काेशी प्रदेशमा असंवैधानिक तवरले विश्वासको मत सिद्ध गरियाे : शेखर कोइराला
एक्सन खबर
विराटनगर, ५ भदाै । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षको भोटबाट लिएको विश्वासको मत असंवैधानिक भएको प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता शेखर कोइरालाले बताएका छन् । सभाध्यक्ष पनि सभामुख नै भएको र उसको भोटले विश्वासको मत सिद्ध गर्ने कार्य संविधानविपरीत भएको बताउँदै तर त्यसको व्याख्या पुनः सर्वोच्च अदालतले नै गर्नुपर्ने डा. काेइरालाले बताए ।
‘सर्वोच्चले जे निर्णय गर्छ त्यसलाई स्वीकार्नुपर्छ, सत्ता गठबन्धनका शीर्ष नेताहरुले निर्णय गरेर यसरी विश्वसको मत लिनु भनेर पठाइदियो त्यो नै लोकतान्त्रिक पद्धति भएन ।’ विराटनगरमा मंगलबार पत्रकारसँगको कुराकानीमा कोइरालाले भने ।
कोइरालाले राज्यसत्ता कमजोर भएकाे बेला अदालत सक्रिय हुँदा त्यसलाई न्यायिक सकृयता भन्नु गलत भएकाे बताए । यसअघि सभामुखको हस्ताक्षरले विश्वासको मतका लागि बहुमत पुर्याएको रिटमा सर्वोच्च अदालतले गरेको फैसला सही भएकाे तर फेरि त्यही गल्ती दोहोर्याइएकोले पुनः अदालतको निर्णयको प्रतिक्षा गर्नुको विकल्प नभएको काेइरालाकाे भनाइ छ ।
कोशी प्रदेशमा अहिले संविधानको धारा १६८ को उपधारा (२) को प्रक्रियामा सरकार गठन भएको र अब त्यही धाराको उपधारा (३) मा जाने तर त्यस अनुसार पनि गठन भएको सरकारले राजनीतिक स्थायित्व प्रदान नगर्ने कोइरालाले जिकीर गरे । उनले उक्त धाराको उपधार (५) अनुसारको सरकार गठन भएपछि मात्रै काेशी प्रदेशमा राजनीतिक स्थायित्व प्राप्त हुने बताए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक महिनादेखि संसद अवरुद्ध गरेकाे अवस्थामा संविधानको रक्षक राष्ट्रपति रामचन्द्र पौडेलले सबै पार्टीका नेतालाई बोलाएर कुराकानी गरेकोलाई राष्ट्रपतिको सक्रिय भएको भन्नु गलत भएको पनि बताए ।
सुन तस्करी प्रकरणमा बाेल्दै काेइरालाले चित्त नबुझ्दैमा चार महिनामा नै अतिरिक्त प्रहरी महानिरीक्षक लगायतका प्रहरी अधिकृतको सरुवा गरिनुले अप्ठयारो परिस्थिति निम्तिने तर्क गरे । ‘जेमा अनुसन्धान भइरहेको त्यो सबैमा सरकारले डिटरमाइन्ड गरिरहेको छ । त्यो गलत भइरहेको छ र त्यसमा इन्डिपेन्डेन्सी दिइरहेको छैन,’ उनले भने ।
सीआईबीलाई स्वतन्त्र रुपले चल्न दिएको भए परिस्थिति अर्कै भइसक्नेमा अनुसन्धान गर्ने संस्थालाई प्रधानमन्त्री र गृहमन्त्रीले गाइड गरिदिएकाले लोकतान्त्रिक पद्धति कमजोर बनेकाे काेइरालाले जिकीर गरे ।
0 प्रतिकृया