नेपाल इन्जिनियरिङ कलेजलाई विश्वविद्यालय बनाउनु पर्नेमा जोड (फाेटाे फिचर सहित)
एक्सन खबर
काठमाडौं, ८ असोज । मुनाफारहित सामाजिक शैक्षिक संस्थाको रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजलाई सामाजिक शैक्षिक संस्थाकै रुपमा सञ्चालन गरिनुपर्नेमा दुईमत नरहेको बताइएको छ । कलेजको २९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै वक्ताहरुले नेपालको इन्जिनियरिङ शिक्षाको उन्नयनमा महत्वपूर्ण योगदान दिएको कलेजलाई प्राविधिक विश्वविद्यालयका रुपमा विस्तार गर्न सकिने समेत बताए ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पूर्वभौतिक यातायात तथा पूर्वाधारमन्त्री कृष्णलाल भँडेलले नेपाल इन्जिनियरिङ कलेज विश्वविद्यालय हुन योग्य रहेको बताए । ‘कलेजलाई कसरी विश्वविद्यालय बनाउने भन्ने विषयमा सबै राजनीतिक दलका साथीहरु एकबद्ध बनौं । यो कलेज हाम्रो लागि भन्दापनि भावी सन्ततीको लागी हो ।’ भडेंलले भने ।
तत्कालिन कलेजका संस्थापक प्रिन्सिपल स्वर्गीय प्रा.डा. दिपक भट्टराईले चाँगुनारायणमा इन्जिनियरिङ कलेज खोल्छु भन्ने सोच लिएर नआएको भए आफुहरु अझैपनि शिक्षाको दृष्टिकोणबाट धेरैपछि पर्ने बताउँदै कलेज स्थापना भएकाले नै सो क्षेत्रका विद्यार्थीहरुले प्राविधिक विषय पढ्न पाएको स्मरण गरे । ‘दिपक भट्टराईले यो सोच लिएन नआउनु भएको भए यो क्षेत्र अझै पिछडिएको हुन्थ्यो ।’ उनले नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणकै भविष्य भएकाले कलेजको विकास, स्तरोन्नती र विश्वविद्यालय बनाउने अभियानमा सबै एकबद्ध भएर अगाडी बढ्न आग्रह समेत गरे ।
विगतमा कलेज अन्यत्र लैजाने सड्यन्त्र भइरहँदा भएका संघर्षहरुको स्मरण गर्दै अहिले पनि कलेजको भविष्य के हुने अन्यौल भइरहँदा कलेज बचाउन सबै एकजुट हुनैपर्नेमा पूर्वमन्त्री भँडेलले जनाए । कलेज सामाजिक संस्था हो भन्नेमा दुई मत नरहेको जनाउँदै सम्मानीत सर्वोच्च अदालतले पनि जनताको चाहना र आकांक्षा विपरित फैसला नगर्नेमा आफुहरु आशावादी रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका सांसद सुरेश श्रेष्ठले कलेजलाई सामाजिक शैक्षिक संस्थाकै रुपमा सञ्चालन गरिनुपर्नेमा सबै पक्षको एक मत रहेको बताउँदै विगतका कमी कमजोरीलाई केलाउँदै आगामी दिनमा कलेजको विकास, स्तरोन्नती गर्न सबैको सल्लाह सुझाब अनुसार अगाडी बढ्नु पर्ने बताए । कलेजको विकासमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सांसद श्रेष्ठले भवन, जग्गा र शिक्षक नभएका प्रदेशहरुले समेत विश्वविद्यालय घोषणा गरिसकेको अवस्थामा १७४ रोपनी जग्गा र पूर्वाधार भएको कलेजलाई विश्वविद्यालय बनाउन कुनै समस्या नहुने तर, त्यसका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै कलेजका संस्थापक सञ्चालक सदस्य सलिल भट्टराईले कक्षा १२ पास गरिसकेपछि धेरै युवाहरु उच्च शिक्षाका लागि विदेशिने गरेको बताउँदै आगामी सत्रहरुमा नेपाली कलेजहरुले विद्यार्थी नै नपाउने सम्मको अवस्था आउन नदिने अब कलेज र विश्वविद्यालयहरुले शैक्षिक गुणस्तरमा सुधार्नुपर्ने बताए । वार्षिक जन्मदर र विदेशिने युवाहरु विचको अन्तर बढ्दो रहेको जनाउँदै भट्टराईले शैक्षिक गुणस्तर नसुधार्ने हो भने आउँदा वर्षहरुमा कलेजहरुले विद्यार्थीनै पाउन नसक्ने स्थिति आउनेमा सचेत गराए । नेपाल इन्जिनियरिङ कलेजलाई विश्वविद्यालय बनाएर सञ्चालन गरिनुपर्नेमा जोड दिँदै त्यसका लागि आफ्नो तर्फबाट हरप्रयन्त गर्ने प्रतिबद्धतासमेत जनाए ।
