Follow us:


Follow us

७ असोज २०८०, आइतवार
७ असोज २०८०, आइतवार


प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान, त्यतैबाट चीन जाने

एक्सन खबर
भदौ, ३०, २०८०




प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान, त्यतैबाट चीन जाने

काठमाडाैं, ३० भदाै । संयुक्त राष्ट्रसंघकाे महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका प्रस्थान गरेका छन् । साँझ ६ बजे कतार एयरलाइन्सको फ्लाइटबाट उनकाे टाेली अमेरिकाको न्युयोर्क प्रस्थान गरेकाे हाे ।

उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायत मन्त्रीहरू तथा नेताहरूले बिदाइ गरे ।

भ्रमण टोलीमा प्रधानमन्त्रीको सचिवालयबाट पाँच जना र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता छ । असोज १ गतेदेखि ९ गतेसम्म न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ गएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयबाट स्वकीय सचिव गंगा दाहाल, फोटोग्राफर प्रदीपराज वन्त र दुईजना सुरक्षा गार्ड छन् । ७८ औं महासभालाई प्रधानमन्त्री प्रचण्डले असोज ४ गते सम्बोधन गर्ने कार्यक्रम छ ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्डले दीगो विकास लक्ष्य सम्मेलन, क्लाइमेट एम्बिसन समिटलगायत अन्य महत्वपूर्ण एजेन्डासहितका उच्चस्तरीय कार्यक्रममा सहभागीता जनाउने छन् ।

यस्तै, अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन पुगेका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मान दिने रात्रीभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन् । भने, महासभा चलिरहँदा प्रधानमन्त्री प्रचण्डले विभिन्न देशका समकक्षी तथा प्रतिनिधि मण्डलसँग साइडलाइन भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाट सीधै चीन जाने कार्यतालिका रहेकाे छ । चीनकाे हाङजाउमा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेटघाटको कार्यक्रम रहेको छ । चीनमा प्रधानमन्त्री प्रचण्ड १९औँ एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुने र असोज ८ गते बेइजिङमा समकक्षी ली छियाङसँग भेटघाट तथा द्विपक्षीय वार्ताको कार्यक्रम छ ।

प्रधानमन्त्रीले भ्रमणका क्रममा चीनको छोङछिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडमी अफ एग्रिकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रको अवलोकन गर्ने, चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गरी नेपाल फर्कने कार्यक्रम छ ।
















0 प्रतिकृया