Follow us:


Follow us

७ असोज २०८०, आइतवार
७ असोज २०८०, आइतवार


नेम्वाङलाई सम्झदै ओलीले भनेः आर्यघाटमा नेम्वाङलाई बिदाइ गरेर आउँदा दु:ख लागेको छ

एक्सन खबर
भदौ, २८, २०८०




नेम्वाङलाई सम्झदै ओलीले भनेः आर्यघाटमा नेम्वाङलाई बिदाइ गरेर आउँदा दु:ख लागेको छ

काठमाडाैं, २८ भदाै । नेकपा एमालेका उपाध्यक्ष, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ न्यायका पक्षमा उभिने नेता रहेकाे अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । बिहीबार दिउँसो पशुपति आर्यघाटमा नेम्वाङलाइ बिदाइ गरेपछि बसेकाे एमाले संसदीय दलकाे बैठकमा ओलीले दिवंगत नेता सुवासचन्द्र नेम्वाङलाई सम्झिँदै ५० वर्षदेखि निकट रहेर काम गरेकाे स्मरण गरे ।

‘सुवास नेम्वाङ नभएको बैठक सायद यो पहिलो हो, आज उहाँलाई आर्यघाटबाट बिदाइ गरेर आउँदा मलाई निकै दु:ख लागेको छ ।’ नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा भएको संसदीय दल बैठकमा ओलीले भने । नेम्वाङसँग आफूले करिब ५० वर्ष निकट रहेर काम गरेको बताउँदै ओलीले भने, ‘नेम्वाङ र मेरो पहिलो भेट ०३२ सालमा जेलमा भएको थियो’

नेम्वाङले पार्टीका पक्षमा, न्यायको पक्षमा, आन्दोलनका पक्षमा लगातार काम गरेको बताउँदै उनी सफल अधिवक्ता समेत रहेकाे जिकीर गरे । ‘उहाँ सफल अधिवक्ता पनि हुनुहुन्थ्यो । न्यायका पक्षमा उभिने गर्नुहुन्थ्यो, उहाँले संसदीय गरिमा पनि बढाउनुभएको थियो,’ उनले भने ।

एमाले संसदीय दलले नेम्वाङको निधनमा शोक प्रस्ताव पनि पारित गरेको छ । उपाध्यक्ष नेम्वाङको निधनबाट नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका साथै समग्र राष्ट्रकै लागि अपूरणीय क्षति पुगेको एमालेकाे ठहर छ ।
 
दिवंगत नेम्वाङ २००९ फागुन २८ गते ईलामको सुन्तलाबारीमा जन्मिएका थिए ।  २०४८ र २०५२ सालमा गरी दुईपटक राष्ट्रियसभाको सदस्य भएका नेम्वाङ २०५६ मा इलामबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । २०६३ सालको पुनस्र्थापित प्रतिनिधिसभाको सभामुख बनेका नेम्वाङ २०६४ र २०७० सालमा भएका दुईवटा संविधानसभा निर्वाचनमा ईलाम क्षेत्र नं. २ बाट विजयी बनेर संविधानसभा अध्यक्ष भइ नयाँ संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

उपाध्यक्ष नेम्वाङ २०७४ र २०७९ का प्रतिनिधिसभा सदस्यमा पनि ईलाम–२ बाट निर्वाचित भएका थिए । नेम्वाङले कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको सभापतिको जिम्मेवारी बहन गरेका थिए ।

विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पस, ईलाममा अनेरास्ववियुबाट स्ववियु सभापति भएका थिए । राजनीतिकै क्रममा २०३३ सालमा राजकाज मुद्दामा जेल परेका उनी तत्कालीन नेकपा मालेमा संगठित भएका थिए ।

२०५४ को छैटौं महाधिवेशनदेखि निरन्तर पार्टीको  केन्द्रीय कमिटीमा रहेका नेम्वाङ २०७१ सालमा भएको नवौं महाधिवेशनपछि स्थायी कमिटी सदस्य भए भने २०७८ सालमा चितवनमा सम्पन्न दशौं महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित भएका हुन् । शालिन, मृदभाषि नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

















0 प्रतिकृया