चाँगुनारायण नगरपालिकाका मेयरसमेत रहेका शिक्षा, विज्ञान प्रविधि मन्त्रालयद्वारा गठित कलेज सञ्चालक समितिका अध्यक्ष कार्यक्रमका सभापति जीवन खत्रीले नेपाल इन्जिनियरिङ कलेज सामाजिक शैक्षिक संस्था रहेकोमा कसैको दुईमत नरहेको जनाउँदै कलेजलाई विश्वविद्यालय बनाउन, कलेजको शैक्षिक स्तर सुधार्न आफु प्रतिबद्ध रहेको जनाउँदै विभिन्न योजनाहरु बनाइरहेको बताए । कलेजका संस्थापकहरुको योगदानलाई कदर गर्दै कलेजभित्र भएका अफ्ट्याराहरुलाई चिरेर संस्थापक स्वर्गीय दीपक भट्टराईले लिएको संकल्प पुरा गर्नको निम्ति सबै एकबद्ध भएर अगाडी बढ्ने बताए ।
कलेजको विषयमा धेरै विषयहरु उठेको भएपनि कलेज दौडिन नसकेपनि उद्देश्य प्राप्तिमा अनवरत रुपमा लम्किइरहेको बताउँदै अध्यक्ष खत्रीले सबैले कलेज जोगाउन, मजबुत बनाउन आ–आफ्नो क्षेत्रबाट लाग्न आग्रह गरे । ‘कलेजलाई जोगाउने, मजवुत बनाउने सन्दर्भमा सबैले आआफ्नो स्थानबाट मम गरेर अगाडी बढौं । यो समस्याको पोकोहरुलाई समाधान गर्ने, कलेजलाई नयाँ उचाईमा पुर्याउने सन्दर्भमा म प्रतिबद्ध छु ।’ अध्यक्ष खत्रीले असल काम र सामाजिक कामका लागि व्यक्तिगत स्वार्थ त्यागेर काम गर्न आग्रह गरे ।
कलेजलाई अब्बल र सक्षम बनाउने सन्दर्भमा आफु सक्रियरुपमा लाग्ने प्रतिबद्धता जनाउँदै अध्यक्ष खत्रीले कलेजलाई आफ्नै कार्यकालमा उत्कृष्ठ प्राविधिक विश्वविद्यालय बनाउन सके आफ्नो लागि त्यो भन्दा ठूलो कार्य केही हुनै नसक्ने जिकीर गर्दै सबैले सकारात्मक सोच बनाएर अगाडी बढ्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल सरकारका सचिव मणिराम गेलाल, नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्रा.डा. पदम बहादुर शाही, कलेजका कार्यवाहक प्राचार्य दुर्गा प्रसाद भण्डारी, स्वतन्त्र कर्मचारी संगठनका अध्यक्ष मनोहर खनाल, प्रजातन्त्रवादी प्राध्यापक संगठनका अध्यक्ष दीपक धामी, कर्मचारी संगठनका अध्यक्ष श्रीराम खनाल, नेपाली कांग्रेस चाँगुनारायण नगर सभापति शिवहरी केसी, सञ्चालक समितिका सदस्यहरुले कलेजको स्थायित्व, शैक्षिक स्तरबृद्धि लगायतका विषयमा बोल्दै शुभकामना दिएका थिए ।
२९ औं वार्षिकोत्सवको अवसरमा कलेजमा २० औं वर्षदेखि कार्यरत प्राध्यापक तथा कर्मचारीहरुलाई सम्मान समेत गरिएको छ । सम्मानीत हुनेहरुमा कलेजका एशोसिएट प्रोफेसर दीपक धामी, कर्मचारीहरु नारायण पराजुली, शैसला जोशी, विष्णुबहादुर संग्रौला तथा प्रकाश कार्की रहेका छन् । उनीहरुलाई प्रमुख अतिथी, विशिष्ट अतिथि तथा सभापतिले दोसल्ला, प्रमाणपत्र र नगद पुरस्कारद्वारा सम्मान गरे ।
सन् १९९४ मा स्थापना भएकाे कलेजमा इन्जिनियरिङ विधाका स्नातक, स्नातकाेत्तर तहमा अध्ययन अध्यापन हुने गरेकाे छ ।
0 प्रतिकृया