विजय गच्छदार र मिनबहादुर गुरूङलाई कति बिगाे ? (विवरण सहित)
एक्सन खबर
काठमाडाैं, ११ भदाै । ललिता निवास जग्गा घोटाला प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आइतबार मुद्दा दायर गर्दै २३९ जनासँग बिगाे दावी गरेकाे छ । सरकारी वकिलले काठमाडौँ जिल्ला अदालतमा २८९ प्रतिवादी कायम गरेर मुद्दा दायर गरेपनि बिगो मागदाबी भने २३९ जनासँग मात्र गरेकाे छ ।
प्रकरणमा प्रतिवादी नम्बर १ मा रामकुमार सुवेदीलाई बनाइँदा माधवी सुवेदीलाई दोस्रो, शोभाकान्त ढकाललाई तेस्रो, कृष्ण बहादुर राउतलाई चौथो र शिवजी भट्टराईलाई पाँचौँ स्थानमा राखिएकाे छ । रामकुमार सुवेदीलाई ६ अर्ब ८४ कराेड २६ लाख रूपैया बिगाे माग गरिएकाे छ । माधबी सुवेदीलाई २ अर्ब ८८ कराेड ४० लाख ८६ हजार ४७४ रूपैंया, शाेकाकान्त ढकाललाई ६ अर्ब ८४ कराेड २६ लाख रूपैंया बिगाे माग गरिएकाे छ ।
यस्तै, भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरूङ ९ नम्बरमा प्रतिवादी बनाइएका छन् । गुरूङलाई ४ अर्ब ९१ कराेड ८१ लाख २४ हजार ६४६ रूपैंया बिगाे माग गरिएकाे छ । पूर्वमन्त्री चन्द्रदेव जाेशीलाई २०५ नम्बरमा प्रतिवादी बनाइँदा तत्कालिन भाैतिक याेजना निर्माण मन्त्रालयका सचिव दिप बस्न्यातलाई २२० नम्बरमा प्रतिवादी बनाइएकाे छ । तत्कालिन भूमि सुधार व्यवस्था मन्त्री डम्बर श्रेष्ठलाई २३९ नम्बरमा प्रतिवादी बनाइएकाे छ ।
तत्कालिन उपप्रधान तथा भाैतिक याेजना मन्त्रालयका मन्त्री विजयकुमार गच्छदारलाई २३८ नम्बरमा प्रतिवादी बनाइएकाे छ । उनलाई भूमि सुधार व्यवस्था मन्त्रालयकाे क्षेत्राधिकार भित्र प्रवेश गरी भाैतिक निर्माण तथा याेजना मन्त्रालयकाे तर्फबाट निर्णय गरेकाेमा प्रतिवादी बनाइएकाे हाे । गच्छदारलाई १० कराेड, ५१ लाख १२ हजार ९०३ रूपैया बिगाे कायम गरिएकाे छ । तत्कालिन भाैतिक याेजना तथा निर्माण राज्यमन्त्री सञ्जयकुमार साहलाई समेत गच्छदारकै बराबर बिगाे कायम गरिएकाे छ ।
प्रकरणकाे अन्तिम नम्बरमा सञ्जजन कुमार चाचनलाई प्रतिवादी बनाइएको छ । प्रतिवादीहरुसँग ६ अर्बदेखि ४२ लाखसम्मको बिगो माग दाबी गरिएको छ । सीआईबीको सिफारिसमा अदालतमा २१ जना मृत्यु भइसकेका प्रतिवादीलाई पनि विपक्षी बनाइएको छ ।
0 प्रतिकृया