एनएमसीले बचायो तीन तलाबाट खसेर गम्भिर बालिकालाई (भिडियाेसहित)
एक्सन खबर
काठमाडौं, १८ भदौ । नेपाल मेडिकल कलेज (एनएमसी)मा ३ तले घरको छतबाट खसेर टाउकोमा गम्भिर चोट लागेकी बालिकाको सफल उपचार भएको छ । जोरपाटी, अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको न्यूरो आइसियू तथा हाई केयर युनिटले बौद्ध बस्ने गंगा तामाङकी ४ वर्षीय छोरीको सफल उपचार गरेको हो ।
१८ दिन अगाडी बौद्धस्थित घरको ३ तलामाथिबाट खसेकी बालिका पासाङ कर्मु लामाको टाउकोको दायाँ भागमा गम्भिर चोट लागेको थियो । खेल्दाखेल्दै छतबाट खसेकी बालिकालाई तत्कालै नेपाल मेडिकल कलेजको इमरजेन्सी ल्याइएको थियो । अत्याधिक रगत बगिरहेको तथा बेहोस अवस्थामा रहेकी बालिकालाई कलेजका चिकित्सकहरुले तत्कालै भेन्टिलेटरमा राखेर उपचार सुरु गरेका थिए ।
‘साउन ३२ गते बच्चालाई इमरजेन्सी ल्याउँदा टाउकोको दायाँ भागमा चोट लागेको, नाक र मुखबाट रगत बगेको, शरीरको बाँया भाग र आँखा समेत नचल्ने अवस्थामा ल्याइएको थियो । हामीले तत्कालै भेन्टिलेटरमा राखेर उपचार थाल्यौं ।’ एनएमसीकी न्यूरो आइसियू विभागकी विभागीय प्रमुख एशोसिएट प्रोफेसर डाक्टर माया भट्टचनले भनिन् ।
छतबाट खसेकाले बालिकाको पेटमा समेत रगत जमेको अवस्थामा चिकित्सकहरुले तत्कालै भेन्टिलेटरमा राखेर मस्तिस्कको रगतको प्रेसर घटाई उपचार गरेका थिए । लगातार ४ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरेपछि बालिकाको स्वास्थ्यमा सुधार आएपछि आइसियूमा राखिएको थियो । आइसियूमा १० दिन राखेर उपचार गरेपछि बालिकाको स्वास्थ्यमा सुधार भएको विभागीय प्रमुख डा. भट्टचनको जिकीर छ ।
‘हामीले बालिकाको उपचारमा कुनै प्रकारको कमीकमजोरी हुन दिएनौं । न्यूरो आइसियूमा पेडियाट्रिक सर्जन, फिजियोथेरापिस्टसहित क्रिटिकल केयर टीम नै उपचारमा संलग्न थियौं । सबैको अनुभव र मेहनतले बालिकालाई बचाउन सफल भयौं ।’ डा. भट्टचन भन्छिन् । अहिले बालिका हिँड्ने, बोल्ने भइसकेकी छन् ।
बालिकाको उपचारमा न्यूरो आइसियूका डा. राजकुमार भट्ट, डा. प्रविणकुमार सिंह, डा. अविनाश बस्नेत, डा. अजय श्रेष्ठ, डा. आस्था घिमिरे, डा. सुनिता साह, डा. ललितेश्वर साह, फिजियोथेरापिस्ट सञ्जय लामा समेतको सहभागीता रहेको थियो ।
छतबाट खसेर मृत्युको मुखमा पुगेकी आफ्नी छोरीलाई बचाई दिएकोमा आमा गंगा तामाङले एनएमसीका चिकित्सकहरुलाई मुरीमुरी धन्यवाद दिइन् । ‘मैले त आसै मारिसकेको थिए, डाक्टर, नर्सहरुकै कारण मेरी छोरी बाँचेकी हो । उहाँहरु सबैलाई मेरो धन्यवाद छ ।’ उनले भनिन् ।
एनएमसीको पेडियाट्रिक विभाग राजधानीका अस्पतालहरु मध्ये उच्चस्तरीय छ । विभागको न्यूरो आइसियूमा जन्मेको २, ३ दिन देखिकै शिशुहरुको अप्रेसन गरेर सफल उपचार गरिन्छ । नवजात शिशु र बालबालिकाको हाई केयर उपचारका लागि राजधानीका धेरै अस्पतालहरुले एनएमसी रेफर गर्ने गरेको विभागीय प्रमुख डा. भट्टचनको दावी छ ।
बालबालिकाहरुको जस्तोसुकै उपचार गर्न अस्पताल सक्षम रहेको एनएमसीका डाइरेक्टर जहाँगिर अन्सारीले बताए । बालबालिकाहरुको उपचारका लागि कलेजले पेडियाट्रिक सर्जन नै राखेको छ । साथै, न्यूरो आइसियू, हाइकेयर युनिट समेत रहेकाले जटिलभन्दा जटिल उपचार गर्न कलेज सक्षम रहेको डाइरेक्टर अन्सारीको दावी छ ।
‘बालबालिकाहरुको जस्तोसुकै उपचार गर्न हामी सक्छौं । सर्वसुलभ शुल्कमा दक्ष तथा अनुभवी चिकित्सकहरुबाट गुणस्तरीय सेवा प्रदान गर्न हामी लागि रहेका छौं ।’ अन्सारीले भने । पछिल्लो समय कलेजले स्वास्थ्य सेवा सुधार्दै दक्ष जनशक्ति र अत्याधुनिक उपकरणहरु थप गरिरहेको छ ।
0 प्रतिकृया