Follow us:


Follow us

१९ भदौ २०८३, शुक्रवार
१९ भदौ २०८३, शुक्रवार


भारतकाे चन्द्रमा–३ यान सफलतापूर्वक अवतरण, केपी ओलीकाे शुभकामना

एक्सन खबर
भदौ, ६, २०८०


भारतकाे चन्द्रमा–३ यान सफलतापूर्वक अवतरण, केपी ओलीकाे शुभकामना

काठमाडाैं, ६ भदाै । चन्द्रमामा यान पठाउने भारत चाैथाे देश भएकाे छ । एक महिना अगाडी भारतले पठाएकाे चन्द्रयान–३ चन्द्रमामा सफलतापूर्वक अवतरण भएसँगै चन्द्रमामा यान पठाउने भारत चाैथाे देश बनेकाे हाे ।

भारतीय समयअनुसार ६ बजेर ४ मिनेटमा चन्द्रयान–३ चन्द्रमामा अवतरण भएकाे छ । याेसँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गर्ने पहिलो देश बनेकाे छ । भारतको चन्द्रयान–३ भन्दा केही दिनअघि चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने तयारीमा रहेको रुसको यान लुना–२५ दुर्घटनामा परेपछि भारत पहिलो भएको हो ।

अमेरिका, रुस र चीनले चन्द्रमाको भू–मध्य रेखा नजिक यान अवतरण गरे पनि कसैले पनि दक्षिणी ध्रुवमा अवतरण गरेका छैनन् । चन्द्रयान–३ का प्रमुख लक्ष्यमध्ये एक पानीमा आधारित बरफको खोजी गर्नु हो । भविष्यमा चन्द्रमामा मानव बसोबास हुनसक्ने तर्कलाई सघाउने वैज्ञानिकहरू बताउँछन् ।



गएकाे जुलाई १४ तारिखमा भारतीय समयअनुसार दिउँसाे २ बजेर ३५ मिनेटमा हरिकाेटाबाट उडान भरेकाे चन्द्रयान–३, ४० दिनकाे लामाे यात्रा पूरा गरेर चन्द्रमासम्म पुगेकाे हाे ।

चार वर्षअघि चन्द्रयान–२ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप परिष्कृत गर्दै भारतले चन्द्रयान–३ बनाएको हो । सन् २००८ मा भारतले पठाएको पहिलो चन्द्र 'मिसन' चन्द्रयान-१ ले चन्द्रमाको सतहमा पानीका अणुहरू रहेको पत्ता लगाएको थियो ।

चन्द्रयानकाे अवतरणको दृश्यलाई भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले युट्युव र फेसबुकबाट प्रत्यक्ष प्रसारण गरेको थियो । ब्रिक्स सम्मेलनका लागि दक्षिण अफ्रिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रत्यक्ष प्रसारण हेरेका थिए । उनले आजै बेलुका देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

भारतले चन्द्रयान सफलतापूर्वक चन्द्रमामा अवतरण गराउन सफल भएकाेमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुभकामना दिँदै पूर्वीय ज्ञानले विज्ञानको क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरेको बताएका छन् ।

‘आज भारतको चन्द्र यान - ३ चन्द्रमाको दक्षिणी ध्रुव (South pole) मा अवतरण गरेको छ। यस मिसनको सफलताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी, वैज्ञानिक र भारतबासी सबैलाई बधाई ! पूर्वीय ज्ञानले विज्ञानको क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ, हामी पनि खुसी छौं ।’ ओलीले भनेका छन् ।













0 प्रतिकृया