नेकका पूर्वविद्यार्थी शहरी विकास आयोजनाको उपाध्यक्षमा नियुक्त
एक्सन खबर
काठमाडौं, ३२ साउन । नेपाल इन्जिनियरिङ कलेज (नेक)का पूर्वविद्यार्थी काठमाडौं महानगरपालिकाको शहरी विकास आयोजनाको उपाध्यक्षमा नियुक्त भएका छन् । कलेजको पहिलो व्याचका विद्यार्थी डा. सुमन नर्सिङ राजभण्डारीलाई कामनपाको आज बसेको २१ औं कार्यपालिका बैठकले उपाध्यक्षमा नियुक्त गर्ने नियुक्त गरेको हो ।
व्यक्तिगत कारण दर्शाउँदै आयोजनाका पूर्वउपाध्यक्ष तपेन्द्रबहादुर खड्काले पदबाट राजीनामा दिएपछि कार्यपालिका बैठकले डा. राजभण्डारीलाई आयोजनाको उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । काठमाडौं महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०७५ को व्यवस्था बमोजिम रिक्त उपाध्यक्ष पदमा राजभण्डारीलाई नियुक्त गरिएको हो ।
नेपाल इन्जिनियरिङ कलेजबाट स्नातक गरेका डा. भण्डारीले इटालीको वासिलीकाटा मटेरा विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा विद्यावारिधि गरेका छन् । पुल्चोक इन्जिनियरिङ् कलेजबाट उनले स्नातकोत्तर डा. राजभण्डारीले नेपाल इन्जिनियरिङ् कलेजमा सहायक प्राध्यापकका रूपमा समेत काम गरेका थिए ।
उनीसँग विमानस्थल, ठुला भवन, पुललगायत ठुला परियोजनाहरुको गुरुयोजना, विस्तृत परियोजना प्रतिवेदन निर्माण, स्ट्रक्चरल डिजाइन, सामाजिक तथा जलविज्ञान अध्ययन, डिटेल इन्जिनियरिङ सर्भे, आर्किटक्टलगायतका प्राविधिक क्षेत्रमा काम गरेको अनुभव समेत रहेको छ ।
उनले भैरहवाको गौतम बुद्ध विमानस्थल निर्माणमा परियोजना प्रबन्धक भएर डिजाइन, विश्लेषण, पुनरावलोकन र अनुगमन निरीक्षकको काम समेत गरेका थिए । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन, समीक्षा (रिभ्यु), सुपरिवेक्षणमा संलग्न राजभण्डारी चार वर्षको लागि महानगरको आयोजना उपाध्यक्षमा नियुक्त भएका हुन् ।
यसअघि कलेजका प्रोगाम कोअर्डिनेटर एशोसिएट प्रोफेसर बाबुराम भट्टराई समेत उक्त आयोजनाको सदस्यमा नियुक्त भएका छन् । नेकबाट उत्पादित जनशक्ति सरकारी, गैरसरकारी, निजी क्षेत्रमा हज्जारौंको संख्यामा कार्यरत रहेका छन् । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित कलेजले इन्जिनियरिङ शिक्षाका विविध विषयमा अध्ययापन गराउने गरेको छ ।
0 प्रतिकृया