प्रधानमन्त्री ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता
काठमाडौं, ६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र सी जिनपिङ विच हाङजाउमा भेटवार्ता भएकाे हाे ।
शनिबार अमेरिकाको न्यूयोर्कबाट चीन पुगेका प्रचण्डले एसियाली खेलकुद आयोजना भएको शहर हाङजाउमा चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।
चीन र नेपालको टोलीबीच प्रतिनिधिमण्डलस्तरको छलफल पनि भएको छ । एक हप्ता चीनमा रहने प्रधानमन्त्री आइतबार हाङजाउबाट बेइजिङ जाने र त्यहाँ समकक्षी लि छियाङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
त्यसैगरी राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यसूची छ । चीनस्थित नेपाली राजदूतावासले आयोजना गर्ने रात्री भोजमा सहभागी हुनुका साथै चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएकाे छ ।
प्रधानमन्त्री प्रचण्डले २६ सेप्टेम्बरमा चीनको छोङछिङ महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्ने तथा त्यसपछि नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन् ।
प्रधानमन्त्री प्रचण्ड आफ्नो प्रतिनिधिमण्डलसहित सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ ।
0 प्रतिकृया