एसिया कपः भारतविरूद्ध ऐतिहासिक जीतकाे खाेजीमा नेपाल
काठमाडाैं, १८ भदाै । एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३: १५ बजे श्रीलंकाकाे पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा हुने खेलमा नेपालले ऐतिहासिक जीतकाे खाेजी गर्नेछ ।
नेपालले सिनियर तहमा २७ वर्षपछि पहिलाे पटक क्रिकेट खेल्ने अवसर प्राप्त गरेकाे हाे । सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेकाे नेपालले पाकिस्तानसँग पनि पहिलो पटक खेल्ने अवसर एसिया कपमा छनाैट हुँदै पाएको हो ।
स्टार खेलाडीले भरिपूर्ण भारतसँग नेपाली क्रिकेट टाेलीले खेल्नु कम चुनाैतिपूर्ण छैन । तथापि, नेपाली टीम भारतसँगकाे खेलमा उत्साहित छ । नेपालका लागि याे खेलमा गुमाउने केहि छैन । जित हासिल गरे इतिहास रच्नेछ, हार व्यहाेरे अनुभव प्राप्त गर्नेछ ।
आजकाे खेलमा भारतले टस जिते वा हारेपनि पहिला ब्याटिङ गर्ने सम्भावना छ । नेपाल विरूद्ध भारतीय खेलाडी उच्चस्काेर बनाउने रणनीतिमा हुँनेछ । भारतीय खेलाडीका लागि नेपालका स्टार खेलाडी सन्दीप लामिछाने, साेमपाल कामी, गुलसन झा, करन केसी घातक बलर बन्न सक्छन् ।
प्रतियाेगिताकाे उद्घाटन खेलकाे सुरूवाती चरणमै नेपालले पाकिस्तानकाे ४ विकेट लिएकाे थियाे । तर, पाकिस्तानका बाबर आजमले १ सय ५१ र इफ्तिखार अहमदले १ सय ९ रनको शतकीय इनिङ खेल्दै ३४२ स्काेर खडा गरेका थिए । पहिलो खेलमा २ सय ३८ रनले पराजित भएपनि नेपालले अनुभव हासिल गरेकाे थियाे ।
भारत र पाकिस्तानसँगकाे खेल वर्षाको कारण रद्द भएकाले आजकाे खेलमा भारत दवावमा छ । त्यसाे त सुपर फाेरमा पुग्न नेपाललाइ जित नै चाहिन्छ । वर्षाले प्रभावित हुँदै खेल रद्द भएमा भारत सुपर फाेरमा पुग्छ । नेपाल र भारतबीचको खेल हुने समयमा वर्षा हुने सम्भावना ८० प्रतिशत सम्म रहेकाले वर्षा नेपालको ऐतिहासिक खेलमा बाधक बन्नसक्छ ।
बाउन्ड्री र विकेटमा नेपाली खेलाडीलाई नगद पुरस्कार
नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो पटक सिनियर लेभलमा भारतसँग प्रतिस्पर्धा गरिरहेकाले श्रीलंकको पाल्लेकेल रंगशालामा नेपाली खेलाडीलाई हौसला बढाउन थुप्रै समर्थक श्रीलंका पुगेका छन् । काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने समेत श्रीलंका पुगेका छन् ।
नेपाली खेलाडीको मनोबल उच्च बढाउन अर्ना वियरले नगद पुरस्कारको घोषणा गरेको छ । उसले सामाजिक सञ्जालमार्फत नेपाली टिमलाई शुभकामना दिँदै भारतविरुद्ध बाउन्ड्री र विकेट लिने खेलाडीलाई नगद पुरस्कारको घोषणा गरेको हो ।
अर्ना वियरले भारतविरुद्ध प्रत्येक छक्का र विकेटमा १/१ लाख रुपैयाँ दिने घोषणा गरेको छ । यस्तै प्रत्येक चौकामा २५ हजार रुपैयाँ दिने घोषणा गरेको छ ।
0 प्रतिकृया