Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


ओशो वर्ल्ड कन्सल्टेन्सीको ठगी : नक्कली वर्क परमिट दिएर लाखाैं ठगी गरेर वेपत्ता

एक्सन खबर
भदौ, ६, २०८०


ओशो वर्ल्ड कन्सल्टेन्सीको ठगी : नक्कली वर्क परमिट दिएर लाखाैं ठगी गरेर वेपत्ता

झापा, ६ भदाै । बैदेशिक राेजगारीमा पठाइदिने भन्दै लाखाैं कुम्ल्याउँदै झापा विर्तामाेडका कन्सल्टेन्सी सञ्चालक फरार भएका छन् । माल्टा, साइबेरिया, रोमानिया, पोल्याण्ड, कोरियालगायतका देशमा रोजगारी दिलाउने भन्दै विर्तामाेडकाे ओशो वर्ल्ड कन्सल्टेन्सी सञ्चालकले ७० जनाभन्दा धेरै व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार भएका हुन् ।

उक्त कन्सल्टेन्सीले प्रतिव्यक्ति रु ५० हजारदेखि पाँच लाखसम्म ठगी गरेको र कन्सल्टेन्सी सञ्चालक फरार रहेको पीडितले बताएका छन् । शिवसताक्षी नगरपाालिकास्थित माइधार घर भएका पदम योङ्हाङसहित लक्ष्मीप्रसाद बराल (अञ्जान), धर्म तिम्सिना र अर्जुनधाराका लक्ष्मण घिमिरेले ७० जनाभन्दा बढी व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको अर्जुनधारा–६ निवासी चन्दा अधिकारीले बताइन् ।

श्रीमान् दीपक अधिकारीलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै लक्ष्मण घिमिरे र लक्ष्मीप्रसाद बराल (अञ्जान) ले आफूहरूसँग तीन लाख ठगी गरेको अधिकारीले जिकीर गरिन् । गत वर्ष भदौ ३० गते आफ्ना श्रीमानलाई माल्टा पठाउने भन्दै घिमिरेले आफूहरूसँग राहदानीसहित एक लाख, चार महिनापछि पुसमा पुनः एक लाख त्यस्तै मेडिकल तथा प्रहरी रिपोर्टका लागि नौ हजार छ सय र चैत ३ गते वर्क पर्मिटका लागि भन्दै पुनः एक लाख लिएर सम्पर्कविहीन भएको अधिकारीले बताइन् ।

रकम लिएको तीन महिनामा माल्टा उडाउँछु भन्ने घिमिरेले पछि आफूले माल्टा पठाउन नसकेको र काठमाडौँमा रहेका सरसँग कुरा गर्नु भन्दै अञ्जानसँग सम्पर्क गराएको पीडित अधिकारीले बताइन् । ‘काठमाडौँबाट सर आउनुभएको छ भन्दै उनले पुस ४ गते अञ्जानसँग भेट गराए । पुसमा पुनः दोस्रो पटक मेडिकल गराएर फागुन अन्तिमतिर ‘एग्रिमेन्ट पेपर’ दिँदै विश्वास दिलाएपछि पुनः एक लाख चैत ३ गते दिएका हौँ । उनीहरूले हामीबाट तीन लाख नौ हजार छ सय लगेका छन् ।’ अधिकारीले भनिन् ।

वर्क पर्मिटका लागि तत्काल पैसा चाहिने भन्दै अञ्जानले आफूहरूसँग रकम मागेबमोजिमको एक लाख दिएकाे र राहदानीको मिति समेत सकिन लागेकाले नयाँ राहदानी बनाएको बताइन् । ‘सन् २०२४ मा श्रीमानको राहदानीको मिति सकिँदै थियो, हतारहतार नयाँ राहदानी बनाएर अञ्जानलाई जिम्मा लगायौँ । तर, उनीहरू राहदानी लगेसँगै अञ्जान बेपत्ता बने ।’ साहुबाट सय कडा तीन रूपैंया ब्याजमा पैसा लिएकाले ऋणले घरको न घाटको भएकाे उनकाे भनाई छ । ‘अहिले दिनहुँ साहु घरमै आएर पैसा माग्छन् । न साँवा तिर्न सकियो न ब्याज तिर्न सकियो । हाम्रो त उठिबास नै लाग्यो ।’

घिमिरे र बरालले आफूहरूलाई ठगी गर्दै उठिबास लगाएसँगै न्यायको खोजीमा पटक–पटक जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएपनि कुनै सुनुवाई नभएकाे उनकाे भनाई छ ।

यस्तै शिवसताक्षी–१० का दीपककुमार कोइरालाले पनि रोमानिया जाने सुन्दर सपना बोकेर कन्सल्टेन्सी सञ्चालकलाई ७० हजारसहित राहदानी धर्म तिम्सिनालाई थमाएका थिए । तिम्सिनाले पनि कोइरालालाई ‘हेड अफिस’को सर भन्दै अञ्जान बरालसँग जोडाएका थिए ।

युरोपको काम हेर्ने अञ्जान भएको र आफूले खाडी र मलेसियाको मात्रै काम हेर्ने भएपनि ‘हामी दुवैले सहकार्य गरेर अफिस चलाएकाले तपाईंको रकम फस्दैन’ भन्दै सुरुमा राहदानीसहित ५० हजार लिएको र पछि वर्क पर्मिटका लागि दुई सय यूरो पठाउनुपर्छ भन्दै पुनः २० हजार लिएको कोइरालाको भनाइ छ ।

