कांग्रेस सभापति, कार्यवाहक प्रधानमन्त्री, सभामुख, पूर्वराष्ट्रपतिले के भने ?
एक्सन खबर
काठमाडाैं, ३ असाेज । नेपालको संविधानले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।
संविधान दिवसको अवसरमा शुभकामना जारी गर्दै संविधानसभामार्फत निर्माण भएको संविधानले लोकतन्त्रको जग बलियो बनाउँदै अमनचयन र शान्ति स्थापना गर्न सफलता हासिल गरेको देउवाले बताएका छन् ।
संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा बाँधेको उल्लेख गर्दै सभापति देउवाले ऐतिहासिक जननिर्वाचित संविधानसभामार्फत संविधान निर्माण भई जारी भएको आज आठ वर्ष पूरा भएर नौ वर्षमा प्रवेश गरेको उल्लेख गर्दै यो अवधिमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन सम्पन्न भई तीनै तहले दोस्रो कार्यकालका रुपमा काम गरिरहेका जनाएका छन् ।
‘नयाँ संविधानअनुसार विभिन्न ऐन/कानुन निर्माण सम्पन्न भई संविधान पूर्ण कार्यान्वयनतर्फ अघि बढेको छ । नयाँ संविधानअनुसारको स्थानीय, प्रदेश र केन्द्र तीनै तहका सरकार जनताको अपेक्षाअनुसारको काम गर्न अग्रसर देखिएका छन्,’ देउवाले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
संवैधानिक अभ्यासमा भएका कमीकमजोरी सच्याउँदै संविधानको व्यावहारिक कार्यान्वयनमा विशेष ध्यान दिएर अघि बढ्नुपर्ने जिम्मेवारी रहेको भन्दै उनले सबै राजनीतिक दल, नागरिक समाज, निजीक्षेत्र र विभिन्न पेशाकर्मीको सामूहिक प्रयत्नबाट अब मुलुकलाई समुन्नत देशका रुपमा अघि बढाउनुपर्ने दायित्व सबैको काँधमा आएको बताए ।
मुलुकलाई केही वर्षमा नै समुन्नत मुलुकका रुपमा अघि बढाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने भएको बताउँदै संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा समुन्नत मुलुक बनाउने अभियानमा सबैलाई एकताबद्ध भएर सहभागी हुन अनुरोध गरे ।
यस्तै, कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक एवं महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै नेपाली जनताको पूर्ण समर्थन, सङ्घर्ष र बलिदानको फलस्वरूप गठित संविधानसभाबाट जारी भएको नेपालको संविधानले नेपाली जनताको राजनीतिक, आर्थिक र सामाजिक अधिकारलाई पूर्णतः सुरक्षित गर्नुका साथै मुलुकमा राजनीतिक स्थिरता, दिगो शान्ति, सुशासन र विकासका नयाँ क्षितिजलाई उद्घाटित गरेको बताएका छन् ।
'यस संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ । यो संविधान हिमाल, पहाड र तराईमा रहने तीन करोड नेपालीको साझा मिलनविन्दु हो', कार्यवाहक प्रधानमन्त्री खड्काद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
लामो र साझा सङ्घर्षबाट प्राप्त यस संविधानको रक्षा, पालना र प्रभावकारी कार्यान्वयन सबै नेपालीको साझा दायित्व भएको उल्लेख गर्दै उनले संविधानमा प्रतिविम्बित नेपाली जनताका विकास, समृद्धि र सुशासनका भावनालाई प्रभावकारी तवरले कार्यान्वयनमा उतार्न हामी सबै एकापसमा हातेमालो गर्दै अघि बढ्न आवश्यक रहेको बताए ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालको विद्यमान संविधानले नागरिकका मौलिक हक र लोकतान्त्रिक राज्यव्यवस्थाको प्रत्याभूति गरेकाले परिवर्तनका लागि अब अर्को कुनै क्रान्तिको आवश्यकता नरहेको बताउँदै संविधानको मर्म र भावनाअनुसार राजनीतिक नेतृत्व चल्नुपर्ने बताएका छन् ।
