Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


कार्यस्थलको सुरक्षाको सहमतिको मसी नसुक्दै कुटिए डाक्टर

एक्सन खबर
असोज, १४, २०८०


कार्यस्थलको सुरक्षाको सहमतिको मसी नसुक्दै कुटिए डाक्टर

काठमाडौं, १४ असोज । सरकारले नेपाल चिकित्सक संघ र आवासिय चिकित्सकहरुसँग कार्यस्थल सुरक्षाको सहमति गरेको २४ घण्टा नपुग्दै काठमाडौं मेडिकल कलेजका डाक्टरमाथि कुटपिट भएको छ ।

हिजाे मात्रै सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति भएसँगै डाक्टरहरु काममा फर्कीएका थिए । सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनमा रहेको ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’सँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्ताबाट ६ बुँदे सहमतिसँगै उनीहरु काममा फर्किएका थिए ।

उक्त सहमतिकाे मसी नसुक्दै डाक्टरमाथि कुटपिट भएपछि सरकार डाक्टरहरूकाे सुरक्षाप्रति संवेदनशील नदेखिएकाे एक चिकित्सकले बताए । हिजो मात्रै सरकारले स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी माथि सुरक्षा प्रदान गर्न सहमति गरिएपनि केएमसीका चिकित्सक माथि आक्रमण भएको हो । कलेजको नेफ्रोलोजी विभागमा उपचारका लागि ल्याएको बिरामीका आफन्तले त्यहाँ कार्यरत इन्र्टन डाक्टर मनिष खड्कामाथि कुटपिट गरेका हुन् ।



‘नेफ्रोलोजी विभागमा बिरामीहरुको भिडभाड थियो, हामीले बिरामीलाई पालैपालो ल्याउन आग्रह गरिरहेका थियौं । डा. मनिष खड्काले भिडभाड नगरी पालैपालो आउनु आग्रह गरिरहनु भएको थियो । त्यहिक्रममा एक जना बिरामीको नाम लिएर बाहिर बोलाउन जाँदा ३,४ जनाले हेलमेट समेतले कुटपिट गरे ।’ घटनाका प्रत्यक्षदर्शी डा. संजीव यादवले भने ।

प्रहरीले कुटपिटमा संलग्न २ जनालाई पक्राउ गरेपछि चिकित्सकहरुले कार्यस्थलको सुरक्षा तथा डाक्टरमाथि कुटपिटमा संलग्नलाई कडा कारवाहीको माग गरेका छन् । अस्पतालका चिकित्सकहरुले आन्दोलन गर्दै दोषीमाथि कडा कारवाहीको माग गर्दै अस्पताल परिसरमा प्रदर्शन र नाराबाजी गरे । इमरजेन्सी सेवा वाहेक अन्यत्रका चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि अस्पतालको स्वास्थ्य सेवा प्रभावित भयो । डाक्टरहरुले घटनामा संलग्नलाई पक्राउ गरेपनि प्रहरी सुरक्षाकर्मीले नै एक पल्टलाई छोडदिउँ भन्दै पक्राउ गरेकालाई छोडिदिएको बताएका छन् ।

यसअघि पोखराको मणिपाल कलेज, हेटौडाको सञ्चो अस्पताल, लमजुङको जिल्ला अस्पताल तथा चितवनको माडी अस्पतालमा चिकित्सकमाथि आक्रमण भएको थियो ।

हेर्नुहोस फोटो फिचर


















0 प्रतिकृया