इन्जिनियरिङ अध्ययन संस्थानकाे प्रवेश परीक्षा स्थगित
एक्सन खबर
काठमाडौं, १७ असोज । इन्जिनियरिङ अध्ययन संस्थानले भर्नाका लागि लिने प्रवेश परीक्षा स्थगित गरिएकाे छ । डीन कार्यालयका शाखा अधिकृत निरजकुमार वैद्यले अर्को सूचना नआएसम्म परीक्षा स्थगित भएको सूचना सार्वजनिक गरेका हुन् ।
सूचनामा प्रवेश परीक्षा बोर्ड पदाधिकारीहरुले संयुक्त राजीनामा दिएको कारण इन्जिनियरिङ अध्ययन संस्थान डीन कार्यालयको १६ गतेको निर्णय अनुसार अर्को सूचना प्रकाशित नभएसम्म प्रवेश परीक्षा स्थगन गरेको भनिएकाे छ । प्रवेश परीक्षाका नयाँ कार्यक्रम सम्बन्धी सूचनाहरु प्रवेश परीक्षा बोर्डको वेबसाइटमार्फत जानकारी गराउने उल्लेख गरिएकाे छ ।
संस्थानका प्रवेश परीक्षा बोर्डका अध्यक्ष, सदस्य तथा सल्लाहकारहरुले संयुक्त राजीनामा बुझाएसँगै असोज २२ गते देखि तोकिएको प्रवेश परीक्षा स्थगित भएकाे हाे । बोर्डका पदाधिकारीले मंगलबार डिन कार्यालयले पठाएको पत्र अनुसार असोज १७, १८ र १९ गते फारम लिएर २२ गते परीक्षा सञ्चालन गर्न नसकिने भन्दै मंगलबार राजीनामा बुझाएका थिए ।
सोमबार संस्थानका डिन प्रा.डा.शशीधर राम जोशीले इन्जिनियरिङको स्नातक तहको शिक्षण शुल्क पुरानै तीन लाख १८ हजारमा भर्ना लिने र भर्ना प्रवेश परीक्षाको लागि १७, १८ र १९ समय दिएको भन्दै सूचना जारी गरेका थिए ।
उक्त मितिमा प्रवेश परीक्षा लिन नसकिने भन्दै बोर्डका अध्यक्ष प्रा.डा.शुशीलबहादुर बज्राचार्य, सदस्यहरु सहप्राध्यापक डा. सञ्जीवप्रसाद पाण्डे, उपप्राध्यापक किरणचन्द्र दाहाल, सदस्य सचिव विदुर ढकाल र सल्लाहरकाहरु सहप्राध्यापक डा. सुरज लामिछाने (परीक्षा शाखाका सहायक डीन) प्रा.डा.हिक्मतराज जोशीले राजीनामा दिएका थिए ।
संस्थानले इन्जिनियरिङको स्नातक तहको पूर्ण शुल्कतर्फको शुल्क ७ लाख ७५ हजार बनाउने निर्णय गरेपछि विद्यार्थी संगठनहरूले आन्दोलन गरेकाेमा त्रिभुवन विश्वविद्यालय र विद्यार्थी संगठनहरुसहितको वार्ताले शुल्कवृद्धि फिर्ता लिने र शुल्क निर्धारणलाई समिति बनाउने निर्णय गरेको थियो ।
0 प्रतिकृया