Follow us:


Follow us

६ जेठ २०८३, बुधवार
६ जेठ २०८३, बुधवार


मधेशको विकासका लागि एमालेको बहुमतको सरकार आवश्यकः केपी शर्मा ओली

एक्सन खबर
असोज, २५, २०८०


मधेशको विकासका लागि एमालेको बहुमतको सरकार आवश्यकः केपी शर्मा ओली

जनकपुरधाम, २४ असाेज । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारलाई जनताप्रति जवाफदेही हुन आग्रह गरेका छन् । नेकपा (एमाले) मधेश प्रदेशको जनकपुरधाममा सुरु भएको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले जनता महङ्गीको मार परिरहेका र सरकार जनताप्रति जवाफदेही नभएको बताए ।

हमासको आक्रमण क्षेत्रमा फसेका नेपाली विद्यार्थीसहित इजरायलमा रहेका सबै नागरिकको उद्धार गरी राहत सुविधा उपलब्ध गराउन सरकारलाई आग्रह पनि अध्यक्ष ओलीले गरे । नेकपा (एमाले) देश विकासको अभियन्ता भएको र मधेशको विकासका लागि पनि एमालेको पूर्ण बहुमतको सरकार आवश्यक रहेका बताउँदै अध्यक्ष ओलीले त्यसका लागि एमालेले मिसन–८४ अभियान अगाडि सारेर काम गरिरहेको स्पष्ट गरे ।

उनले २०८४ सालको तीनै तहका निर्वाचनमा एमालेले एकल बहुमत ल्याउनुपर्ने भन्दै हरेक वडामा समेत ५१ प्रतिशत हुने गरी विजयका लागि अभियानमा लाग्न नेताकार्यकर्तालाई निर्देशन दिए । मधेश प्रदेशमा आगामी निर्वाचनमा एमालेलाई कम्तीमा ६० सिट आउने गरी काम गर्न निर्देशन दिए ।

आफ्नो नेतृत्वको सरकारको गरेका कामबाट अत्तालिएका विरोधीहरूले विभिन्न खालका षडयन्त्र गरे पनि एमाले पहिलो शक्तिको रूपमा रहेको बताउँदै कार्यकर्ताहरूलाई आन्तरिक एकताका साथै विरोधीसँग दृढतापूर्वक मुकाविला गरी अगाडि बढ्न आग्रह गरे । ‘एमालेले गरेकाे विकासबाट विराेधीहरू अत्तालिएका छन् । एमालेलाई  सिध्याउन अनेकन सड्यन्त्रहरू गरिरहेका छन् । त्यस्ता सड्यन्त्रहरूकाे मुकाविला गर्नुहाेस् ।’ उनले भने ।

उद्घाटन समारोहमा काेल्दै बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाललाई उठाउनका लागि मधेशलाई उठाउन जरूरी रहेको भन्दै त्यसका लागि एमालेको सरकार आवश्यक भएको बताए । नेकपा (एमाले)को बहुमत नभएको खण्डमा देशमा राजनीतिक स्थायित्व कायम नहुने भन्दै आगामी निर्वाचनमा एमालेलाई बहुमत दिलाउनु पर्ने उनकाे जाेड थियाे ।

महासचिव शंकर पोखरेलले देशको विकासका लागि भिजन प्रस्तुत गर्ने पार्टी एमाले मात्र भएको जिकिर गर्दै एमाले नेतृत्वको सरकारका लागि मधेश प्रदेशले निर्णायक र हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । मुलुकमा सिर्जना भएको राजनीतिक अस्थिरता र सामाजिक अराजकताबाट मुक्तिका लागि एमाले नै एक विकल्प भएको उनको भनाइ छ ।

कार्यक्रममा पार्टीका सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ, पार्टीका पोलिटव्यूरो सदस्यद्वय लिलानाथ श्रेष्ठ र जुली कुमारी महतो लगायत नेताहरूले अधिवेशनकाे सफलताकाे शुभकामना दिए ।















0 प्रतिकृया