तस्करहरूकाे रजगज, प्यारासुट इकोनोमिष्टले बनाएकाे बजेटले देश बन्दैनः सांसद सुनिल शर्मा
पथरी, २४ भदौ । केही वर्ष युरोप अमेरिका पढेर आएकाहरूले बनाएको बजेटबाट देशको गरिवी अन्त्य नहुने मोरङ–३ का संघीय सांसद डाक्टर सुनील कुमार शर्माले बताएका छन् । प्यारासुट इकोनोमिष्टले बनाएकाे बजेट आइरहने हो भने मुलुकमा पुनः द्वन्द्व सिर्जना हुने खतरा औल्याउँदै डा. शर्माले गरिवी निवारणका लागि बजेट बन्नु पर्ने बताए । प्यारासुट इकोनोमिष्टले बनाएकाे बजेटले देश नबन्ने डा. शर्माकाे ठहर छ ।
शनिबार डाँसमोरङ्गी सामूदायिक वनको २२ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै सांसद शर्माले संसदमा सिण्डिकेट रहेको बताउँदै जनताका आवाज बोल्न नपाइने गणतन्त्रले देशको गरिवी नहट्ने समेत जिकीर गरे । ‘सभामुखको घरमै गएर संसदमा बोल्ने मौका मागें । तर, आफ्नै दलका नेताहरूले घेराबन्दीमा पार्नुभयो ।’ बजेट कांग्रेस र माओवादीका केही नेताको जिल्लामा केन्द्रीत भएको बताउँदै उनले जनतासँग उठाएको कर कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत र प्रधानमन्त्री प्रचण्डको जिल्लामा मात्र केन्द्रीत रहेको दावी गरे ।
५३ प्रतिशत विकास बजेट प्रधानमन्त्री, अर्थमन्त्री, कांग्रेस सभापति र उपसभापतिकाे जिल्लामा गएको उल्लेख गर्दै सांसद शर्माले निगुरो र पात टिप्ने आमाहरू र खोलामा गिट्टी कुट्ने बुबाहरूलाई हेरेर बजेट नबनाएकोले देशको गरिवी अन्त्य नभएको तर्क गरे । देशमा तस्करहरूको रजगज भएको बताउँदै शर्माले अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र होइन, देशका ४/५ जनाले हरेक भन्सारमा एजेन्ट राखेर सिंगापुरबाट पैसा ल्याएर बेलायतका बैंकहरूमा जम्मा गरिरहेको जिकीर गरे । ‘केही मुठ्ठीभर नेताहरूकाे जीवनस्तर कहाँ पुग्याे ? उनीहरूसँग ४ कराेड, ५ कराेडकाे गाडी कहाँबाट आए ?’ डा. शर्माले प्रश्न गरे ।
एमाओवादीसँग गठबन्धन गरेर कांग्रेस सरकारमा गएको भएपनि माओवादीले गठबन्धन प्रति बेइमानी गर्न थालेको बताउँदै कांग्रेस सरकारमा भएपनि निरिह भएकाे उनकाे भनाई छ । गठबन्धन सरकार राज्य सञ्चालन गर्न, जनताका लागि काम गर्न र समाजमा शान्ति, अमनचयन गर्न असफल भइसकेकाे डा. शर्माकाे ठहर छ । आर्थिक उदारवादकाे सिद्धान्त अनुशरण गरेर नीजि क्षेत्रसँग सरकारले सहकार्य गरेर शिक्षामा सुधार गर्नुपर्ने सांसद शर्माले बताए ।
0 प्रतिकृया