Follow us:


Follow us

७ असोज २०८०, आइतवार
७ असोज २०८०, आइतवार


खड्गजित बराल र डि.बि लामा पछि बसन्त बहादुर कुँवर

एक्सन खबर
भदौ, ४, २०८०




खड्गजित बराल र डि.बि लामा पछि बसन्त बहादुर कुँवर

बसन्तराज कुँवर

आज म नेपाल पूर्व प्रहरी संगठनको राष्ट्रिय अध्यक्ष छु । तर इमान्दारिताका साथ भन्छु ‘आफु प्रहरीमा रँहदा मलाई पनि कुनै दिन पूर्व हुनु पर्दछ भन्ने हेक्का सम्म थिएन ।’ न मलाई पुर्ब प्रहरीहरु मेरो प्रहरी कार्य वा परम्परासँग सरोकार राख्छन् भन्ने नै थाहा थियो । केहि पूर्व प्रहरी हुनुहुन्थ्यो, जस्ले मलाई गुन लगाउनु भएको थियो । वँहाहरु आउँदा न्यानो आतिथ्य भने दिन्थे । तर वँहाहरुको कल्याण हीत वा जीवनसँग मेरो बहालको पदको कुनै सम्बन्ध छ भन्ने चाँहि मलाई थाहा थिएन ।

मलाई लाग्छ मेरा कालका साथीहरू र म भन्दा पहिलेका अधिकांश अग्रजहरुको सोच पनि यस्तै हुनु पर्दछ । तर त्यस समयको भन्दा अहिले, बहालमा रहनु भएका प्रहरी अफिसरहरुले पूर्व प्रहरीहरुलाई हेर्ने दृष्टिकोणमा आकास–जमिनको फरक आएको छ । यस्को श्रेय आजको नेपाल पूर्व प्रहरी संगठनलाई नै जान्छ ।

मलाई देशभरीका पूर्व प्रहरी साथीहरुलाई यो सुनाउदा खुसी लाग्छ कि अब हाम्रो पूर्व प्रहरी संगठनको कार्यालय प्रहरी प्रधान कार्यालय देखि प्रदेश कार्यालय, मेट्रो कार्यालय देखि सबै जिल्ला प्रहरी कार्यालय भित्रै खडा हुँदै छ र त्यहाँ हाम्रा संयोजक बस्ने छन् । एतिहासिक सफलता हालका प्रहरी नेतृत्वमा रहनु भएका आइजीपी बसन्त बहादुर कुँवर, एआइजीपी दिपक थापा लगायतका सम्पूर्ण उच्च प्रहरी अधिकृतज्युहरुको ठुलो मन र आत्मीय सहयोग र साथले सम्भव भएको हो ।

नेपाल पूर्व प्रहरी संगठन अब मुलुकभर प्रहरी संगठनको साथ र संरक्षकत्वमा देश र समाजका लागि काम गर्नेछ । यो अकल्पनिय सहयोग र साथका क्षण नेपाल पूर्व प्रहरी संगठनले आफ्नो इतिहासमा प्रहरी संगठनको उच्च सम्मान गरी मनाउने र सम्झने छ । देसका अधिकांश पूर्व प्रहरीहरु पूर्व आइजिपी खड्गजित बराल र डी बी लामालाई सम्मान साथ सम्झन्छन् ।

किनकी उहाँहरुले पूर्व प्रहरीहरुका लागि गाँस, बास, शिक्षा र स्वास्थ्य सेवा दिनु भएको थियो । तर अब त्यसमा एक नाम अर्को थपिने छ ‘आइजिपी बसन्त बहादुर कुँवर र उहाँको टिम’ जस्ले पूर्व प्रहरीहरुलाई मुलुकभरी कार्यालय दिएर तपाइहरु हामीसँगै हुनु हुन्छ भन्दै आफ्नो मनमा स्थान दिनु भयो ।

जुन प्रहरी कार्यालयमा हिँजो पूर्व प्रहरी जाँदा आरपिले रोके भन्ने गुनासो आउँथ्यो त्यहाँ आज पूर्व प्रहरीहरुको अफिस छ । यो कत्ती ठुलो अर्थ राख्दछ । म यस कुरामा यत्ती भावुक छु कि प्रहरी प्रधान कार्यालयलाई सम्मान साथ दिने शब्द मैले पाईरहेको छैन । यत्ती भन्छु ‘देशभरीका बहालमा रहनु भएका प्रहरी साथीहरुलाई मुरी मुरी धन्यवाद र यो पल हाम्रो संगठनको जीवनको सुनौलो पल हुने छ ।’ पूर्व प्रहरी संगठनमा आइजीपी बसन्त बहादुर कुँवरको सम्मान अब बराल साब र डीबी लामाको उचाइमै रहने छ ।

