प्रचण्डमाथि अोलीको शब्द प्रहार: ‘गेरु वस्त्र धारणम्, मुर्रा राँगा ताननम्’
एक्सन खबर
बुटवल १६ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा इपिजीको प्रतिवेदनबारे एक शब्द नसोधेको बताउँदै राँगा लिन किन गएको भन्दै व्यंग्य गरेका छन् ।
शनिबार नेकपा एमाले लुम्बिनी प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने,‘इपिजीको प्रतिवेदनबारे किन नबोलेको भन्दा रिसाउँछ भनेर अरे । अनि त्यो राँगा लिन अरूलाई पठाउँदा हुँदैन थियो ? प्रधानमन्त्रीले नै राँगा डोर्यानुपर्छ त ?’ ओलीले अगाडी भने,‘गेरु वस्त्र लगाएको छ मुर्रा राँगा तानेको छ । गेरु वस्त्र धारणम् मुर्रा राँगा ताननम् ।’ उनले भने । प्रचण्ड गत जेठ १७ गते भारत भ्रमणमा गएका थिए ।
ओलीले सरकारले लिम्पियाधुरासँग बंगलादेश जाने बाटो साट्ने कुरा गरेको बताउँदै त्यस्तो गर्न नसकिने उल्लेख गरे । भारत हुँदै बंगलादेश जाने बाटोका लागि जमिन दिएको बताउँदै प्रधानमन्त्री प्रचण्डलाई देशको एक इन्च जमिनसमेत बाँड्ने अधिकार नभएको ओलीले बताए । ‘बंगलादेशसम्म जाने बाटो भारतले पहिले नै दिइसकेको छ । बिमस्टेक अन्तर्गत त्यो सम्झौता भइसकेको छ । अनि बंगलादेशमा जाने बाटोमा काँडेतार लागेको छ ? कुन बाटोका लागि तपाईं जमिन दिनुहुन्छ ? तपाईंको पैत्रिक सम्पति हो ?’
प्रचण्डलाई जमिन बाँड्दै हिँड्ने अधिकार नेपाली जनताले नदिएकाे ओलीले भने,‘त्यसकारण नेपालको भू–भाग अखण्ड छ । हाम्रो देश एक इन्च पनि जमिन कसैलाई टुक्राएर दिन्छु भन्न पाइँदैन ।’ एमालेले देशको स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अंखण्डा हुनुपर्छ भन्ने मान्यता राख्ने र राष्ट्रिय स्वाभिमानलाई तल गिर्न नदिने बताए ।
एमालेको सरकार ढाल्न नसकेर अदालतमा गएर ढालेको आरोप लगाउँदै ओलीले वामपन्थीको खोल ओढेकाहरूले दक्षिणपन्थीसँग मिलेर एमालेको सरकार ढालेको आरोप लगाए । प्रचण्डले हिंसा छोडे पनि विप्लवलाई शान्ति प्रक्रियामा ल्याएको, सिके राउतलाई राजनीतिको मूलधारमा एमालेले ल्याएको बताउँदै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएको बेला संविधानको सर्वस्वीकार्यता गराउने काम, देशको गुमेको भाग नक्सामा समेटेर भारतलाई पत्राचार गरेको जिकीर गरे ।
0 प्रतिकृया