‘सचेतकहरुले चोचोमोचो मिलाउने, नेताहरुले गर्दन मिलाउने कानुनमा साइन गर्दिन’ सांसद सुनिल शर्मा
काठमाडौं, २९ भदौ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) मा सरोकारवालाहरुसँग घनिभूत छलफल नगरी कानुन निर्माण भए आफुलाई स्वीकार्य नहुने नेपाली कांग्रेसका नेता सांसद डा. सुनिलकुमार शर्माले बताएका छन् । टिआरसीको विषयमा जवरजस्ती गरिए आफु सर्वोच्च अदालतसम्म जाने बताउँदै डा. शर्माले प्रतिनिधि सभाका सांसदहरु दसैंमा काट्नको निम्ति पालिएको खसीबोका जस्तो घाँस हालेर नराखिएको पनि जिकीर गरे ।
संसदको कानुन न्याय तथा मानव अधिकार समितिमा छलफलमा भएका दुई विषयमा बोल्दै समितिका सदस्य समेत रहेका सांसद शर्माले भने,‘प्रतिनिधि सभाको सांसदहरु दसैंमा काट्नको निम्ति पालिएको खसीबोका जस्तो घाँस हालेर राखिएको हैन । लैनो गाई जस्तो पिना बढी खुवाएर दुध दिन जस्तो साइन गरेर राखिएको हैन ।’ डा. शर्माले टिआरसीमा द्वन्द्वकालमा राज्य पक्ष र विद्रोही पक्षबाट पिडितहरुलाई नसमेटिकन बनाइएको कानुनमा आफुले हस्ताक्षर नै नगर्ने जिकीर गर्दै भने,‘सचेतकहरुले चोचोमोचो मिलाउने, नेताहरुले गर्दन मिलाउने र हामीले बसेर साइन गर्दिनु पर्ने होभने यसमा नोट अफ डिसेन्ट जान्छ । म यस्तो कानुनमा साइन गर्दिन ।’
आगामी ५० वर्षसम्मलाई संवोधन हुनेगरी कानुन बनाउनु पर्ने बताउँदै सांसद शर्माले कानुनका हरेक बुँदाहरुमा घनिभूत छलफल गरेर देश र माटो सुहाउँदो बनाउनु पर्छ भनेर आफुले छलफलमा धारणा राखेको बताए । समितिमा सम्पत्ति सुद्धिकरण र टिआरसीको कानुनमा छलफल भइरहेको जनाउँदै सांसद शर्माले अर्थतन्त्र कमजोर भएको मुलुकमा टाट पल्टिने कानुन ल्याउन नहुने र राजनीतिक आस्थाका आधारमा द्वन्द्वकालमा निहत्था नागरिकलाई मारिएको दर्दनाक इतिहास भएका घटनामा सांसद भएकै हिसाबले सरोकारवाला पक्षहरुसँग घनिभूत छलपल नगरी कानुन निर्माण गर्न नपाईने बताएका हुन् ।
राजनीतिक दलहरुलाई पनि संविधानको मर्म, भावना, अन्तराष्ट्रिय कानुनको मर्म भावना विपरित र प्राकृतिक कानुन बाहिर गएर कानुन बनाउने अधिकार नभएको भन्दै टिआरसीमा सरोकारवालाहरुलाई राखेर सबैलाई न्याय पाउने हिसाबले कानुन बनाउनु पर्नेमा सांसद शर्माको जोड छ । ‘बालबच्चालाई मारेको, निहत्था मान्छेलाई मारेकोलाई कानुन बनाउने कुरामा जवरजस्ती लाद्न खोजियो भने त्यस्तो ह्विप मानिदैन, पार्टीले कारवाही गर्यो भने सहुँला बुझाउँला ।’ उनले टिआरसीका विषयमा आफुले सर्वोच्च अदालत सम्मै जाने मनस्थिति बनाइसकेको बताए ।
0 प्रतिकृया