इजरायलमा मृत्यु हुनेका परिवारलाई १० लाख, भाेली राष्ट्रिय शाेक
एक्सन खबर
काठमाडाैं, २२ असाेज । सरकारले इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएकाहरूकाे परिवारलाई १० लाख का दरले राहत रूपैंया दिने निर्णय गरेकाे छ । साथै भाेली मंगलबार राष्ट्रिय शाेक घाेषणा गरेकाे छ ।
सोमबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले मृतककाे परिवारलाई १० लाख दिने तथा मंगलबार शोक बिदा दिने निर्णय गरेको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए । यस्तै, मन्त्रिपरिषद्ले इजरायलमा रहेका नेपालीहरूलाई सरकारले स्वदेश ल्याउने पनि निर्णय गरेकाे छ । ‘स्वदेश आउन चाहने सबैलाई उद्धार गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ,’ गृहमन्त्री श्रेष्ठले भने ।
प्रधानमन्त्री प्रचण्डले ५ बजे सर्वदलीय बैठक बाेलाएका छन् । सुदुरपश्चिम विश्वविद्यालयबाट कृषि शिक्षा अध्ययनका लागि पुगेका ३९ विद्यार्थी मध्ये केही विद्यार्थीहरू बंकरमा बसेर ज्यान जाेगाइरहेकाेमा एक भिडियाे सन्देश मार्फत उद्दारकाे अपिल गरेका छन् ।
आक्रमणमा परि मृत्यु हुनेमा नारायणप्रसाद न्यौपाने कैलाली, गणेशकुमार नेपाली बझाङ, आषिश चौधरी, कैलाली, दिपेशराज बष्ट, दार्चुला, आनन्द शाह धनुषा, राजेशकुमार स्वर्णकार सुनसरी, राजन फूलारा डोटी, पदम थापा डोटी, प्रवेश भण्डारी सल्याण र लोकेन्द्र सिंह धामी दार्चूला रहेका छन् । सो घटनामा अन्य ७ जना घाइते रहेको बताइएको छ । फाेटाे फायलः
0 प्रतिकृया