६ बुँदे सहमति पछि नेपाल चिकित्सक संघकाे आन्दाेलन स्थगित
काठमाडौं, ३१ भदाै । नेपाल चिकित्सक संघले आन्दाेलनका सबै कार्यक्रम स्थगित गरेकाे छ । संघ र सरकारले गठन गरेकाे वार्ता समितिसँग आज स्वास्थ्य मन्त्रालयमा भएकाे वार्तामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन ऐन २०७९) बमोजिम कारबाही गर्ने तथा उक्त ऐन कार्यान्वयनका लागि नेपाल सरकारका सरोकारवाला निकायहरू प्रतिबद्ध रहने सहमति भएपछि आन्दाेलन स्थगित गरिएकाे हाे ।
सरकारद्वारा गठित वार्ता समितिसँग भएको सम्झौतासँगै नेपाल चिकित्सक संघले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू हाललाई आजैको मितिदेखि लागू हुने गरी स्थगित गरिएको जनाएकाे छ ।
चिकित्सकहरूको सेवा सुविधा सुरक्षा जनशक्ति परिचालन क्षमता अभिवृद्धि तथा विदेशिने प्रवृति कम गर्ने लगायतका समस्या समाधान गर्ने गरी ३ महिना भित्र चिकित्सक सेवा सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न आवश्यक प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ ।
गत भदौ २७ गतेका दिन संघका आजीवन सदस्य द्वय डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि सञ्चो अस्पताल हेटौडामा बिरामीहरूको उपचार गरिरहेको अवस्थामा साङ्घातिक आक्रमण भएपछि संघ ७ बुँदे माग राखेर देशभर आन्दोलनमा उत्रिएको थियो ।
सम्झौता अनुसार घटनामा संलग्न दोषीहरूलाई गृह मन्त्रालयमार्फत तत्काल पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन ऐन २०७९) बमोजिम कारबाही गर्ने तथा उक्त ऐन कार्यान्वयनका लागि नेपाल सरकारका सरोकारवाला निकायहरू प्रतिबद्ध रहने भनिएकाे छ ।
चिकित्सकमाथि भएको साङ्घातिक आक्रमणका कारण बाध्यतावश संघको आह्वानमा आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवाहरू बन्द गर्नु परेकोमा संघले दुःख व्यक्त गर्दै संघले भनेकाे छ, ‘सरकारले चिकित्सकको जीउ ज्यानको सुरक्षा गर्न नसक्दा आपराधिक मानसिकताका केही गलत प्रवृत्तिका व्यक्तिका कारणले यो अप्रिय अवस्था सिर्जना भएको हो ।’
सुरक्षाको जिम्मा लिएको सरकारले संघसँग गरिएका सम्झौता अक्षरशः पालना नगरेको अवस्थामा जुनसुकै समयमा पुनः कडा कार्यक्रमसहित आन्दोलनमा उत्रन बाध्य हुने चिकित्सक संघले चेतावनीसमेत दिएको छ ।
0 प्रतिकृया