जापानको कोबे विश्वविद्यालयका प्रोफेसरद्वारा नेकको भ्रमण अवलोकन
एक्सन खबर
काठमाडौं, १४ असोज । नेपाल इन्जिनियरिङ कलेज (नेक)मा जापानको कोबे विश्वविद्यालयका प्राध्यापकहरुले भ्रमण तथा अवलोकन गरेका छन् । आइतबार चाँगुनारायणस्थित कलेजमा कोबे विश्वविद्यालयका आर्किटेक्चर विभाग, ग्रेजुएट स्कूल अफ इन्जिनियरिङका प्राध्यापक योची मुकाई, सहायक प्राध्यापक नभेशिमा कुनिहिको र विद्यार्थी काम्बे गनले भ्रमण गरे ।
भ्रमणको क्रममा उनीहरूले आर्किटेक्ट विभाग र सिभिल इन्जिनियरिङ विभागसँग शैक्षिक विषयमा छलफल गर्दै आउँदा दिनहरुमा सहकार्य गर्ने बताएका छन् । नेक र कोबे विश्वविद्यालयविच भविष्यमा संयुक्त अनुसन्धान परियोजनाहरू र विद्यार्थी आदानप्रदान कार्यक्रमहरूको लागि संभाव्यता अवसरका बारेमा छलफल भएको कलेजका मिडिया रिलेसन अफिसर सुनिल ख्याजूले जानकारी दिए ।
प्रोफेसर मुकाई कलेजका पीएचडी स्कलर एसोसिएट प्रोफेसर रामप्रसाद सुवालका अनुसन्धान प्रोफेसर हुन् । सुवालले नेक र कोबे विश्वविदालय विच शिक्षकहरु विच आपसी सहकार्य भइरहेको तथा निकट भविष्यमा विद्यार्थीहरु आदान प्रदान गर्ने, सोध अनुसन्धानहरुमा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको जानकारी दिए । नेपालको सांस्कृतिक सहर र गाउँहरुको अध्ययन अवलोकन गर्न आएका कोबे विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरुले नेकको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर देखेर नै सहकार्यको प्रस्ताव गरेका हुन् ।
कोबे विश्वविद्यालय जापानको पुरानो प्रतिष्ठित विश्वविद्यालय हो । सन् १९०२ मा कोबे हाइयर कमर्सियल स्कुलका रुपमा स्थापना भएको यस विश्वविद्यालयले युरोपका ३२ देशका १४४ विश्वविद्यालय, एसियाका १७ देशका १७० विश्वविद्यालयसँगै, दक्षिण अमेरिका, अफ्रिका, ओसियाना, मध्यपूर्व लगायतका विश्वविद्यालयहरुसँग सहकार्य रहेको छ ।
0 प्रतिकृया