जातिय, सामाजिक सद्भाव कायम गर्न बसरुद्धिन अन्सारीको अपिल
एक्सन खबर
काठमाडौं, १९ असोेज । विगत केही दिन यता सामाजिक सद्भाब, धार्मिक सहिष्णुता खल्बल्याउँदै नेपाली समाजलाई विखण्डन गर्ने सड्यन्त्र भइरहेकोमा त्यस्ता सड्यन्त्रमा नपरी आपसी सद्भाव, भाइचारा र सहिष्णुता कायम गर्न समाजसेवी, सफल व्यवसायी बसरुद्धिन अन्सारीले बताएका छन् ।
धार्मिक, सांस्कृतिक, भौगोलिक विविधतामा नेपाल र नेपालीको जस्तो सामाजिक सद्भाव र एकता भएको मुलुक संसारमा कतै नभएको जनाउँदै अन्सारीले नेपालगञ्ज लगायत देशका विभिन्न स्थानहरुमा जातिय सद्भाव भड्काउने गतिविधि हुनुमा विदेशी तत्वहरुको हात रहेको जिकीर गरेका छन् ।
एक भिडियो सार्वजनिक गर्दै मेडिकल व्यवसायी समेत रहेका अन्सारीले नेपालीले कहिल्लै जातिय, धार्मिक सद्भाव खल्बल्याउने कार्य गर्दै नगरेको बताएका छन् । ‘कुनैपनि नेपालीले जातिय सद्भाव भड्काउने, धार्मिक सद्भाव विगार्ने कार्य गर्नै सक्दैनन् । यसमा विदेशी तत्व जो नेपाललाई खुसी र सुखी देख्न सक्दैन उसको हात छ । यस्ता तत्वका सड्यन्त्र असफल पार्न सबै नेपाली समुदाय एक हुनुपर्छ ।’ सामाजिक सद्भाव नखल्बल्याउन अपिल गर्दै अन्सारीले भनेका छन् ।
नेपाल संभावना नै संभावना भएको देश भएको उल्लेख गर्दै व्यवसायी अन्सारीले कृषि, जलश्रोत, पर्यटन, जडिवुटी जस्ता क्षेत्रको विकास गर्दै मुलुकलाई समृद्ध बनाउने दिशामा सबैजना लाग्नु पर्ने बताएका छन् । लामो सशस्त्र द्वन्द्वबाट गुज्रिइसकेको नेपाललाई विकासको पथमा लम्काउन सबैले आ आफ्ना क्षेत्रबाट योगदान पुर्याउनु पर्नेमा जोड दिँदै अन्सारीले भनेका छन्,‘भर्खरै लामो द्वन्द्वबाट उठेका छौं, कोरोनाको मारबाट उठेका छौं, अब आर्थिक सुधार कसरी गर्ने, हाम्रा सन्ततीहरुको लागि केही गरौं । आर्थिक उन्नती, आर्थिक क्रान्ति, कृषि उन्नतीमा लागौं ।’
सामाजिक सद्भाव विगारेर कसैलाई फाइदा नहुने बताउँदै अन्सारीले सबै जाति, भाषाभाषि एकजुट भएर भाईचाराको नारा दिएर अगाडी बढ्न अनुरोध गर्दै विगतका द्वन्द्व र आन्दोलनबाट धेरै नेपालीहरु विस्थापित भएको स्मरण गर्दै अब समृद्धी र विकासको मार्गमा अग्रसर हुनुपर्ने जनाए । नेपाललाई अगाडी बढ्न नदिने तत्वहरुलाई खबरदारी गर्दै अन्सारीले आफ्नो जन्मभूमी नेपालको लागि, सामाजिक एकता र भाईचाराको निम्ति सबैले शान्ति, समृद्धि र विकासको नारा अगाडी सार्नुपर्ने पनि बताएका छन् । ‘संभावना नै संभावना बोकेको देशलाई कसरी अगाडी बढाउने भन्ने विषयमा सबै लागौं, जातिय सद्भाव, सामाजिक एकता विथोल्ने विरुद्ध एकबद्ध भएर लागौं । देश विकास गर्न लागौं ।’ अन्सारीले भनेका छन् ।
पछिल्लो केही दिन यता नेपालगञ्ज अशान्त छ । सामाजिक सञ्जालको भ्रमका कारण विथोलिएको सामाजिक सद्भावले त्यहाँका नागरिक त्रासमा बसेका छन् । सरकारले हिँसा भड्किन नदिन पटकपटक कर्फ्यू जारी गरेको छ । नागरिक अगुवा, राजनीतिक अगुवाहरुले जातिय, धार्मिक सद्भावको आब्हान गरेपनि असफल भइरहेको छ ।
हेर्नुहोस भिडियो
0 प्रतिकृया