एसियाडः टी-२० आईमा नेपालकाे किर्तिमानी जीत
एक्सन खबर
काठमाडौं, १० असोज । १९औं एसियाली खेलकुदमा पदककाे दावेदार नेपालले किर्तिमानी जीत दर्ता गरेकाे छ । चीनमा जारी एसियाली खेलकुदमा नेपालले नवप्रवेशी मंगोलियामाथि जित दर्ता गर्दा कीर्तिमान नै कीर्तिमान बनायाे ।
प्रतियाेगितामा नेपालले मंगाेलियामाथि सर्वाधिक रनरेट बनाउँदै जीत हासिल गरेकाे छ । खेलमा नेपालले ३१४ काे स्काेर खडा गर्दा मंगाेलियालाई १३.१ ओभरमा ४१ रनमा अलआउट गर्यो ।
चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा टस हारेर नेपालले पहिले ब्याटिङ गरेको थियो । २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाएको थियाे ।
नेपालले टी-२० आई क्रिकेटमा एकै खेलमा १० वटा दुर्लभ विश्व रेकर्ड समेत बनाउन सफल भएकाे छ । नेपालले २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाउँदा टी-२० आईमा अहिलेसम्मकै ठूलो स्कोर खडा गर्याे । २३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८/३ बनाएको थियो भने ३० अगष्ट २०१९ मा चेक रिपब्लिकले टर्कीविरुद्ध २७८/४ स्काेरलाइ नेपालले पछि पारेकाे छ ।
यस्तै, नेपालले सर्वाधिक रन रेटको रेकर्ड पनि बनाएको छ । मंगोलियाविरूद्ध ३१४ रन बनाएको नेपालको रन रेट १५.७ रहँदा २३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८/३ बनाउने क्रममा कायम गरेकाे १३.९ को रन रेट भंग गरिदियाे ।
यस्तै, प्रतियाेगितामा नेपालले सर्वाधिक छक्का प्रहार गर्याे । नेपाली ब्याट्सम्यानहरुले खेलमा २६ छक्का हान्दै नयाँ किर्तिमान कायम गरे । ३० अगष्ट २०१९ मा टर्कीविरुद्ध २७८ रन बनाउने क्रममा चेक रिपब्लिकका ब्याट्सम्यानले २२ छक्का हानेर किर्तिमान बनाएका थिए ।
मंगोलियाविरुद्धकाे खेलमा कुशल मल्लले विश्व कीर्तिमान बनाए । उनले ३४ बलमा शतक प्रहार गर्दै विश्व किर्तिमान कायम गरे । यसअघि दक्षिण अफ्रिकाका डेभिड मिलरको नाममा रहेकाे विश्व किर्तिमान कुशलले ताेडे मिलरले २९ अक्टोबर २०१७ मा बंगलादेशविरुद्ध ३५ बलमा १०० रन बनाएका थिए । उनी १३७ रनमा अविजित रहँदा टी-२० आईमा एकै इनिङमा सर्वाधिक रन बनाउने क्रिकेटरको सूचीमा पाँचौं नम्बरमा परे ।
यस्तै, दीपेन्द्रसिंह ऐरीले पनि विश्व कीर्तिमान बनाए । उनी ९ बलमा अर्धशतक बनाउँदै टी-२० आईमा सबभन्दा कम बलमा ५० रन बनाउने व्याट्सम्यान बने । यसअघि यो रेकर्ड भारतका युवराज सिंहको नाममा थियो । साथै, प्रतियाेगितामा उनले अर्काे रेकर्ड पनि दर्ज गराए । बुधबार ऐरीको नाममा हाइएस्ट स्ट्राइक रेट दर्ज भएकाे छ । मात्र १० बलमा अविजित ५२ रन बनाएका उनको स्ट्राइक रेट ५२०.०० बनेकाे छ ।
यस्तै, नेपालले मंगोलियालाई २७३ रनले हराउँदा टी-२० आईमा सबैभन्दा ठूलो अन्तरको जित दर्ता भएकाे छ । यसअघि ३० अगष्ट २०१९ मा चेक रिपब्लिकले टर्कीलाई २५७ रनको अन्तरले हराएको थियो ।
नेपाल टि२० आई डेथ ओभरमा एकै खेलमा सर्वाधिक रन बनाउने टोली बनेको छ । डेथ ओभर अर्थात अन्तिम ५ ओभरमा नेपालले कुल ८९ रन बनाएको थियो । भने, अन्तिम १० ओभरमा सर्वाधिक रन बनाउने कीर्तिमान पनि नेपालले बनाएको छ । नेपालले अन्तिम १० ओभरमा १ सय ९२ रन बनाएको थियो ।
कुशल मल्ल र रोहितले तेस्रो विकेटका लागि १ सय ९३ रनको साझेदारी गर्दै अर्काे रेकर्ड कायम गरे । टि २० आईमा कुनैपनि जोडीले तेस्रो विकेटका लागि गरेको याे उच्च साझेदारी हो । बलिङमा नेपालका करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछानेले २-२ विकेट लिए । करणले २ ओभरमा १ मेडन राख्दा १ रन र अभिनाशले २ ओभरमा १ मेडन राख्दा २ रन मात्र दिए । सन्दीपले पनि २ ओभरमा १ मेडन राख्दै ७ रन खर्चिए । सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट हात पारे ।
नेपालले अब आफ्नो समूह चरणको अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ । आइसिसी टि २० विश्वकप एसिया रिजनल क्वालिफायर ए जुधेको कारण माल्दिभ्सले एसियाडमा दोस्रो रोजाईको टोली पठाएको छ । क्वाटरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान मध्ये एक टोलीसँग खेल्नुपर्ने हुन्छ । नेपाल एसियाड क्रिकेटमा पदकको प्रवल दाबेदार टोली हाे ।
0 प्रतिकृया