कक्षा १२ को नतिजा सार्वजनिक, नन ग्रेडेड विद्यार्थीका लागि ग्रेडवृद्धिको परीक्षा
एक्सन खबर
काठमाडौं, ३० साउन । यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो ।
परीक्षामा नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् । त्यस्तै ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले यो नतिजा गत वर्षमा भन्दा ३ प्रतिशत विन्दुले सुधार भएको बताएका छन् । उनीहरुले माथिल्लो तह अध्ययन गर्न पाउने छैनन् र पुन: ग्रेडवृद्धिको परीक्षा दिनुपर्नेछ ।
बोर्डले कक्षा १२ को परीक्षामा ननग्रेड (एनजी) ल्याउने विद्यार्थीका लागि असोज ६ र ७ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ । बोर्डका परीक्षा नियन्त्रक दुर्गा अर्यालले दुई विषयसम्म नन ग्रेड ल्याएका १ लाख २३ हजार ३९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने बताए ।
कक्षा १२ मा सबै विषयमा ३५ प्रतिशत अंक ल्याएमात्र ग्रेडेड वा उत्तीर्ण हुने व्यवस्था छ । नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रति विषय ५ सय रुपैयाँ तिरेर नतिजा पुनर्योग गराउन सक्ने प्रावधान छ । त्यसमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुनः परीक्षण गराउन पनि सक्ने छन् ।
0 प्रतिकृया