…संविधानले राज्यका अङ्गको निर्धारण, अधिकारको विभाजन र सन्तुलन (शक्ति पृथकीकरण) को बलियो प्रबन्ध गरेकाले पुनःक्रान्तिको आवश्यकता अन्त्य गरेको छ । तर, संविधानको भावनाअनुरूप हिँड्दै नेतृत्वको चरित्र प्रजातान्त्रिक र लोकतान्त्रिक हुन जरुरी छ’, सभामुख घिमिरेको शुभकामना सन्देशमा भनिएको छ ।
संविधान मुलुकको सर्वोच्च कानून रहेकाे उल्लेख गर्दै उनले संविधान जारी भएको पछिल्लो आठ वर्षमा संविधान कार्यान्वयनका धेरै काम सम्पन्न भएको र संविधानबमोजिम नै आवधिक निर्वाचनबाट निर्वाचित सरकार तीनवटै तहमा क्रियाशील रहेको बताएका छन् ।
संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा संसद्ले विशेष ध्यान र सक्रियता दिएको उनको भन्दै उनले भनेका छन्, ‘संसद्ले एकाधबाहेकका कानूनहरू निर्माण गरिसकेको छ । तर, दीर्घकालीन असर गर्ने केही कानूनबारे छलफल र बहस भइरहेका छन् । आशा छ, जसरी सहमतिको जगमा संविधान निर्माण गरेका छौँ, संविधान कार्यान्वयन गर्न आवश्यक ऐनहरू राजनीतिक सहमतिबाटै टुङ्गोमा पुर्याउनेछौं’,
यस्तै, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानअनुसार बन्न बाँकी कानुनको यथाशीघ्र तर्जुमा गरी कानूनी रिक्तता पूरा गर्दै संविधानको कार्यान्वयनलाई पूर्णता दिनुपर्ने बताएका छन् ।
‘अहिले जनतामा बढ्दो निराशाको फाइदा उठाउँदै अराजकता मच्चाउने र धमिलो पानीमा माछा मार्न खोज्ने पक्षले यसलाई आफ्नो स्वार्थ पूरा गर्ने अवसरका रुपमा प्रयोग गर्ने कोशिस गरिरहेका छन् । संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता अहिले रहेको छ भने अबका दिनमा हाम्रा प्रयास शासन व्यवस्था सुदृढ र संस्थागत गर्दै सुशासन कायम गर्नतर्फ केन्द्रित हुनुपर्दछ’, अध्यक्ष तिमिल्सनाको सन्देशमा भनिएको छ ।
राजनीतिक परिवर्तन संस्थागत भए पनि जनताले तुरुन्त आर्थिक विकास, सामाजिक न्याय र सुशासनको अनुभूति गर्न नपाएकाले जनाउँदै सन्देशमा संविधानले परिकल्पना गरेका विषयलाई कार्यान्वयन गर्नसकेमा मात्र सङ्घीयता र गणतन्त्र बलियो हुने भएकाले सरकार र सम्बद्ध सबै पक्षलाई संविधानको दिगो कार्यान्वयनमा ध्यानाकर्षण गराएका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छन् । राष्ट्रिय एकता र समाजवादोन्मुख अर्थव्यवस्थाका लागि संविधानले महत्त्वपूर्ण दिशा देखाएको भण्डारीले उल्लेख गरेकी छन् ।
समाजवादोन्मुख अर्थतन्त्रको लक्ष्य हासिल गर्न मुलुकमा उपलब्ध प्राकृतिक स्रोत तथा ऊर्जाशील युवाशक्तिसहित मानवीय संसाधनको दिगो सदुपयोग गर्नुपर्ने उनको भनाइ छ । मुलुकको बृहत्तर हित र राष्ट्रिय विकासका लागि संविधान केबल साधनमात्र रहेको र त्यसको विवेकपूर्ण उपयोगमार्फत जनता र राष्ट्रको समग्र भलाई खोज्ने जिम्मेवारी राजनीतिक नेतृत्वको काँधमा रहेको भण्डारीको भनाइ छ ।
0 प्रतिकृया