जब २०४६ सालको आन्दोलनमा काठमाडौंमा उग्र र आक्रमक हुलले केहि तल्ला प्रहरीहरुलाई कब्जा गरी ठेला गाडीमा राखी बजार घुमाई कुटी–कुटी मार्दै गरेको र त्यस बेलाको प्रहरी प्रमुखलाई भिडले समातेर टुँडीखेल लगी जुँगा तानेर हातपात गर्दै गरेको समाचार पूर्व हवल्दार शम्भु ढकालले हेटौडामा पिपलको बोट मुनी रेडीयोबाट सुन्नु भएछ । तब उहाँको आँखा रसाएछन् र उहाँलाई त्यस समयको कमजोर र निरिह भएको प्रहरी साथीहरुको माया लागि तिनलाई सहयोग र साथ दिन ‘नेपाल पूर्व प्रहरी संघ’ बनाउने बिचार आएछ । उहाँको त्यस सोचकै कारण आज ३० बर्षे इतिहास बोकेको नेपाल पूर्व प्रहरी संगठनको जन्म भएको थियो । यस्को जन्म नै बहालका प्रहरीहरुलाई सहयोग गर्न भएको रहेछ ।

यस संगठनलाई क्रमशः डिआइजीपी चन्द्रबिर राई, शोमकान्त शर्माको टिमले प्रशासनिक रुपमा बलियो बनाउनु भयो । पूर्व प्रहरी प्रमुख डिबि लामाले केन्द्रीय कार्यालय भवनका साथै जिल्लाहरुमा ९ वटा कार्यालय बनाई ३९ जिल्लामा संगठन बिस्तार गर्नुभयो र हाम्रो आजको टिमले यो संगठनलाई ७७ वटै जिल्ला, ७ प्रदेश र १५० स्थानिय निकायमा बिस्तार गर्नुको साथै करीब ४५ स्थानमा आफ्नै कार्यालय भवन बनाउन वा जमिन जोड्न सफल भयो । यती मात्र होइन देशका जिल्लास्तर सम्मका सम्पूर्ण प्रहरी कार्यालयहरुमा समन्वय कार्यालय राख्न सफल भयो ।

अब हामी अझ संगठित भएका छौं र अब क्रमशः सबैलाई यो संगठन आफ्नै हो भन्ने महसुस दिलाउन थप काम गर्नेछौं । समय–समयमा कसैका ब्यक्तिगत स्वार्थका कारण वा हाम्रै कमी कमजोरीका कारण पूर्व प्रहरीका नाममा नयाँ दर्ता भएका संस्थाहरुलाई पनि बुझाउने छौं कि त्यता तिरबाट हामी देशभरीका हजारौ तल्ला पूर्व प्रहरीहरुको कल्याण र उच्च पूर्व प्रहरी साथीहरुको आत्मा सम्मान उठाउन सक्तैनौ । त्यस्का लागि यही झण्डा मुनी आउनुहोस् र काम गर्नुहोस् । नेपाल पूर्व प्रहरी संगठनलाई हामीले यो देशमा सबै भन्दा सशक्त गैह्र सरकारी संस्था बनाई आफ्ना बर्ग, प्रहरी संगठन र देशको हितमा अनुकरणिय काम गर्नुछ ।

यो कुरा सही हो कि हामीले जागीर खाँदा त्यस समय प्रहरी संगठनमा भोगेका गुट उपगुट र मनमुटावहरु पूर्व हुँदा पनि त्यस्का अवशेष बोकी रहेकै हुन्छौं, च्यापी रहेकै हुन्छौं । तर ती क्रमशः पखाल्न र फाल्न जरुरी छ । किनकी स्वच्छ नभै पवित्र काम गर्नै सकिन्न ।

उच्च तहका पूर्व प्रहरी साथीहरूले नेपाल पूर्व प्रहरी संगठनमा आइ यहाँ के के भै रहेको छ ? जानकारी राख्न पनि अनुरोध गर्दछु किनकी तपाईहरु मध्ये धेरै यस संगठनमा नआइकनै कुनै धारणा बनाइ रहनु भएको छ । धारणा बनाउन त्यसलाई नजिकबाट चिन्न पनि जरुरी हुन्छ । नत्र तपाईहरुको ठहर नै गलत हुन सक्छ ।

पुन आइजिपी बसन्त बहादुर कुँवर साब र सम्पूर्ण प्रहरी साथीहरुमा यस महान सहयोगका लागि देशभरीका पूर्व प्रहरीहरुको तर्फबाट सम्मान प्रकट गर्न चाहन्छु । एक प्रहरीले फुलीमा रहेर कस्तो काम गरे ? प्रहरी संगठनले हिसाब राख्दछ ? तिनले पूर्व प्रहरीको हितमा कस्तो काम गरे ? पूर्व प्रहरी संगठनले हिसाब राख्दछ । यि दुइ हिसाब अलग–अलग हुने गर्दछन् ।

केन्द्रिय अध्यक्ष
नेपाल पूर्व प्रहरी संगठन













0 प्रतिकृया