कांग्रेस सभापतिले गृहमन्त्रीसँग स्पष्टिकरण लिनुपर्छः सांसद सुनिलकुमार शर्मा
एक्सन खबर
काठमाडौं, २० भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवमाथि एक राजावादीले आक्रमण गरेको घटनामा सांसद डा. सुनिलकुमार शर्माले पार्टी सभापति शेरबहादुर देउवाले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बोलाएर स्पष्टिकरण लिनुपर्ने बताएका छन् । सहमहामन्त्री यादवमाथि आक्रमण भएको घटनामा गम्भिर आपत्ति जनाउँदै सांसद शर्माले सभापति देउवाले गृहमन्त्री श्रेष्ठसँग स्पष्टिकरण लिनुपर्ने बताएका हुन् ।
रिपोर्टस क्लबको एक कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा बुधबार राजावादी नुवाकोटका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरेका थिए । सांसद शर्माले सहमहामन्त्री यादवमाथिको आक्रमणलाई सामान्य घटनाका रुपमा मात्र हेर्न नमिल्ने पनि बताए । ‘पूर्वमन्त्री, कांग्रेसको सहमहामन्त्री माथि दिउसै आक्रमण हुनु सामान्य कुरा हैन, खुकुरी हान्न कसले किन लगायो ? गृहमन्त्रीले तत्काल पत्ता लगाएर जनतासँग प्रष्ट रुपमा राख्न सक्नुपर्छ ।’ डा. शर्माले भने ।
नुवाकोटबाट आएको श्यामबहादुरले खुकुरी प्रहार गरेको भन्दै सामान्य रुपमा मात्र लिन नहुने भन्दै सांसद शर्माले घटनाक्रम हेर्दा बर्तमान सरकार गठन भएपछि कांग्रेस माथि बढी नै आक्रमणहरु भइरहेको बताए । ‘यो सरकार बनेपछि बढीभन्दा बढी कांग्रेसमाथि आक्रमण भएको छ । हाम्रा नेतामाथि, हामीमाथि । चाहे त्यो राज्य संयन्त्रबाट होस् चाहे नागरिक तहबाट होस् कांग्रेसमाथि आक्रमण भएको छ । यसलाई तत्काल हाम्रो पार्टी सभापति शेरबहादुर देउवाले गृहमन्त्रीलाई बोलाएर चेतावनी दिनुपर्छ ।’ राज्यको शान्ति सुरक्षाको जिम्मा सरकारको हो कि हैन ? हामी सरकारमा छौँ कि छैनौँ ? भन्दै डा. शर्माले प्रश्न पनि गरे ।
उनले कांग्रेसमा लागेकाहरुलाई वितृष्णा पैदा गराउन पनि राज्य शक्तिमै रहेकाहरुले घटना गराएको हुनसक्ने पनि जिकीर गरे । कांग्रेस विधिको शासन र कानुन मान्ने भन्दै माओवादीहरुले भिजिलान्ते प्रयोग गरेको दावी गरे । ‘हामी सरकारमा छौँ तर हामीलाई सरकारमा भएको अनुभूति भएको छैन । एउटा सामान्य नागरिकको सुरक्षाको जिम्मा राज्यले लिने कि नलिने प्रश्न यो हो ।’ सांसद शर्माले भने ।
उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार दशैँ अगाडि वा पछाडि ढल्ने दावीसमेत गरेका छन् । उनले सरकार ढलुन्जेल त जनता, नेता, कार्यकर्ता सुरक्षित हुनुपर्नेमा बताए । कांग्रेस सहमहामन्त्री यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । भने, खुकुरी प्रहार गर्ने सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
0 प्रतिकृया