Follow us:


Follow us

१० कार्तिक २०८३, सोमवार
१० कार्तिक २०८३, सोमवार


ह्दयघातका कारण एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

एक्सन खबर
भदौ, २६, २०८०


ह्दयघातका कारण एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौं, २५ भदौ । हृदयघातबाट नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । नेकपा एमाले संसदीय दलको उपनेता नेम्वाङलाई राति १ बजे तिर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेका थिए ।

साेमबार विहानैदेखि ज्वराे आएर घरमै आराम गरिरहेका नेम्वाङ आइतबार धरानकाे एक कार्यक्रममा सहभागी भएका थिए । साेमबार चिकित्सकले नेम्वाङकाे घरमै पुगेर स्वास्थ्य जाँच गरेका थिए ।

पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जित्ने नेतामा पर्दछन् । इलाम, सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पस, अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०३३ सालमा राजद्रोह मुद्दामा केही समय जेल परेका नेम्वाङ २०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका थिए ।

मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका नेम्वाङ २०५६ को निर्वाचन जितेर संसदकाे सार्वजनिक लेखा समिति सभापति बनेका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेर चर्चामा आएका उनी जनआन्दोलन २०६२–६३ सँगै पुनर्स्थापित संसदका सभामुख बनेका थिए ।

२०६४ र २०७० मा इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका नेम्वाङ चारपल्ट सभामुख बन्दा सधैं सर्वसम्मत भएका थिए । नेम्वाङका २ छाेरा, २ छाेरी र श्रीमती छन् । दुइ छाेराहरू अस्ट्रेलिया र बेलायत रहेकाले उनकाे अन्तिम संस्कार भाेली हुने भनिएकाे छ ।

नेकपा एमालेले नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका मंगलबार ९ बजेदेखि पार्टी कार्यालय च्यासलमा राख्ने जनाएको छ । नेम्वाङलाई नेपाली राजनीतिमा शान्त स्वभावका, कसैलाई नबिझाउने नेताका रूपमा चिनिन्छ ।













0 प्रतिकृया