केएमसीको न्यूरो इन्टरवेंशन सेवाबाट पक्षघात र मस्तिस्कघातका बिरामीलाई राहत
काठमाडौं, ५ असोज । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा न्यूरो इन्टरवेंशन सेवा सञ्चालनमा ल्याएसँगै पक्षघात, मस्तिस्कघात भएका बिरामीहरु लाभान्वित भइरहेका छन् । मस्तिस्क र नसाका रोगीहरुलाई शल्यक्रिया नगरीकन रक्तनलीको माध्यमबाट गरिने उपचार पद्दतिलाई न्यूरो इन्टरवेंशन भनिन्छ । इन्टरवेंशनल न्यूरोलोजिस्ट डाक्टर समर्थ सिंहले केएमसीमा कार्य थालनी गरेपछि न्यूरो इन्टरवेंशन सेवाबाट धेरै बिरामीहरु लाभान्वित भइसकेका छन् ।
यस विधिमा तल्लो पेट वा तिघ्राको बीचको भाग अथवा नाडीसँगै भएको रक्तनलीबाट प्रवेश गरेर मुटु भन्दामाथि रक्त सञ्चार गर्ने, रक्तनलीबाट पातलो तार र ट्युबबाट मस्तिस्क अथवा नसाको रक्तनलीहरुमा प्रवेश गरिन्छ । त्यसपछि रंग हालेर एक प्रकारको एक्स रे बाट मस्तिस्कको रक्तनली र मस्तिस्कको रोगहरुको पहिचान गरिन्छ ।
न्यूरो इन्टरवेंशन विधिमा गर्धनको रक्तनली साँघुरो भएको, रक्तनली अवरुद्ध भएर हुने पक्षघात, रक्तनलीको फुकुन्दो फुटेर हुने ब्रेन ह्यामरेज तथा रक्तनलीको बनावट नमिलेको समेत सफलतापूर्वक उपचार हुने केएमसीका इन्टरवेंशनल न्यूरोलोजिस्ट डाक्टर समर्थ सिंहले बताए ।
यसैगरी न्यूरो इन्टरवेंशन प्रविधिबाट ब्रेन ट्युमरको समेत उपचार हुने गर्दछ । ब्रेन ट्युमरमा अत्याधिक रक्त सञ्चार हुने भएकाले ट्युमरलाई रक्त सञ्चार गर्ने रक्तनलीलाई अवरुद्ध गर्ने अथवा ट्युमरलाई पुरै दानाहरु (कण) राखेर पूर्णरुपमा ट्युमरको रक्त सञ्चार अवरुद्ध गरिन्छ । यसो गरिँदा ट्युमरको शल्यक्रिया अत्याधिक सफल हुने डा. सिंहको भनाई छ । ‘केएमसीमा न्यूरो इन्टरवेंशन प्रविधि सुरु भएसँगै हामीले धेरै जटिल केसहरुको उपचार गर्न सफल भएका छौं । पक्षघात भएर जीवनमरणको अवस्थामा पुगेका बिरामीहरुलाई बचाउन सफल भएका छौं ।’ डा. सिंहले भने ।
केएमसीमा डा. सिंहले प्रत्येक दिन सेवा दिइरहेका छन् । उनि न्यूरो इन्टरवेंशन र पक्षघात विशेषज्ञ, स्ट्रोक विशेषज्ञ डाक्टर हुन् । न्यूरो इन्टरवेंशन पद्धतिले ६ देखि १२ घण्टासम्म पक्षघात पूर्ण रूपमा निको बनाउन सकिन्छ ।
यस पद्दतिले परम्परागत रुपमा टाउको चिरेर गरिने शल्यक्रिया पद्दतिलाई विस्थापित नै गराइदिएको डा. सिंहको दावी छ । न्यूरो इन्टरवेंशन भनेको बिना शल्यक्रिया क्याथेटरको माध्यमबाट बन्द भएको मस्तिष्कको नसा खोल्ने वा फुटेको मस्तिष्कको नसालाई ठिक गर्ने पद्दति हो । यस प्रविधिमा हात वा खुट्टाको नसाबाट क्याथेटर पठाएर मस्तिष्कको नसाभित्र जमेको रगतको थेग्लो निकालिन्छ । टाउको नखोलिकन मस्तिष्कको रक्तनलीभित्र मेकानिकल थ्रोमबेक्टमी पद्धतिबाट अवरुद्ध रक्तनलीमा पुनः रक्तसञ्चार गरिन्छ । ‘यस पद्दतिले बिरामी चाडै निको हुने, ठूलो घाउ नहुने भएकाले लामो समय वेड रेस्ट गर्नुपर्दैन । अस्पतालको बसाई समेत कम हुन्छ ।’ डा. सिंह भन्छन् ।
अन्यत्र यही सेवालाई १५ लाख रुपैंया लिने गरेकोमा केएमसीमा छ सात लाखमै हुन्छ । स्वास्थ्य उपचारमा आम जनताको पहुँच स्थापित गराउने रणनीति अनुसार सर्वसुलभ शुल्कमा उच्चस्तरीय प्रविधि मार्फत स्वास्थ्य सेवा प्रवाह गरिरहेको केएमसीका जनरल मेनेजर नारायण दाहालले बताए ।
केएमसीको स्वास्थ्य सेवालाई विशिष्टीकृत गर्दै प्रविधियुक्त उपचार थालनी गर्ने श्रेय तत्कालिन कार्यकारी अध्यक्ष डा. सुनिलकुमार शर्मालाई जान्छ । तीन वर्षअघि केएमसीको नेतृत्व गर्न आएका डा. शर्माले चिकित्सा क्षेत्रका नविनतम प्रविधिहरु भित्र्याएर सर्वसुलभ शुल्कमा अन्तराष्ट्रिय स्तरको स्वास्थ्य सेवाको थालनी गरेका हुन् ।
केएमसीमा केएमसीले केहि समय अगाडी मात्र अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’ पनि सञ्चालन गरिसकेको छ । न्युरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने प्रविधिसहितको सो क्याथल्याब उच्चस्तरीय छ ।
यस्तै, नेपालमै पहिलो पटक अत्याधुनिक रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोप समेत केएमसीमा छ । नेपालमै पहिलो पटक केएमसीले नै अत्याधुनिक २००/६४ च्यानलको थ्री टेस्ला एमआरआई प्रयोगमा ल्याएको छ । नेपालको सबैभन्दा ठूलो सघन उपचार कक्ष (आइसीयू) १६८ बेड क्षमताको केएमसीमै रहेको छ । भने, यहाँ मिर्गाैला प्रत्यारोपण सेवा समेत उपलब्ध छ ।
0 प्रतिकृया