‘नेपालको इतिहासमा पहिलो कूलंघार प्रधानमन्त्री हो प्रचण्ड’ सांसद सुनिल शर्मा
एक्सन खबर
काठमाडौं, ९ असोज । प्रतिनिधि सभामा प्रभावकारी भूमिका निर्वाह गर्दै चर्चामा आएका नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्माले प्रचण्डको सरकार धेरै दिन नटिक्ने दावी गरेका छन् । गठबन्धन प्रचण्ड सरकार तानाशाही भएको जिकीर गर्दै सांसद डाक्टर शर्माले आफ्नै पार्टी सरकारमा भएतापनि तानाशाही सरकारका विरुद्ध बोल्नु पर्ने समेत बताए ।
‘प्रचण्डजीहरुको तानाशाही सरकार हो । हामीले यो तानाशाही सरकारका विरुद्ध बोल्नुपर्छ, हाम्रो पार्टी सरकारमा भएपनि हाम्रो पार्टीका केही मान्छेहरु प्रचण्डजीहरुसँग लागेर अन्तराष्ट्रिय एयरपोर्ट क्याप्चर गरेर तस्करीमा सामेल छन् ।’ एक सञ्चार माध्यममा बोल्दै डा. शर्माले भनेका छन् ।
संसदमा प्रतनिधिध्व गर्ने ९५ प्रतिशत सांसदहरु भ्रष्टाचार विरुद्धका पक्षमा रहेको तर, बोल्न नसकेको बताउँदै मोरङ क्षेत्र नं. ३ का सांसद शर्माले आफुलाई कुनै लोभ लालच नभएकोले जनताका पक्षमा बोलेको बताए । ‘मलाई कुनै लोभ छैन, मेरो पुर्पुरोमा लेखिएको चिज न शेरबहादुर दाईले न प्रचण्डजीले मेट्न सक्नुहुन्छ । नलेखिएको चिज प्राप्त पनि हुँदैन । इश्वरीय शक्तिमा विश्वास गर्छु ।’ एयरपोर्टबाट क्विन्टल सुन तस्करी प्रकरण विरुद्ध प्रतिपक्षी दल भन्दा खरोरुपमा उत्रिएका डा. शर्माले जनताका पक्षमा इमान्दार ढंगले लाग्ने समेत बताए ।
संसदमा दर्ता भएको शिक्षा विधेयकका विरुद्ध सामुदायिक विद्यालयहरुका शिक्षक सडक आन्दोलनमा निस्कँदा शिक्षकहरुका मागमा समर्थन जनाएका उनले शिक्षकहरुका जायज मागलाई संवोधन गर्नुपर्ने बताए । प्रचण्ड सरकार देश र जनताप्रति जिम्मेवार नभएको भन्दै एयरपोर्ट कब्जा गरेर बस्ने तर, दुरदराजमा चक र डस्टर बोकेर पढाउने शिक्षकहरुको सामान्य मागहरु संवोधन नगरेर गैरजिम्मेवारीताको पराकास्टामा पुगेको सांसद शर्माले जिकीर गरे । प्रचण्ड नेपालकै इतिहासमा पहिलो कूलंघार प्रधानमन्त्री भएको ठहर डा. शर्माको छ । ‘नेपालको इतिहासमा पहिलो कूलंघार प्रधानमन्त्री हो प्रचण्ड । १७ हजार त डाटामा देखिएको हो । तर, लाखभन्दा बढी मान्छे मारिए । कयौं परिवारहरु सखाप भए ।’ प्रचण्ड सरकारमा रहँदा वा बाहिर रहँदा कुनै रचनात्मक काम नभएको उनको दावी छ । प्रचण्डको पालामा एक लाख बढी मान्छेको हत्या भएको, दशौं लाख घरबार बिहिन भएको, निहत्था मान्छे जलाइएको, बालबालिका र पत्रकारसमेत मारिएको भन्दै उनले नेपालकै इतिहासमा राणाकालदेखि अहिलेसम्म यतिधेरै मान्छेहरुको कत्लेआम हत्या नभएको आरोप लगाए ।
अहिले द्वन्द्वकालमा भएका जघन्य अपराधहरुलाई कानुन बनाएर ढाकछोप गर्न पाईंदैन भन्नेमा आफ्नो अडान रहेको भन्दै सांसद शर्माले कांग्रेसले जनताको रगतसँग सत्ता साट्नु नहुने बताए । राजतन्त्र प्रचण्ड एक्लैले नफालेको जिकीर गर्दै तत्कालिन अवस्थामा गिरिजाप्रसाद कोइराला नेतृत्वको नेपाली कांग्रेस र त्यसबेलाका दलहरुको समर्थन नगरेको भए माओवादीको बुलेटबाट मात्रै राजतन्त्र फ्याक्न संभव थिएन समेत भने । प्रचण्डले गरेको क्रान्ति निहित स्वार्थका लागि रहेछ भन्ने पछिल्लो समय उनको परिवारको विलासिताको जीवनले प्रष्ट हुँदै गएको सांसद शर्माको भनाई छ ।
द्वन्द्वकालिन घटनामा निहत्था मान्छे मारिएको घटनामा माफी दिन नहुने पक्षमा नेपाली कांग्रेसका ९५ प्रतिशत रहेको बताउँदै सांसद शर्माले प्रचण्डले कांग्रेसलाई उपयोग गरेर पटकपटक लात हालेको र अहिले पनि त्यही रणनीतिमा रहेको ठहर गर्दै प्रचण्ड अन्तराष्ट्रिय कानुन अनुसार अन्तराष्ट्रिय अपराधी भएको पनि बताए । ‘कांग्रेसलाई लटरपटर पारेर युद्धकालिन घटनाहरुलाई ढाकछोप पारेर आफु फुत्किने उपायमा उहाँ हुनुहुन्छ । उहाँलाई कुनै न कुनै दिन अन्तराष्ट्रिय एयरपोर्टमा आफु पक्राउ पर्छु भन्ने डर छ ।’ आफु मृत्युवरण गर्न तयार रहेको तर, नेपाली जनताको हित विपरितमा हस्ताक्षर गर्न तयार नरहेको उनको भनाई छ ।
0 प्रतिकृया