विश्वासकाे मत लिँदै कोशीका मुख्यमन्त्री कार्की
एक्सन खबर
विराटनगर, २० असाेज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । प्रदेश सभामा ठूलो दलको हैसियतमा २२ भदौमा मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता कार्कीले आज विश्वासकाे मत लिने कार्यसूची छ ।
शनिबार विश्वासको मत लिने भएपनि शुक्रबार रातिसम्म उनको सरकार रहने नरहने निश्चित भइसकेकाे थिएन । आज कार्कीले विश्वासको मत नपाए प्रदेश प्रमुख परशुराम खापुङले संविधान धारा १६८ को उपधारा ५ अनुसार बहुमत पुर्याउने सांसदलाई सरकार गठनका लागि आह्वान गर्नेछन् ।
संविधानको धारा १६८(३) अनुसार प्रदेश सभामा सबैभन्दा ठुलो दलको हैसियतले कोशीमा नेकपा एमाले संसदीय दलको नेता कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो । यसरी गठन भएको सरकारले संविधानको १६८(४) बमोजिम ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने व्यवस्था छ । साेहि अनुरूप उनले विश्वासकाे मत लिन लागेका हुन् ।
विपक्षी गठबन्धनमा रहेका दलहरू कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीले कार्कीको सरकारलाई विश्वासको मत नदिने घोषणा गरिसकेका छन् । कार्कीको विपक्षमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाको ४७ मत छ । राप्रपाले कुनै निर्णय गरिसकेकाे छैन ।
कोशीमा हाल एमालेका ४० (उपसभामुखसहित), कांग्रेस २९, माओवादी १३, राप्रपा ६, एकीकृत समाजवादी चार र जनता समाजवादीका एक सांसद छन् । कोशी प्रदेशमा ठुलो दल नेकपा एमालेसँग ४० सांसद सङ्ख्या छ भने विपक्षी गठबन्धनसँग सरकार गठन गर्न आवश्यक ४७ मत छ । प्रदेश सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
गठबन्धनबाट नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा र इतर समूहका नेता केदार कार्की मुख्यमन्त्रीकाे दाबेदार हुन् । गत शुक्रबारको संसदीय दलको बैठकमा कार्कीले नेतृत्वमा दाबी प्रस्तुत गरेका थिए । नेकपा माओवादी केन्द्रले आफ्नो दलको नेता इन्द्रबहादुर आङ्बोलाई अघि सारेको छ । नेकपा एकीकृत समाजवादी पार्टी आङ्बोलाई मुख्यमन्त्री बनाउन सकारात्मक छ ।
0 प्रतिकृया