काठमाडौं, ३ भदौ । २९ वर्षसम्म अनवरत निःस्वार्थ भावनाले नेपाल इन्जिनियरिङ कलेजको उन्नयनमा समर्पित प्राध्यापकको विदाई गरिएको छ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा स्थापना गरिएको चाँगुनारायण भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ उमेर हदका कारण ६३ वर्षको उमेरमा कलेजबाट विदा भएका हुन् ।
विदाई कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले नेपाल इन्जिनियरिङ कलेजको स्थापना, त्यसको शैक्षिक, भौतिक पूर्वाधार विकासमा डा. श्रेष्ठले पुर्याएको योगदानको चर्चा गर्दै २०७४ सालदेखि कलेजले भोगेको समस्यामा उनले निर्वाह गरेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरे । ‘उहाँले १९९४ अगस्ट ९ बाट कलेजमा लेक्चररको रुपमा प्रदेश गर्नुभयो । त्यसपछि कलेजको नियमावली र विधानसमेत ड्राफ्ट गर्न सहयोग गर्नुभयो । १९९५ बाट परीक्षा कमिटीको प्रमुख, होस्टल वार्डेनको रुपमा धेरै वर्ष काम गर्नुभयो ।’ कलेजको भाइसप्रिन्सिपल हुँदै २ कार्यकाल प्रिन्सिपल भएका डा.श्रेष्ठले २०७४ सालपछि कलेजका संस्थापकहरु विचको विवादमा कलेजको कुनैपनि पाठ्यक्रम तलमाथि नगराईकन कलेज चलाउन ठूलो योगदान दिएको कलेजकी प्रशासन प्रमुख श्रीमा शर्माले बताइन् । उनले कलेजको आत्मकथा लेख्ने हो भने हरिकृष्ण श्रेष्ठजस्तो उपयुक्त व्यक्ति अरु हुन नसक्ने समेत जिकीर गरिन् ।
कलेजको विकास, पाठ्यक्रम तयार पार्न तथा रिसर्चहरु गर्नलाई डा. श्रेष्ठले कलेजका शिक्षक, विद्यार्थीहरुलाई सहयोग गर्न र मोटिभेट गर्न प्रेरित गर्ने गरेको एशोसिएट प्रोफेसर राम स्थापितले बताए । अर्का एशोसिएट प्रोफेसर सुन्दर कुँवरले कलेजलाई अहिलेको अवस्थामा पुर्याउन योगदान गरेको चर्चा गर्दै सत्यको पक्षमा उभिएर कलेज बचाएको बताए । कलेजकी एशोसिएट प्रोफेसर तुसिता चाँदनी शाहीले सकारात्मक सोचका धनी डा. श्रेष्ठको साथमा रहेर काम गर्दा धेरै कुराहरु सिक्न पाएको बताइन् ।
स्वतन्त्र कर्मचारी संघका मनोहर खनालले कलेजको शैक्षिक, भौतिक र प्रशासनिक कार्यकुशलतामा डा. श्रेष्ठले पुर्याउनु भएको योगदानको मुक्तकण्ठले चर्चा गर्दै हरिकृष्ण श्रेष्ठले देखेको सपनाहरु पुरा गर्ने दायित्व नयाँ पुस्तामा आएको बताउँदै विषम परिस्थितिमा कलेज बचाउन डा. श्रेष्ठले निडर भएर कुशल नेतृत्व प्रदान गरेको बताए । शिक्षा मन्त्रालयद्वारा गठित कलेज सञ्चालक समितिका सदस्य नरेश खड्का, सोम प्रधान, दिनेश खनाल तथा सन्तोष केसीले कलेजलाई चाँगुनारायण कै गौरबको रुपमा विकास गर्न डा. हरिकृष्ण श्रेष्ठले ठूलो योगदान दिएको बताउँदै अनिवार्य सेवा निवृत भएर गएपछि कलेजले सदैव स्मरण गरिरहने तथा आउँदा दिनमा कुनै न कुनैरुपमा सहकार्य गरिरहने बताए ।
कलेजका प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष दीपक धामीले लामो कालखण्डमा प्राचार्य श्रेष्ठसँग सहकार्य गर्न पाएको चर्चा गर्दै उनले देखाएको बाटोमा अगाडी बढेर कलेज डोर्याउनु पर्ने बताए । कलेजका भाइस प्रिन्सिपल एशोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारीले प्रा.डा. हरिकृष्ण श्रेष्ठ प्राज्ञिक र प्रशासनिक दुवैमा अब्बल रहेको चर्चा गर्दै डा. श्रेष्ठसँग सहकार्य गर्दा आफुले धेरै कुरा सिक्न पाएको चर्चा गरे ।
विदाईमा आफ्नो मन्तव्य दिँदै प्रा.डा. श्रेष्ठले आफु कलेजको कर्मचारी भएकाले कर्मचारीको हिसाबले गर्नुपर्ने काम गरेको बताउँदै आगामी दिनमा कलेजका लागि आफ्नो आवश्यक्ता परे जस्तो सुकै सहयोग र सहकार्य गर्न तत्पर रहेको बताए । ‘आज मैले पचाउन सक्ने भन्दाबढी ताली पाएँ, प्रशंसा पाएँ, यसको हकदार छैन, म कर्मचारी हुँ, कर्मचारीको हिसाबले गर्नुपर्ने काम गर्या हुँ,’ काम गरेवापत पुरस्कार पाउनु पर्ने र सम्मान पाउनु पर्ने आफुलाई नलागेको डा. श्रेष्ठले जिकीर गरे । साथै, डा. श्रेष्ठले कलेजले पनि आफुलाई धेरैथोक दिएकोमा कृतज्ञता पनि व्यक्त गरे ।
सञ्चालकहरु विचको विवादका कारण कलेज विषम परिस्थितिमा पुग्दा त्यसलाई बचाउन नेतृत्व गर्दा शिक्षक, विद्यार्थी, कर्मचारी र स्थानीयले साथ दिएकोमा समेत डा. श्रेष्ठले धन्यवाद दिए ।
कलेजमा लामो समयदेखि कार्यरत शिक्षक, कर्मचारीहरु प्रा.डा. श्रेष्ठको विदाईमा भावविह्वल भएका थिए ।
0 प्रतिकृया