राहुल महरालाई थुनामा पठाउन अदालतकाे आदेश
एक्सन खबर
काठमाडौं, २६ असाेज । भेप प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छाेरा राहुल महरालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । शुक्रबार काठमाडौँ जिल्ला अदालतले महरालाई थुनामा पठाउन आदेश दिएको हो ।
महराका छोरा ‘राहुल’ भन्ने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दण्डपाणी शर्माको इजलासले मुद्दाको पुर्पक्षका लागि राहुललाई थुनामा राख्न आदेश दिएको हो ।
राहुलसँगै मुद्दा चलाइएका लोकेन्द्र पौडेलसँग भने ५ लाख रुपैयाँ धरौटी माग गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानका आधारमा काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगपत्रमा राहुलविरुद्ध आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराधसम्बन्धी अभियोग किटान गरिएको छ ।
मुद्दामा सर्लाहीको राजघाट घर भई काठमाडौँको सीतापाइला बस्ने लोकेन्द्रकुमार पौडेल, तिब्बती मूलका बेल्जियन नागरिक दाबा छिरिङ र काठमाडौँकै बौद्ध बस्ने निमा गुरुङलाई पनि अभियुक्त बनाइएको छ । यीमध्ये पौडेललाई राहुलसँगै पक्राउ गरी अदालतमा पेस गरिएको छ । छिरिङ यसअघिकै सुन तस्करीसम्बन्धी मुद्दाको पुर्पक्षका क्रममा थुनामा छन् भने गुरुङ फरार छन् ।
गत वर्ष पुस १० गते दुबईबाट आएको जहाजमा विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको प्रकरणमा राहुल तानिएका हुन् । ८ करोड ५५ लाख २८ हजार रुपैयाँबरारको सुन तस्करीमा उनले सरकारी निकायहरूलाई प्रभावमा पारेको देखिएको छ । सुन चिनियाँ नागरिकले ७३ बट्टामा ७३० वटा विद्युतीय चुरोटमा लुकाएर ल्याएका थिए ।
नेपाल आइसकेपछि भन्सारबाट छुटाउन राहुलले भूमिका खेलेका थिए । राहुलसँगै उनका बुवा कृष्णबहादुर महराले पनि धेरैपटक भन्सार अधिकारीहरूलाई फोन गरेको पाइएको थियो ।
0 प्रतिकृया