरेर मास्टर्स गर्न विदेश जाँदा उपयुक्त हुने धारणा राख्दै अध्यक्ष शाहीले नेपालमै पनि मास्टर्स गर्ने अवसर समेत रहेको जनाए । ‘हामी इन्जिनियरले गर्ने काम प्रसस्त छ तपाई चाहे विदेशमा पढ्नुस या नेपालमै ।’ उनले भने ।
कार्यक्रममा कक्षा १२ को परीक्षा दिई इन्जिनियरिङ अध्ययन गर्न चाहने करिब २ हजार विद्यार्थी, पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजहरुको सहभागीता रहेको थियो । कार्यक्रमले नेपालको इन्जिनियरिङ शिक्षा गुणस्तरीय र अन्तराष्ट्रिय स्तरको रहेको छ भन्ने सन्देश विद्यार्थीमा प्रवाह गरेको नेपाल इन्जिनियरिङ कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले बताए ।
0 प्रतिकृया