Follow us:


Follow us

२१ भदौ २०८३, आइतवार
२१ भदौ २०८३, आइतवार


प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान, त्यतैबाट चीन जाने

एक्सन खबर
भदौ, ३०, २०८०


प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान, त्यतैबाट चीन जाने

काठमाडाैं, ३० भदाै । संयुक्त राष्ट्रसंघकाे महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका प्रस्थान गरेका छन् । साँझ ६ बजे कतार एयरलाइन्सको फ्लाइटबाट उनकाे टाेली अमेरिकाको न्युयोर्क प्रस्थान गरेकाे हाे ।

उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायत मन्त्रीहरू तथा नेताहरूले बिदाइ गरे ।

भ्रमण टोलीमा प्रधानमन्त्रीको सचिवालयबाट पाँच जना र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता छ । असोज १ गतेदेखि ९ गतेसम्म न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ गएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयबाट स्वकीय सचिव गंगा दाहाल, फोटोग्राफर प्रदीपराज वन्त र दुईजना सुरक्षा गार्ड छन् । ७८ औं महासभालाई प्रधानमन्त्री प्रचण्डले असोज ४ गते सम्बोधन गर्ने कार्यक्रम छ ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्डले दीगो विकास लक्ष्य सम्मेलन, क्लाइमेट एम्बिसन समिटलगायत अन्य महत्वपूर्ण एजेन्डासहितका उच्चस्तरीय कार्यक्रममा सहभागीता जनाउने छन् ।

यस्तै, अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन पुगेका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मान दिने रात्रीभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन् । भने, महासभा चलिरहँदा प्रधानमन्त्री प्रचण्डले विभिन्न देशका समकक्षी तथा प्रतिनिधि मण्डलसँग साइडलाइन भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाट सीधै चीन जाने कार्यतालिका रहेकाे छ । चीनकाे हाङजाउमा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेटघाटको कार्यक्रम रहेको छ । चीनमा प्रधानमन्त्री प्रचण्ड १९औँ एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुने र असोज ८ गते बेइजिङमा समकक्षी ली छियाङसँग भेटघाट तथा द्विपक्षीय वार्ताको कार्यक्रम छ ।

प्रधानमन्त्रीले भ्रमणका क्रममा चीनको छोङछिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडमी अफ एग्रिकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रको अवलोकन गर्ने, चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गरी नेपाल फर्कने कार्यक्रम छ ।
















0 प्रतिकृया