Follow us:


Follow us

७ असोज २०८०, आइतवार
७ असोज २०८०, आइतवार


इन्जिनियरिङ पढ्ने सोच्दै हुनुहुन्छ ? यी हुन् उत्कृष्ट कलेजहरु

कृष्णसिं धामी
असोज, १, २०८०




इन्जिनियरिङ पढ्ने सोच्दै हुनुहुन्छ ? यी हुन् उत्कृष्ट कलेजहरु

काठमाडौं, ३१ भदौ । कक्षा १२ पास गरेसँगै विद्यार्थीहरुमा कुन विषय कहाँ पढ्ने कौतुहलता हुन्छ । हरेक कलेजहरुले आफुलाई अब्बल र उत्कृष्ट नै भन्छन् । तर, सबै कलेजहरु उत्कृष्ट हुँदैनन् । इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई पनि राम्रो कलेज छनौट गर्न गाह्रै छ । नेपालमा पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदुरपश्चिम विश्वविद्यालय, मनमोहन विश्वविद्यालयबाट सम्बन्धन लिएका तथा तिनका आङ्गीक क्याम्पसमा इन्जिनियरिङको पढाई हुने गरेको छ ।

पोखरा, त्रिभुवन र पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजहरु बढी छन् । पोखरा विश्वविद्यालयसँग एउटा आङ्गिक, एउटा संयुक्त र सम्बन्धन लिएका १५ कलेज रहेका छन् । त्रिभुवन विश्वविद्यालयसँग आङ्गिक र सम्बन्धन लिएका १६ कलेज तथा पूर्वाञ्चल विश्वविद्यालयसँग आङ्गिक र सम्बन्धन गरी १७ वटा कलेज सञ्चालनमा छन् । काठमाडौं विश्वविद्यालयसँग आङ्गिक सहित दुई वटा, सुदुरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र मनमोहन प्राविधिक विश्वविद्यालयसँग एक एक वटा कलेज रहेका छन् ।

छ वटा विश्वविद्यालयका ५३ वटा कलेजहरुले इन्जिनियरिङ विधामा स्नातक तहमा ११ हजार ५ सय ६३ विद्यार्थी भर्ना गर्न सक्ने नेपाल इन्जिनियरिङ काउन्सिलले जनाएको छ ।

देशभर सञ्चालित ५३ इन्जिनियरिङ कलेज मध्ये सिमित कलेज उत्कृष्टमा परेका छन् । पाठ्यक्रम, कलेजको पूर्वाधार, ल्याब, शिक्षक शिक्षिकाहरुको योग्यता तथा विश्वविद्यालयले लिने परीक्षामा उत्तीर्ण विद्यार्थीहरुको तथ्यांक अनुसार पुल्चोक क्याम्पस, काठमाडौं विश्वविद्यालयकाे स्कुल अफ इन्जिनियरिङ, नेपाल इन्जिनियरिङ कलेज, कान्तिपुर इन्जिनियरिङ कलेज लगायत उत्कृष्ट इन्जिनियरिङ कलेजमा गनिन्छन् ।

नेपाल इन्जिनियरिङ काउन्सिलले देशभरका इन्जिनियरिङ कलेजहरुको नियमन, अनुगमन गर्दै स्थायी/अस्थायी अनुमति दिने गरेको छ । कलेजको शैक्षिक स्तर, शिक्षिक शिक्षिकाहरुको योग्यता, उपलब्धता, प्रयोगशाला, पुस्तकालय, सन्दर्भ सामग्री तथा भौतिक पूर्वाधारहरुका आधारमा काउन्सिलले दिने स्थायी/अस्थायी अनुमतिले ठूलो महत्व राख्ने गरेको छ । काउन्सिलले ५३ कलेजहरु मध्ये सात वटालाई स्थायी अनुमति दिएको छ बाँकीलाई अस्थायी अनुमती दिएको छ ।

स्थायी अनुमति पाउने कलेजहरुमा मुनाफारहित सामाजिक शैक्षिक संस्थाकारुपमा सञ्चालित चाँगुनारायण भक्तपुरको नेपाल इन्जिनियरिङ कलेज, ललितपुरकाे पुल्चोक क्याम्पस, यूनाइटेड टेक्निकल कलेज भरतपुर, काठमाडौं विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ, पश्चिमाञ्चल क्याम्पस पोखरा, लुम्विनी इन्जिनियरिङ कलेज रुपन्देही, गण्डकी कलेज अफ इन्जिनियरिङ, पोखरा रहेका छन् । उल्लेखित स्थायी अनुमति पाउने कलेजहरुको दुई वर्षमा काउन्सिलले अनुगमन गर्ने गर्दछ भने अस्थायी अनुमति पाएकाहरुको हरेक वर्ष अनुगमन हुने गरेको छ ।

स्थायी अनुमति पाउने कलेज र पढाई हुने विषय

काउन्सिलले निर्धारण गरेको मापदण्ड पुरागरी स्थायी अनुमति लिएका सात कलेजहरुमा इन्जिनियरिङ विधाका सबै विषयको अध्यापन हुने गरेको छ ।

पुल्चोक क्याम्पस, पुल्चाेक
त्रिभुवन विश्वविद्यालय अन्तरगतको यस कलेजमा सिभिल,  इलेक्ट्रिकल कम्प्युटर, इलेक्ट्रोनिक्स, इलेक्ट्रोनिक्स, कम्युनिकेशन एण्ड इन्फरमेशन, मेकानिकल, आर्किटेक्चर, एरोस्पेस, केमिकल विषयमा पढाई हुन्छ । पुल्चोक क्याम्पस इन्जिनियरिङ विधाका लागि कहलिएको कलेज हो । इन्जिनियरिङ अध्ययन गर्न चाहने अधिकतम विद्यार्थीहरु यहाँ पढ्न लालयित देखिने प्रवेश परीक्षामा विद्यार्थीको सहभागीताले देखाउँछ ।

