इन्जिनियरिङ पढ्ने विद्यार्थीको रोजाईमा नेपाल इन्जिनियरिङ कलेज, प्रवेश परीक्षामा घुँइचाे
एक्सन खबर
काठमाडौं, २३ भदौ । अन्तराष्ट्रिय स्तरको इन्जिनियरिङ शिक्षा प्रदान गर्दै आइरहेको नेपाल इन्जिनियरिङ कलेज (नेक)मा अध्ययन गर्न विद्यार्थीहरुको रुची बढेको पाइएको छ । कक्षा १२ पास गर्ने वित्तिकै उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरु विदेशिईरहेको परिप्रेक्ष्यमा इन्जिनियरिङ अध्ययनका लागि भने नेकप्रति विद्यार्थीहरु आकर्षित भएका हुन् ।
कलेजले शनिबार लिएको प्रवेश परीक्षामा देशभरबाट विद्यार्थीहरुको सहभागीता रह्यो । कलेजले नयाँ शैक्षिक सत्रका लागि केही समय अगाडी भर्ना आब्हान गरेको थियो । आज शनिबार प्रवेश परीक्षा सञ्चालन गरेकोमा ३१५ जना विद्यार्थी सहभागी भएको कलेजका मिडिया रिलेसन अफिसर सुनिल ख्याजुले जानकारी दिए । ‘विद्यार्थीहरुको सहभागीता राम्रो पाएका छौं ।’ मिडिया रिलेसन अफिसर सुनिल ख्याजुले भने । प्रवेश परीक्षाको परीक्षाफल भोली आइतबार प्रकाशित हुनेछ ।
स्नातक तहका ७ वटा विभागमध्ये ६ वटामा प्रवेश परीक्षा लिइएको हो । आर्किटेक्चर, सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स र सिभिल एण्ड रुरल इन्जिनियरिङमा प्रवेश परीक्षा लिइएको थियो । सिभिल इन डिप्लोमा होल्डर्सको प्रवेश परीक्षा केही समय पछि हुनेछ ।
प्रवेश परीक्षाको अनुगमन तथा नियमनका लागि शिक्षा मन्त्रालयद्वारा गठित कलेज सञ्चालक समितिका अध्यक्ष चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीसहित अन्य सञ्चालकहरु पुगेका थिए ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाको रुपमा संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा समेत दर्ता भई २९ वर्षदेखि सञ्चालित कलेजले युरोपका विभिन्न विश्वविद्यालय र जापानको प्रतिष्ठित इन्जिनियरिङ संस्थासँग सहकार्य गरेकाले हरेक वर्ष विद्यार्थीहरुले शत प्रतिशत छात्रबृत्तिमा विदेशमै गएर अध्ययन गर्न पाउने भएकाले विद्यार्थीहरुको चासो छ । शान्त तथा हरियाली वातावरण, उच्चस्तरीय ल्याब, सन्दर्भ श्रोत सामग्रीहरुले भरिपूर्ण पुस्तकालय, अधिकतम प्रयोगात्मक शिक्षण विधि, १२० जना पूर्णकालिन शिक्षक शिक्षिका रहेकाले पनि विद्यार्थीहरुको रोजाईमा कलेज पर्ने गरेको छ ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेज मध्ये नेक उत्कृष्ट कलेज हो । इन्जिनियरिङ अध्ययनका लागि पुल्चोक इन्जिनियरिङ पछि नेपाल इन्जिनियरिङ कलेज उत्कृष्ट कलेजहरुमा दोश्रो स्थानमा आउँछ ।
कलेजले दिने विभिन्न छात्रवृत्ति नै आकर्षक छ । स्नातक तहका सबै विषयमा १० प्रतिशतभन्दा बढीलाई पूर्ण छात्रबृत्ति दिइन्छ । देशका सात वटै प्रदेशबाट विद्यार्थीको सहभागीता होस भनेर प्रादेशिक छात्रवृत्ति, प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने र सेमेस्टर टप गर्ने विद्यार्थीलाई पनि छात्रबृत्ति दिइन्छ । स्थानीय तहका विद्यार्थीहरुलाई समेत छात्रबृत्ति छुट्याईदा कलेजले हरेक वर्ष १ करोड बढीको छात्रबृत्ति वितरण गर्ने गरेको कलेजले जनाएको छ ।
नेकमा स्नातक तहको आर्किटेक्चरमा ४८, सिभिलमा १४४, कम्प्युटरमा ९६, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा ९६, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्समा ४८ र सिभिल एण्ड रुरलमा ४८ र सिभिल फर डिप्लोमा होल्डर्समा ४८ सिट छ ।
0 प्रतिकृया