Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार्न तीनै तह लाग्नुपर्छः सांसद भगबती चौधरी

एक्सन खबर
भदौ, ११, २०८०


सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार्न तीनै तह लाग्नुपर्छः सांसद भगबती चौधरी

सुनसरी, ११ भदौ । बालबालिका देशको कर्णधार भएकाले उनीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सुविधा सम्पन्न शिक्षालय हुनुपर्ने सांसद भगबती चौधरीले बताएकी छन् । सामुदायिक विद्यालयहरुको शैक्षिकस्तर सुधार्न तीनै तहका सरकारले विशेष जोड दिनुपर्ने बताउँदै चौधरीले विद्यालयको पूर्वाधार, शिक्षकहरुको गुणस्तर राम्रो भए विद्यार्थीहरुले पढ्न सक्ने पनि बताइन् ।

गृहजिल्ला सुनसरी निर्वाचन क्षेत्र नं. ३ को बर्जु गाउँपालिका वडा नं. १ मा गत माघ १७ गते आफैंले शिलान्याश गरेको नवदुर्गा माध्यामिक विद्यालयको भवन उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहेकी चौधरीले बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरेमा भविष्यमा समाज र देशको विकासमा ठूलो टेवा पुग्ने बताइन् । ‘शिक्षाको अति महत्व छ, बालबालिकाहरुलाई आज राम्रो शिक्षा दिन सकियो भने भोलीका दिनमा देश र समाजका लागि ठूलो पुग्छ ।’ ८ कोठे नवनिर्मित भवन निर्माण भइसकेपछि अब सो क्षेत्रका बालबालिकाहरुले चुहिने छानोमा बसेर पढ्नु पर्ने बाध्यता हटेको बताइन् ।

भवन निर्माणमा संलग्न विद्यालय व्यवस्थापन समिति, स्थानीय, प्रदेश सरकार, तराई मधेश समृद्धि कार्यक्रमलाई धन्यवाद दिँदै सांसद चौधरीले सुनसरी क्षेत्र नं. ३ को विकास र जनताका हरेक समस्याहरुमा आफु सदैव लाग्ने प्रतिबद्धता जनाइन् । कार्यक्रमको विशिष्ट अतिथि कोशी प्रदेश सांसद रामदेव यादव रहेका थिए । उनले बालबालिकाहरुलाई स्तरीय शिक्षा दिन आफु लागि पर्ने बताए ।

कार्यक्रममा बर्जु गाउँपालिकाकी उपप्रमुख नितुकुमारी चौधरी, ६ वटै वडाका वडाध्यक्ष, गाउँपालिकाका प्रशासकीय अधिकृत, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीय र विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको अध्यक्षता बर्जु गाउँपालिका अध्यक्ष जिवछ रायले गरेका थिए ।

उक्त विद्यालय भवन निर्माणका लागि कोशी प्रदेश सरकारको १ करोड, संघीय सरकारको तराई मधेश समृद्धि कार्यक्रमको ३० लाख तथा बर्जु गाउँपालिकाको ४८ लाख बजेट विनियोजन गरेका थिए । १ करोड ७८ लाख ५ हजार ६० रुपैंयामा निर्माण भएको भवन १७४ दिनमा तयार भएको हो । भवन कटहरी ३ मोरङको उत्तरा कन्ट्रक्सन एण्ड सप्लायर्सले निर्माणको ठेक्का पाएको थियो ।


















0 प्रतिकृया