नेपाल इन्जिनियरिङ कलेज, चाँगुनारायण
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा स्नातक, स्नातकोत्तर र मास्टर्स तहमा अध्यापन हुन्छ । कलेजमा सिभिल, आर्किटेक्चर, कम्प्युटर, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन, आइटी, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, सिभिल एण्ड रुरल तथा बि. ई. सिभिल इन्जिनियरिङ फर डिप्लोमा होल्डर्स विषयको अध्यापन हुन्छ । कलेजले सञ्चालन गरेको बि. ई. सिभिल इन्जिनियरिङ फर डिप्लोमा होल्डर्स अन्य कुनै कलेजहरुमा पढाई हुँदैन । यो विषय डिप्लोमा गरेर जागिर खाइरहेका व्यक्तिहरुका लागि तयार पारिएको हो । डिप्लोमा पछि काम गर्दै पढेर विश्वविद्यालयको सर्टिफिकेट प्राप्त गर्न यो विषय महत्वपूर्ण हुन्छ ।

यसका अलावा यस कलेजमा पोखरा विश्वविद्यालयको छात्रवृत्तिसँगै कलेजले आफैं प्रदान गर्ने विभिन्न छात्रवृत्ति पनि छ । साथै यहाँ अध्ययन गर्दा इन्टरनेशनल एक्सपोज समेत प्राप्त गर्ने अवसर पाइने कलेजको दावी छ । कलेजले युरोपका विभिन्न विश्वविद्यालय र कलेजसँग सहकार्य गरेकाले जेहेन्दार विद्यार्थीहरुले अन्तिम सेमेष्टरमा स्पेन गएर अध्ययन पुरा गर्न पाउने अवसर पाइन्छ । यो कलेजलाई नेपाल इन्जिनियरिङ काउन्सिलले २०६१ सालदेखि नै नियमित स्थायी अनुमति दिँदै आएको छ ।

पञ्चिमाञ्चल क्याम्पस, पोखरा
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा सात वटा विषयमा अध्यापन हुने गरेको छ । कलेजमा सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, कम्युनिकेशन एण्ड इन्फरमेशन, मेकानिकल, कम्प्युटर, जियोमेटिक, अटोमोवाइल विषयमा पढाई हुन्छ ।

काठमाडौं विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङ, धुलिखेल

धुलिखेल, काभ्रेमा रहेको यो कलेज काठमाडौं विश्वविद्यालयको आङ्गिक कलेज हो । यहाँ मेकानिकल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, कम्प्युटर, जियोम्याटिक्स, सिभिल, केमिकल, आर्किटेक्चर, माइनिङ विषयको पढाई हुन्छ ।

युनाईटेड टेक्निकल कलेज, भरतपुर

पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएको यस कलेजमा ३ वटा विषयको अध्ययन हुन्छ । यहाँ सिभिलमा ९६ सिट, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्समा ८४ सिट र कम्प्युटर इन्जिनियरिङमा ४८ सिट रहेको छ ।

लुम्विनी इन्जिनियरिङ म्यानेजमेन्ट, रुपन्देही

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लुम्विनी इन्जिनियरिङ म्यानेजमेन्टमा सिभिल १४४, कम्प्युटर ४८, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स ४८, विषयको अध्यापन हुने गरेको छ ।

गण्डकी कलेज अफ इन्जिनियरिङ, पोखरा
पोखराकै लामाचौरमा रहेको यस कलेजमा सफ्टवेयर इन्जिनियरिङ र कम्प्युटरको पढाई हुन्छ । यी दुवै विषयमा ४८, ४८ सिट उपलब्ध छन् । यो कलेज पोखरा विश्वविद्यालय अन्तरगत रहेको छ ।

यसका अलावा इन्जिनियरिङ अध्ययनका लागि एक्मी इन्जिनियरिङ, एडभान्स कलेज अफ इन्जिनियरिङ, कसमस, कान्तिपुर लगायतका कलेज पनि उपयुक्त नै छन् ।

कलेज छनौटमा के विचार गर्ने ?

इन्जिनियरिङ विषय अध्ययन गर्न चाहने विद्यार्थीहरुले कलेज छनौट गर्दा कलेजको भौतिक पूर्वाधार, विगतको रिजल्ट, शिक्षक शिक्षिकाहरुको योग्यता तथा वातावरण समेत हेर्नुपर्ने शिक्षाविद्हरुको सुझाव छ । यसका अलावा कलेज र विश्वविद्यालयले प्रदान गर्ने छात्रवृत्ति, शुल्कको बारेमा पनि जानकारी लिनु उपयुक्त हुन्छ ।

आजभोली हरेक विश्वविद्यालय र कलेजले विभिन्न शिर्षकमा छात्रवृत्तिहरु दिने भएकाले जेहेन्दार राम्रो पढाई भएका विद्यार्थीहरुले छात्रवृत्तिलाई पनि ध्यान दिनुपर्छ । हरेक कलेजमा विश्वविद्यालयले प्रदान गर्ने १० प्रतिशत छात्रवृत्ति सुरक्षित गरिएकाे हुन्छ । कलेज आफ्नो स्थानबाट कत्तिको टाढा छ ? शिक्षण विधि कस्तो छ, अतिरिक्त कृयाकलाप कस्ताे छ ? त्यसमा पनि ध्यान दिनु अपरिहार्य छ । भने, इन्टरनेशनल एक्सपोज हुने वातावरण, पढाई पछिको जागिर पाउने संभावनालाई पनि ख्याल गर्नु पर्दछ ।













0 प्रतिकृया