‘हाम्रो एउटै गाउँ हो डराउनु पर्दैन, पहिला मेरो खगोल मेनपावर थियो अहिले युरोपको पनि काम हेर्ने गरी यो मेनपावर चलाएका हौं ।’ तिम्सिनाको भनाई उद्धृत गर्दै कोइरालाले भने,‘ तपाईंको वर्क पर्मिट साउन १५ गते आइसक्छ । भदौको पहिलो हप्ता दिल्ली जानुपर्छ तयारी अवस्थामा बस्नू ।’ कोइरालाका अनुसार तिम्सीना समेत अहिले एकाएक बेपत्ता बनेका छन् । उनले भनेको वर्क पर्मिट पनि नक्कली हरेछ । घरमा जाँदा उनी भेटिँदैनन् । अफिस पनि महिनौँदेखि बन्द गरेर फरार छन् ।

यता कनकाई नगरपालिका–३ का अमित काफ्लेको पनि रोमानिया जाने योजना सपनामा परिणत भएको छ । उनलाई पनि सोही गिरोहले ठगी गरेको हाे । आफूले पनि अञ्जान बराललाई राहदानीसहित ५० हजार बुझाएको तर अहिले उनी एक वर्षदेखि सम्पर्कविहीन भएको काफ्लेको भनाइ छ ।

आफ्नै गाउँका सुसान भट्टराईमार्फत बरालसँग सम्पर्क भएको र बराललाई आफूले एनआइसी एसिया बैंकमार्फत रकम दिएकाे काफ्लेको भनाइ छ ।   ‘रोमानियाको हम्बोर्ड भन्ने कम्पनीबाट अफर लेटर आएको भन्दै सुरुमा मलाई त्यो लेटर देखाए । पछि बुझ्दा त्यो नाम गरेको कम्पनी नै रोमानियामा रहेनछ’, उनले भने । रोमानियामा रहेका आफ्ना साथीभाइलाई फर लेटर पठाएर त्यो कम्पनीको विषयमा बुझ्न लगाउँदा अफर लेटरको लोकेसनमा कम्पनी नै नरहेको काफ्लेको दावी छ ।

‘उनीहरूले दिएको मसँग वर्क पर्मिट छ तर, त्यो नक्कली रहेछ’ काफ्लेले भने, ‘हम्बोर्ड कम्पनी देखाएर मलाई जीएमडी इन्डस्ट्रीको वर्क पर्मिट दिइएको छ । वर्क पर्मिटमा भएको त्यसको दर्ता नम्बर कोड गुगलले अर्कै कम्पनीको नाम अस्तर भन्ने देखाउँछ । त्यस आधारमा पनि म ठगिएँछु भन्ने लागेर एजेन्ट र मेनपावर कम्पनी पुग्दा उनीहरू मेनपावर बन्द गरेर फरार भइसकेछन् ।’

उनीहरूजस्ता धेरैलाई माल्टा, साइबेरिया, रोमानिया, पोल्याण्ड, कोरियालगायतका देशमा रोजगारी दिलाउने भन्दै ओशो वर्ल्ड कन्सल्टेन्सीका सञ्चालकले ठगी गरेको पीडितले आरोप लगाएका छन् । ओशो वर्ल्ड कन्सल्टेन्सीका नाममा लक्ष्मीप्रसाद बराल (अञ्जान) पदम योङ्हाङ, धर्म तिम्सिना र लक्ष्मण घिमिरेको गिरोहले आफूहरूबाट लाखौँ रूपैयाँ ठगेको पीडितहरूले बताए ।

ओशो वर्ल्ड कन्सल्टेन्सीबाट ठगिनेहरूः

कनकाई नगरपालिका–३ निवासी सविना कोइराला भट्टराई (रोमानिया– रु एक लाख)

कनकाई–३ कै सुभद्रा न्यौपाने कोइराला (रोमानिया– रु ५० हजार)

कनकाई नगरपाालिका–३ कै चिरञ्जीवी महताे (माल्टा– रु एक लाख)

बिर्तामोड नगरपालिका–४ का विनोद उप्रेती (माल्टा– रु एक लाख)

बुद्धशान्ति गाउँपालिका–५ का गोविन्द ढुङ्गाना (माल्टा– रु एक लाख)

मेची नगरपालिका–९ का ओम प्रकाश भण्डारी (माल्टा– रु एक लाख)

बुद्धशान्ति गाउँपालिका निवाासी योगेश कोइराला (माल्टा– रु एक लाख)

बिर्तामोड नगरपालिका–४ का विकास उप्रेती (रोमानिया– रु ७० हजार)

शिवसताक्षी नगरपालिका–१० का दीपककुमार कोइराला (रोमानिया– रु ७० हजार)

अर्जुनधाराका रोमन सापकोटा (रोमानिया– रु ५० हजार)

शिवसताक्षी–१० का गङ्गाप्रसाद पराजुली (रोमनिया– रु ७० हजार

कनकाई–४ का दुर्गाप्रसाद कोइराला (रोमानिया– रु ७० हजार)

बुद्धशान्ति–२ का लक्ष्मीप्रसाद नेपाल (रोमानिया– रु दुई लाख)

कनकाई नगरपालिका–३ का किरण कुमाल (रोमानिया– रु ५० हजार)

कनकाई–३ का अशोक थापा (रोमानिया– रु ३० हजार)

कनकाई–३ का  डिकबहादुर भुजेल (रोमानिया– रु ५० हजार)













0 प्रतिकृया