Follow us:


Follow us

२ वैशाख २०८३, बुधवार
२ वैशाख २०८३, बुधवार


नक्कली बाबु बनाएर नागरिकता लिन खोज्दा एक भारतीय पक्राउ

एक्सन खबर
भदौ, १३, २०८०


नक्कली बाबु बनाएर नागरिकता लिन खोज्दा एक भारतीय पक्राउ

रबिन्द्र यादव

पश्चिम नवलपरासी, १३ भदाै । नक्कली बाबु बनाएर नागरिकता लिन खाेज्दा नवलपरासी प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले प्रतापपुर गाउँपालिका वडा नं ९ अठलही स्थित मामा घर बस्दै आएका बर्ष १९ का राहुल कर्मीलाई पक्राउ गरेको हो ।

कुुर्मीले प्रतापपुर गाउँपालिका वडा नं ६ कठहवा गाउँ बस्ने गौरीशंकर कुर्मीलाई नक्कली बुवा बनाएर नेपाली नागरिकता लिन खोज्दा सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

उनलाई मंगलबार जिल्ला अदालत परासीबाट नागरिकता सम्बन्धि कसुर उद्याेगमा ५ दिनको म्याद थपगरि हाल इलाका प्रहरी कार्यालय बेलाटारीमा राखेर अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक एवं सुचना अधिकारी भोजराज पाण्डेले बताए ।

पक्राउ गरिएको व्यक्ति भारतको महाराजगन्ज जिल्ला मधवलिया गाउँ बस्ने सर्वेश कुर्मीका छोरा हुन् । पक्राउ गरिएका कुर्मीले प्रतापपुर गाउँपालिका वडा नं ६ को वडा कार्यालय गुठी परसौनीबाट साउन १ गते जन्मदर्ता बनाएका थिए भने केही दिनपछि नागरिकताको लागि सिफारिस लिएका थिए ।

पक्राउ परेका व्यक्ति नागरिकताको लागि इलाका प्रशासन कार्यालय सेमरी पुगेपछि प्रशासन कार्यालय सेमरीले जन्मदर्ता किन ढिलो बनाएको भन्दै सम्बन्धित प्रहरी चौकी गुठी परसौनीलाई स्थलगत नागरिकता सर्जमिन मुचुल्काको लागी पत्र पठाएको थियोे ।

पत्रको आधारमा छानबिन गर्दा शंका लाग्दा भारतीय नागरिक राहुल कुर्मीले गौरीशंकर कुर्मीलाई नक्कली बुवा बनाएर नागरिकता लिन खोजेको भन्दै उनलाई तत्कालै प्रहरी चौकीका प्रमुख बिकाउ साहले नियन्त्रणमा लिएर थप अनुसंधानका लागि इलाका प्रहरी कार्यालय बेलाटारी बुझाएका थिए ।

गुठी परसौनी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक बिकाउ साहको सुझबुझले भारतीय नागरिकलाई नागरिकता दिनबाट रोकिएको हो ।भारतीय नागरिकको कसरी जन्मदर्ता बनाइयो र वडा सिफारिस गरिएको हो ? भन्ने प्रश्न उठेको छ । कहि कतै वडा सचिव र कार्यवाहक वडाध्यक्षको मिलोमतो त छैन ! भन्ने शंका उपज हुनु स्वभाविक हो ।

भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नेलाई निष्पक्ष छानबिन गरि कानुनी दायरा भित्र ल्याउन जरुरी देखिन्छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता ऐन कार्यान्वयन हुने भएसँगै असार १० गते आइतबार देखि नयाँ ऐन अनुसार जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले नागरिकता वितरण गर्दै आएको छ ।

अहिलेसम्म जिल्ला प्रशासन कार्यालय परासी र इलाका प्रशासन कार्यालय सेमरीबाट पाँच जना आमाको नामका आधारमा गरि ३४ सय जना भन्दा बढिले नागरिकता प्राप्त गरिसकेको सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले जानकारी दिए ।













0 प्रतिकृया