एमाले काेशी प्रदेश अधिवेशन ‘नेतृत्वकाे इशारा बुझेर प्रतिष्पर्धा गर्नुस्’ केपी शर्मा ओली
एक्सन खबर
विराटनगर, १२ असोज । समृद्ध नेपाल निर्माण गर्ने बाटोमा हिडिँरहेको एमालेविरुद्ध विभिन्न तरिकाले घेराबन्दी गर्ने कार्य भइरहेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले अहिलेको आवश्यक्ता एकता भएकाे बताएका छन् । नेकपा (एमाले) काेशी प्रदेशकाे प्रथम अधिवेशनकाे उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध विभिन्न तरिकाले घेराबन्दी भइरहेको भन्दै पार्टीमा गुट उपगुट भन्दा पनि एकता कायम गरिनुपर्ने बताएका हुन् ।
विराटनगरमा सुरू भएकाे अधिवेशनमा बाेल्दै ओलीले नेतृत्वकाे मुल्यांकन र इशारा अनुसार चल्न पार्टीका नेता कार्यकर्तालाइ निर्देशन दिँदै भने,‘नेतृत्वको मूल्याकंन के छ त्यसको इशारा बुझेर नेतृत्व छान्नुहाेस्, त्यसाे गर्न सक्नुहुन्न भने स्वस्थ हिसाबले प्रतिस्पर्धा गर्नुहाेस् ।’
एमाले विरूद्ध चाैतर्फी घेरावन्दी भइरहेकाे अवस्थामा एकताबझ भएर अगाडी बढ्नुपर्ने बताउँदै ओलीले चुनावबाट नेतृत्व चयन भए पनि पार्टी एकतावद्ध भएर जानु पर्नेमा जाेड दिए । ‘एकतावद्ध हुनका लागि यस्ता अधिवेशनमा सर्वसम्मति भएर पनि जानसक्छ, त्यो झन राम्रो हो, झन लोकतान्त्रिक कुरा हो, यदि सर्वसम्मति भएन भने बिना वैमनस्यता, बिना कुइनो ठोकाठोक, एक अर्कालाई अल्झाउने कुरा छाडेर स्वस्थ प्रतिस्पर्धा गर्नुहोस् ।’ ओलीले भने ।
यस्तै, अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डकाे विदेश भ्रमण विना कामकाे खर्च बढाउने मात्र भएकाे बताए । ‘प्रधानमन्त्री विदेश गएर केही गरेनन्, राज्यकाे खर्च मात्र गरे । अहिलेको सरकारले जनताको आँसु निकालिएको छ । जनता उकुसमुकुसमा छन्, सरकार चुप छ ।’
गठबन्धन दलको समर्थनमा बनेको सरकार अपराधी र तस्करलाई संरक्षण गर्ने सरकार भएको बर्तमान सरकार गठन हुनु दुर्भाग्य भएकाे बताए । सरकारमा जाने एमालेको चाहना नभएको र अहिलेको सरकारको उपयुक्त विकल्प पनि नदेखिएको ओलीले बताए । ‘देशका प्रमुख पार्टी जिम्मेवार हुँदा अहिलेको सरकारको विकल्प हुन्थ्याे तर त्यो तहमा सोच्ने क्षमता कांग्रेसमा नदेखिएकोले मिसन २०८४ मा लागेको छु,’ उनले भने ।
एमाले र कांग्रेसको सरकार निर्माणका लागि सोच्ने तहमा कांग्रेस नभएको बताउँदै ओलीले कांग्रेससँग मिलेर सरकार बनाउने र नबनाउने कुरा नै नहुने जिकीर गरे । प्रदेशकाे अधिवेशन दुई दिनसम्म चल्ने छ । अधिवेशनमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरू, जनगर्गीय संगठनसहित १०४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी छन् ।
0 प्रतिकृया