चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि नौ जनाको दरखास्त स्वीकृत
एक्सन खबर
काठमाडौं, १४ भदौ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि नौ जनाको दरखास्त स्वीकृत गरिएको छ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले बर्तमान उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी सहित नौ जनाको नाम सिफारिस गरेको हो ।
समितिले जारी गरेको सूचना अनुसार भदौ ८ गतेसम्म दर्ता हुन आएका दरखास्त उपर छानविन गर्दा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा २४ र मिति २०८०/०४/२६ मा प्रकाशित सूचना अनुसार नौ जना उम्मेदरवारले शर्त पुरा गरेको देखिएकोले उनीहरुको दरखास्त स्वीकृत गरिएको हो ।
आयोगले प्रकाशित गरेको नाम अनुसार एक नम्बरमा प्रा.डा. संगीता भण्डारीको नाम रहेको छ । डा.भण्डारी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छिन् । उनीसँग पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति भएको कार्यानुभव छ । डा. भण्डारी लामो समयदेखि चिकित्सकीय पेशामा आबद्ध छिन् ।
यस्तै दोश्रो नम्बरमा ललितपुर ७ का प्रा.डा.सुमनकुमार श्रेष्ठ रहेका छन् । तेश्रो नम्बरमा महोत्तरी ३ का डा.प्रविण मिश्र, चौथो नम्बरमा इटहरी १ का प्रा.डा.पियूष दाहाल रहेका छन् । उनी वीर अस्पतालका चर्चित प्लास्टिक सर्जन हुन् ।
पाँचौं नम्बरमा काठमाडौं टोखाका डा.विधान निधी पौडेल रहेका छन् । उनी वीर अस्पतालमा ग्यास्टोलोजिस्टका रुपमा कार्यरत रहेका छन् । छैटौं नम्बरमा बर्तमान उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरीको नाम छ । त्यसो त डा. गिरीलाई आयोगको उपाध्यक्ष भएर नेपालको मेडिकल शिक्षा ध्वस्त बनाएको आरोप छ । सिटिइभिटीबाट सञ्चालित ७८ वटा मेडिकल कलेज बन्द गराएको, नीजि क्षेत्रबाट सञ्चालित मेडिकल कलेजहरु ध्वस्त बनाएको, नेपाली विद्यार्थीहरुलाई बाहिर पढ्न जान प्रेरित गरेको आरोपहरु छ ।
सातौं नम्बरमा धनुषाका डा.प्रमोदकुमार यादव रहेका छन् । उनी जनकपुर प्रादेशिक अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट हुन् । यस्तै आठौं नम्बरमा महोत्तरी ३ का काठमाडाैं क्यान्सर अस्पतालका डा.अञ्जनीकुमार झा रहेका छन् । डा.झा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष हुन् ।
नवाैं नम्बरमा काठमाडाैं ४, न्याम्सका प्रा.डा. मनेन प्रसाद गाेर्खाली रहेका छन् । समितिले सर्ट लिस्टमा परेका नौं जनाको प्रस्तुतिकरण र अन्तरवार्ता भदौ १७ र १८ गते हुनेछ । दरखास्त स्वीकृत भएका उम्मेदवारहरूले व्यावसायिक कार्ययोजना सहितको सोचपत्र प्रस्तुत गर्नेछन् ।
0 प्रतिकृया