नोबेलमा गरियो पेटको सबैभन्दा ठूलो शल्यक्रिया
एक्सन खबर
विराटनगर, १३ भदौ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पेटको सबैभन्दा ठूलो शल्यक्रिया गरिएको छ । मोरङको लेटाङ नगरपालिका–२ खैरेनीकी ५३ वर्षीया मनरानी कुरुङवाङको पेटको सबैभन्दा ठूलो र जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो ।
कुरुङवाङको पित्त नली सानो आन्द्रामा जोडिने ठाउँमा क्यान्सर भएको थियो । पेटमा गरिने शल्यक्रियाहरु मध्ये सबैभन्दा ठूलो मानिने यो शल्यक्रियाका क्रममा सानो आन्द्रा, आमासयको तल्लो भाग, प्याङ्क्रियाजको केही भाग, पित्त थैली र पित्त नली वरिपरिका ग्रन्थिहरू काटेर निकालिएको छ । अप्रेसन गरी क्यान्सर भएको भागलाई फालेर प्याङ्क्रियाजको नली, पित्त नली र आमाशयलाई सफलतापूर्वक सानो आन्द्रासँग जोडिएको नोबेल अस्पतालका हेपाटोबिलियरी सर्जन डा.विनितकुमार यादवले जानकारी दिए ।
जटिल र अफ्ठेरो ठाउँको अप्रेसन भएकाले चिकित्सकीय विधामा यो अप्रेशनलाई पेटको सबैभन्दा ठूलो अप्रेसन मानिने डा.यादव बताउँछन् । ‘पेटमा जति अप्रेसन हुन्छन्, ती मध्ये यो सबैभन्दा ठूलो अप्रेसन हो, चिकित्सकीय विधामै यसलाई पेटको सबैभन्दा ठूलो अप्रेसन भनिन्छ,’ डा.यादव भन्छन्, ‘संवेदनशिल अंगहरू एकै ठाउँमा भएकाले यो अप्रेसन गर्दा थोरै त्रुटि भयो वा अरु अङ्गमा असर परेमा बिरामीको ज्यानै जाने जोखिम हुन्छ, तर हामीले सफलतापूर्वक अप्रेसन गरेका छौं ।’
नोबेलका शल्यचिकित्सक डा.सचिदानन्द शाह, डा.विनितकुमार यादवसहितको टोलीले झण्डै छ घण्टा लगाएर यो अप्रेसन गरेको हो । सामान्यतयाः अधिकांश अप्रेसन २/३ घण्टामा सकिन्छ । तर, यसमा धेरै अंगहरू काटेर पुनः जोड्नुपर्ने भएकाले अप्रेसन गर्न पनि धेरै समय लागेको शल्यचिकित्सक डा.सचिदानन्द शाह बताउँछन् ।
एनेस्थेसियोलोजीजिष्ट डा.बन्दना पौडेलले अप्रेशनमा साथ दिएकी थिइन् । चिकित्सकहरूका अनुसार समयमै अप्रेसन नभएको भए क्यान्सर फैलिएर छ महिनाभित्रै बिरामीको ज्यान जानसक्ने जोखिम थियो ।
तर अब कुरुङवाङको शरीरबाट क्यान्सर निर्मूल भएकाले तत्कालका लागि यो जोखिम टरेको चिकित्सकहरूको भनाई छ । दक्ष चिकित्सक र अत्याधुनिक उपकरणका कारण नोबेल अस्पतालमा जटिल एवं दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिदै आएको छ ।
1 प्रतिकृया
Sachid poudel
Nobel @ nobel. Com
Www.nobel.com
Kati ramro hospital cha Nobel. I am a huge fan of this hospital. World class service provide garcha... Wow