Follow us:


Follow us

२२ भदौ २०८३, सोमवार
२२ भदौ २०८३, सोमवार


नेकपा एमालेमा जिम्मेवारी हेरफेर, संसदीय विभागमा भगबती चाैधरी (सूचीसहित)

एक्सन खबर
भदौ, १, २०८०


नेकपा एमालेमा जिम्मेवारी हेरफेर, संसदीय विभागमा भगबती चाैधरी (सूचीसहित)

काठमाडाैं, १ भदाै । नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । शुक्रबार अन्तरपार्टी निर्देशन 'अपानि' जारी गर्दै एमालेले केन्द्रीय कार्यालयको व्यवस्थापनमा रहेको बागमती प्रदेशको इन्चार्ज गुरू बराललाई तोकेको छ ।

एमाले संसदीय विभागमा पनि सदस्यहरू मनाेनय गरिएकाे छ । पृथ्वी सुब्बा गुरूङ प्रमुख रहेकाे विभागमा भगबती चाैधरी, सुनिता बराल, अम्बर रायमाझी, तारा लामा तामाङ लगायतलाई मनाेनयन गरिएकाे छ ।

काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई काठमाडौंको तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको इन्चार्ज बनाएकाे छ । सामाजिक सेवा विभागको प्रमुखमा झपटबहादुर बोहरालाई बनाउँदा कर्णाली प्रदेश कमिटीको सचिव रहेका कमल शाहीलाई जिम्मेवारीबाट हटाएर उपसचिव टेकराज पछाईलाई मनोनयन गरिएको अन्तर पार्टी निर्देशनमा उल्लेख छ ।

यस्तै, दीपकप्रकाश भट्टले अर्थयोजना विभागको सचिवबाट र सोभियत ढकालले विपद व्यवस्थापन तथा स्वयंसेवा विभागको सचिवबाट बिदा भएर भूगोलमै काम गर्न चाहेकाले उनीहरूलाई बिदा दिइएको छ ।

मञ्चमा पुष्पलाल, मदन, मनमोहन र अध्यक्ष ओलीको फोटो

एमालेले जनसंगठनका कार्यक्रममा जीवित नेतामध्ये पार्टी अध्यक्ष केपी ओलीको मात्रै फोटो मञ्चमा राख्न भनेको छ । कार्यक्रमको गरिमा र मर्यादा बढाउन अबदेखि पार्टी र जनसंगठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा तीन अग्रज नेताहरू, संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारीका अतिरिक्त पार्टी अध्यक्षबाहेक अरूको फोटो प्रयोग नगर्ने निर्णय गरेको उल्लेख छ ।

कार्यक्रमको मञ्च वक्ताले मात्र प्रयोग गर्ने गरी अतिथि र वक्ताहरूलाई दर्शकदीर्घामा नै मर्यादित ढंगले आसनको व्यवस्था मिलाउन एमालेले अपानीमा भनेकाे छ ।

यस्तै, एमालेले कार्यक्रम सुरू भएपछि अन्त्य नहुँदासम्म आसन ग्रहणको उद्घोषण गरिरहने परम्परा अन्त्य गर्ने निर्णय गरेको बताएको छ ।कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्न र कार्यक्रमलाई भड्किलो नबनाउन समेत एमालेले निर्देशन दिएको छ ।

त्यस्तै एमालेले सामाजिक सञ्जालमा अनधिकृत र अज्ञात व्यक्तिहरूबाट पार्टीको नाम, लोगो र झन्डा दुरूपयोग भइरहेकोतर्फ पनि सचेत गराएको छ। पार्टीपंक्ति तथा समाजमा भ्रम सिर्जना गरेको भन्दै पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक-एकाउन्ट बन्द गर्ने पहलका लागि केन्द्रीय प्रचार तथा प्रकाशन विभागलाई निर्देशन दिइएको छ ।

दुई केन्द्रीय सदस्य पदमुक्त, चार जनालाई बिदा


एमालेले पार्टीका दुई केन्द्रीय सदस्य पदमुक्त भएको र चार जनाले बिदा लिएको बताएको छ । काठमाडौं महानगरपालिकाका मेयरका प्रत्यासी केशव स्थापित र सिराहका प्रमोदनारायण यादवले केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग हुन चाहेकाले पदमुक्त गरेको छ ।

अजय क्रान्ति शाक्य (काठमाडौं), जुनेली श्रेष्ठ (मकवानपुर), पार्वती रावल (चितवन), पुरनसिंह दयाल (बैतडी) लाई बिदा दिइएको छ । स्वास्थ्यका कारण पार्टीमा सक्रिय हुन नसकेको जानकारी गराएर बिदा माग गरेकाले सोही अनुरूप स्वीकृत गरिएको हाे ।

यस्तै, लामो समयदेखि पार्टीको काममा संलग्न नभएका अन्य केही नेताहरूको हकमा अवस्था र कारण बुझेर आगामी बैठकमा आवश्यक निर्णय लिने भनिएकाे छ । गत सोमबार बसेको एमाले सचिवालय बैठकले स्थायी कमिटी सदस्य मणि थापासँग सोधपुछ गर्ने निर्णय गरेकोमा यसबारे केही नखुलाइकन अर्को बैठकले निर्णय गर्ने भनिएको छ ।













0 प्रतिकृया