Follow us:


Follow us

७ असोज २०८०, आइतवार
७ असोज २०८०, आइतवार


संविधानका ‘मियाे’ नेम्वाङकाे निधनमा कसले के भने ?

एक्सन खबर
भदौ, २६, २०८०




संविधानका ‘मियाे’ नेम्वाङकाे निधनमा कसले के भने ?

काठमाडाैं, २६ भदाै । १० वर्षे सशष्त्र द्वन्द्व, शान्ति प्रकृया, जनान्दाेलन २०६२/०६३, मधेस आन्दाेलन हुँदै पहिलाे र दाेश्राे संविधान सभाले लेखेकाे नेपालकाे बर्तमान संविधानका अविभाकका रूपमा परिचित सुवासचन्द्र नेम्वाङकाे निधनबाट नेपालकाे राजनीतिमा अपुरणीय क्षति पुगेकाे शिर्ष नेताहरूले बताएका छन् ।

गएराती ह्दयघातका कारण एमाले संसदीय दलकाे उपनेता नेम्वाङकाे निधन भएकाे थियाे । उनकाे असामयिक निधनले मुलुककाे लागि अपुरणीय क्षति पुगेकाे राष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपति तथा विभिन्न दलका नेताहरूले उल्लेख गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान सभाका अध्यक्ष नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत भएको बताएका छन् । राष्ट्रपति पौडेलको सचिवालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ-‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएको छ । दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।’

यस्तै,  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रद्धाञ्जली अर्पण गरेका छन् । सामाजिक सञ्जाल एक्समा लेख्दै उनले भनेका छन्,‘संविधान सभाका अध्यक्ष तथा पूर्वसभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ आफ्ना लागि पार्टीकाे उपाध्यक्ष मात्र नभएर हितैषी मित्र र सुख दुःखकाे साथी भएकाे बताएका छन् ।

‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो ।  लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्‍याउनु भएको योगदान सधैँ सम्झिरहने छौँ । मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । श्रद्धाञ्जली सुवासजी !’ ओलीले लेखेका छन् ।

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको निधनबाट स्तब्ध बनेको बताएका छन् । नेता खनालले एमाले उपाध्यक्ष नेम्वाङ ७ कक्षादेखिको आफ्नो सहपाठी र राजनीतिक सहयात्री भएको स्मरण गर्दै संविधानसभा अध्यक्ष भएर आजको संविधान निर्माण गर्ने काममा पनि  महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताएका छन् ।

‘हामीले माध्यमिक शिक्षासँगै पढ्यौँ । त्रिचन्द्र कलेजमा आइएससीसँगै पढ्यौँ । त्रिभुवन विश्वविद्यालयबाट स्नातक पनि सँगै गर्याे, मैले नै उहाँलाई २०२९ सालदेखि प्रगतिशील पार्टी राजनीतिमा आउन प्रेरित पनि गरेँ, को–अर्डिनेसनकालदेखि नेकपा निर्माणको कालसम्म उहाँ र म एउटै पार्टीमा लामो समयसँगै काम गर्थ्यौँ ।’ खनालले भनेका छन् ।

आफूहरु अलग–अलग पार्टीमा हुँदा पनि सधैँ सम्पर्क र सम्बन्ध हुँदै आइरहेको स्मरण गर्दै नेता खनालले पार्टी विभाजन भएका प्रति नेम्वाङ निकै दुःखी भएकाे बताएका छन् ।

नेम्वाङ सरल स्वभावको मृदुभाषी नेताका रूपमा जनजनमा परिचित हुनुभएको उल्लेख गर्दै उनले लामो समय सभामुख भएर संसद् परिचालनमा महत्त्वपूर्ण योगदान दिएकाे चर्चा गरे ।

यस्तै, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको निधनबाट सिङ्गो राष्ट्र शोकाकुल भएको बताएका छन् ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेर नेम्वाङप्रति श्रद्धाञ्जली दिने क्रममा श्रेष्ठले नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनका एक उदाहरणीय नेताको निधनबाट शोकाकुल भएको बताए । ‘नेपालको राजनीतिक तथा लोकतान्त्रिक परिवर्तनलाई संस्थागत गर्ने नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएकामा नेम्वाङलाई नेपाली जनताले पुस्तौँपुस्तासम्म स्मरण गरिरहनेछन् ।’ उनले भने ।

संविधानसभा अध्यक्ष नेम्वाङको निधनबाट नेपालको राजनीति, समाजलाई क्षति पुगेको बताउँदै  गृहमन्त्री श्रेष्ठले नेम्वाङ संसदीय अभ्यासमा सिद्धहस्त लोकतान्त्रिक नेतासमेत भएकाे बताए ।

यस्तै, त्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनबाट मुलुकले शालीन र सन्तुलित राजनीतिज्ञ गुमाएको बताएका छन् । कानुनी क्षेत्रको पृष्ठभूमि भएकाले राजनीतिक, कानुनी र संवैधानिक इतिहासमा पूर्वसभामुख नेम्वाङको समन्वयकारी क्षमतासहितको योगदान स्मरण भइरहने उल्लेख गरे ।

‘सुवासजीको न्याय क्षेत्रमा राम्रो प्रभाव थियो, राजनीतिक र संवैधानिक व्यवस्थामा समन्वयकारी भूमिका निर्वाह गरेर संविधान जारी गर्न उहाँले समन्वयकारी भूमिका खेल्नुभयो ।’ रेग्मीले भने ।

सभामुख देवराज घिमिरेले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । ‘उहाँको निधनले नेपालको संसदले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको छ, प्रतिनिधि सभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु ।’ घिमिरेले भनेका छन् ।

यस्तै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख सुवास तथा नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले स्तब्ध भएको बताएकी छन् । नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै भण्डारीले उनको निधनले पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताएकी छन् ।

‘मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेकपा (एमाले) का उपाध्यक्ष श्री सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले स्तब्ध भएको छु । म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यस दुःखद् घडीमा शोकाकुल परिवारजन र पार्टी परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु । उहाँको निधनले सिंगो पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ ।’ भण्डारीले भनेकी छन् ।

एमालेका उपाध्यक्ष नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो । उनकाे पार्थिव शरिर एमाले मुख्यालय च्यासलमा श्रद्धाञ्जलीका लागि लगिँदैछ ।














0 प्रतिकृया