इजरायलमा रहेका नेपालीकाे उद्धारमा गम्भिर हुन सरकारलाई सुझाव
एक्सन खबर
काठमाडौं, २२ असोज । इजरायलमा रहेका नेपालीलाई सुरक्षित स्थलमा लैजाने गरी उद्धारमा गम्भीर भएर लाग्न सुझाव दिइएकाे छ । राजनीतिक दलहरुले सरकारलाई स्वदेश फर्किन चाहनेहरुलाई तुरुन्तै जहाज पठाएर नेपाल ल्याउने प्रबन्ध गर्न माग गरेका छन् ।
सरकारले सोमबार आयोजना गरेको सर्वदलीय बैठकमा मन्त्रिपरिषदबाट भएका निर्णय र सरकारी प्रयासहरुबारे जानकारी गराएपछि दलहरूले इजरायलको युद्धमा फसेका नागरिकलाई उद्धारमा ढिलाइ गर्न नहुने बताएका हुन् ।
नेकपा माओवादीका संसदीय दलका मुख्य सचेतक हितराज पाण्डेले बैठकमा दलका नेताहरुले सरकारलाई निर्णयहरुलाई छिटो कार्यान्वयनमा लैजान आग्रह गरेको बताए । ‘सर्वदलीय बैठकमा नेताहरुले आधिकारिक ठाउँबाट सही सूचना सम्प्रेषण गर्न, इजरायली सरकारसँग कुटनीतिक पहल गर्न अनुरोध गर्नुभयो,’ प्रमुख सचेतक पाण्डेले राष्ट्रिय पीडाको अवस्थामा जताततै त्रासको अवस्था रहेको भन्दै अब अगाडि कसरी बढ्ने भन्नेबारे छलफल भएको जनाए ।
बैठकमा जोखिममा रहेका नेपालीलाई सुरक्षित स्थानमा राख्न पहल कदमी लिन सरकारलाई अनुरोध भएको, मृत्युवरण गरेकाहहरुको शव यथाशक्य छिटो नेपाल झिकाएर परिवारजनलाई बुझाउन र इजरायलमा हुनसक्ने थप घटनालाई ध्यानमा राखेर इजरायली सरकारसँग कुटनीतिक पहलमार्फत सुरक्षाका विषय सुनिश्चित गर्न सरकारलाई सुझाव दिइएको छ ।
यस्तै बैठकले फर्किन चाहने नेपालीकाे नामावली छिटो संकलन गरेर फर्काउनुपर्ने बताएकाे छ । यसअघि बसेकाे मन्त्रिपरिषद् बैठकले आक्रमणमा परी निधन भएका व्यक्तिको परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । साथै, इजरायलमा रहेका नेपालीहरू फर्कन चाहे विमान चार्टर गरेर फर्काउने लगायत निर्णय गरेकाे छ ।
0 प्रतिकृया