एसिया कपबाट बाहिरियाे नेपाल
काठमाडौं, १८ भदाै । भारतसँग १० विकेटले पराजित हुँदै नेपाल एसिया कपमा अंक विहिन हुँदै समूह चरणबाटै बाहिरिएको छ । समूह ‘ए’ बाट क्रिकेटका पावर हाउस पाकिस्तान, भारत पहिलाे र दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगे ।
वर्षाले बाधा पुर्याएकाे खेलमा टस हारेर व्याटिङकाे निम्ताे पाएकाे नेपालले सम्मानजनक स्काेर खडा गरेपनि बलिङमा भारत सामु निरिह भयाे । डिएलएसमा १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको भारतले २०.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । भारतको जितमा कप्तान रोहित शर्मा ५९ बलमा ६ चौका र ५ छक्कासहित ७४ रनमा अविजित रहँदा शुभमन गिल ६२ बलमा ८ चौका र १ छक्कासहित ६७ रनमा अविजित रहे ।
नेपालले दिएको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको भारतले २.१ ओभरमा १७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । दुई घण्टा भन्दा बढी समय खेल हुन नसकेपछि २३ ओभरमा भारतलाई एम्पाएरले १ सय ४५ रनको विजयी लक्ष्य दिएका थिए ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८.२ ओभरमा २ सय ३० रनमा अल आउट हुँदा नेपालका ओपनर आसिफ शेख ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनको योगदान दिए । अर्का ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रनको आक्रामक इनिङ खेल्दा सोमपाल कामीले तल्लोक्रममा ५६ बलमा १ चौका र २ छक्कासहित ४८ रनको महत्वपूर्ण इनिङ खेले ।
ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझेदारी गरे । तीव्र गतिका बलर शार्दुल ठाकुरको बलमा कुशल एज लाग्दै आउट भए । स्पिनर रविन्द्र जडेजाको १६ औं ओभरको अन्तिम बलमा भीम सार्की इनसाइड एज लाग्दै ७ रनमा बोल्ड आउट भए ।
स्पिनर रविन्द्र जडेजाको २० औं ओभरको अन्तिम बलमा रोहित पौडेल एज लागेर रोहित शर्माबाट क्याच आउट हुन पुगे । कुशल मल्ल आउट हुँदा नेपाल १०१–४ को अवस्था थियाे । गुलशन झा शिराजको बलमा २३ रनमा कट बिहाइन्ड हुन पुगे । खेलमा गुलशनले ३५ बलमा ३ चौका प्रहार गरे ।
३१.५ ओभरमा १४४–६ को अवस्थामा नेपाललाई सातौं विकेटका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ५० रनको साझेदारी गर्दै २ सय रन कटाए । दीपेन्द्र २५ बलमा ३ चौकासहित २९ रनमा हार्दिक पान्ड्याको बलमा एलबीडब्लू आउट हुँदा सन्दीप लामिछाने ९ रनमा र करण केसी २ रनमा नटआउट रहे ।
भारतको जितमा रविन्द्र जडेजाले १० ओभरमा ४० रन खर्चेर ३ विकेट, मोहम्मद शिराजले ९.२ ओभरमा १ मेडनसहित ६१ रन खर्चेर ३ विकेट तथा शार्दुल ठाकुर, हार्दिक पान्ड्या र मोहम्मद शामीले एक एक विकेट लिए ।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो । पाकिस्तान २ खेलमा ३ अंकका साथ शीर्ष स्थानमा रहँदै सुपर फोरमा पुगेकाे छ । २ अंक जाेडेकाे भारत समुहमा दाेश्राे भयाे ।
0 प्रतिकृया