नागरिकताकाे सिफारिस दिन बारा ५ का वडाध्यक्षले ४० हजार मागे
एक्सन खबर
काठमाडौं, ९ भदौ । छोराहरुको नागरिकता बनाउन सिफारिस माग्दा बारा, पचरौता नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लक्ष्मी यादवले घुस मागेको मोसाहेव मियर अन्सारीले बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले छोराहरु आशिक अन्सारी र समीर अन्सारीको नागरिकता बनाउन सिफारिस माग्दा वडाध्यक्ष यादवले ४० हजार घुस मागेको बताएका हुन् ।
पीडित अन्सारीले गत असार २९ गते छोराहरुको नागरिकता बनाउनका लागि सिफारिस लिन गएका थिए । आफ्नो जन्मको आधारमा नेपाली नागरिकता रहेको बताउँदै उनले श्रीमतीको नागरिकता बनाउँदा पनि दुई पटक गरेर ३८ हजार रुपैयाँ घुस दिएको बताए । घुस दिएपछि मात्रै वडा कार्यालयबाट नागरिकताको सिफारिस पाएको उनको भनाई छ ।
उनले श्रीमतीको नागरिकताको सिफारिस बनाउन बुहारीको गहना बेचेर वडाध्यक्षलाई घुस रकम बुझाएको बताए । घुस रकम दिएपछि श्रीमतीको नागरिकताको लागि सिफारिस बनाइदिएको उनको दाबी छ । दुई भाई छोराको नागरिकता बनाउन सिफारिस लिन जाँदा तीन दिनसम्म फाइल अड्काएर पैसा मागेको र ‘अहिले पैसा छैन, कमाएर दिन्छु’ भन्दा फाइल च्यातिदिएको उनले बताए ।
उनले आफू र श्रीमतीको नेपाली नागरिकता रहेको पनि देखाए । साथै, आफूहरु सगोलमा रहेको बताउँदै उनले उक्त ठाउँमा भाईको नाममा जग्गा रहेको जग्गा धनी प्रमाण पुर्जासमेत देखाए । आफूले पैसा दिएर छोराहरुको नागरिकता बनाउन नसक्ने उनले बताए ।
आफूसँग रहेका विभिन्न प्रमाणहरु देखाउँदै उनले भने,‘मेरो श्रीमतीको नागरिकता बनिसक्यो । मेरो भाईको नाममा जमिन छ, हामी एकै ठाउँमा बसेका छौं । छोराको स्कूलको प्रमाणपत्र पनि छ । नागरिकता बनाउन दिने पैसा मसँग छैन । नबनेपछि फाँसी लगाएर मर्छु,’–उनले भने ।
0 प्रतिकृया