‘राष्ट्रिय उपलब्धीहरू समाप्त पार्ने खेल भइरहेका छन्’ केपी शर्मा ओली (फाेटाे फिचर सहित)
एक्सन खबर
काठमाडाैं, ३ असाेज । संविधान दिवसका अवसरमा नेकपा एमालेले राष्ट्रिय झन्डासँग सेल्फी कार्यक्रम आयोजना गरेको छ । काठमाडौँको नक्सालस्थित नारायणचौरमा एमालेले विशेष कार्यक्रम गरेर राष्ट्रिय झन्डा फहराउनुका साथै सेल्फी कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा बाेल्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय उपलब्धीहरूलाई समाप्त पार्ने खेल भइरहेको बताए । विभाजनकारी प्रवृत्तिहरू, जनतामा फाटो ल्याउने प्रवृत्तिहरू, राष्ट्रिय एकतालाई खलल पुर्याउने, जातिय, धार्मिक द्वन्द्वहरू फैलाउने प्रवृत्तिहरू देखा पर्न थालेको बताउँदै ओलीले त्यसका विरूद्ध नेपाली समाज एक हुनुपर्ने बताए ।
‘हामी सचेत र सजग रहनुपर्छ । हाम्रा उद्देश्य, कर्तव्य र हाम्रो एकतालाई बिर्सन र कमजोर बनाउन दिनुहुँदैन, हाम्रो संविधान राष्ट्रिय एकता र सबलताको संविधान हो । जनताका लागि जनताले बनाएको संविधान हो । कहीँ कतै हाम्रा उपलब्धीहरूलाई समाप्त पार्न खोज्ने, या त अभिव्यक्तिबाट, क्रियाकलापबाट यस्ता प्रयासहरू भइरहेको छ ।’ राष्ट्रिय एकतालाई खल्बल्याउने खालका विचारहरू सकारात्मक हुन नसक्ने भन्दै ओलीले भने ।
विभाजनकारी प्रवृत्तिहरू, जनतामा फाटो ल्याउने प्रवृत्तिहरू, राष्ट्रिय एकतालाई खलल पुर्याउने प्रवृत्तिहरू अनेकौं प्रकारका क्षेत्रीयतावादी, साम्प्रदायिक, जातीयतावादी, राजनीतिक नाममा हुने, गरिने त्यस्ता उच्छृङ्खल गतिविधिहरू राष्ट्रिय एकताको पक्षधर हुन नसक्ने उनकाे भनाइ छ ।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेता कार्यकर्ताहरूले नेपाली झण्डासँग सेल्फी खिचाएका छन् । कार्यक्रममा राष्ट्रिय झन्डासँगै लोकतन्त्र, गणतन्त्र र संविधान लेखिएका वोर्डहरु समेत राखिएको छ । कार्यक्रममा एमालेका नेता, कार्यकर्ता र सर्वसाधारणहरूकाे सहभागीता रहेकाे थियाे ।
0 प्रतिकृया