नेपाली सेनामा गरिने राजनीतिक चलखेल अस्वीकार्य : शेखर कोइराला
एक्सन खबर
काठमाडौं, २८ असोज । नेपाली सेनामा राजनीतिक चलखेल भएको भन्दै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नियमकाे दुरूपयाेग गर्ने कार्य स्वीकार्य नहुने बताएका छन् । सहायक रथी यमबहादुर अधिकारीको पदावधि थप्ने निर्णयप्रति शङ्का व्यक्त गर्दै नेता कोइरालाले पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नहुने बताएका हुन् ।
उनले राष्ट्रिय सुरक्षासँग जोडिएको र राजनीतिबाट टाढा रहेको सेनामा हुने चलखेलले दुर्घटना निम्त्याउने भन्दै डा. शेखरले भनेका छन् । ‘नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिबाट अलग रहेको संस्थामा माओवादीको पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन ।’
सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगर्न काेइरालाकाे सुझाव छ । ‘सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं । सम्बन्धित निकायहरुलाई यो कुराको हेक्का होस ।’ काेइरालाले सामाजिक सञ्जालमा भनेका छन् ।
माओवादी सेनाबाट समायोजन भएर गएकामध्ये सबैभन्दा उच्च पदमा पुगेका सहायक रथी अधिकारीको चार वर्षे पदावधि सकिएपछि सरकारले तीन वर्ष थप्ने निर्णय गरेको छ । पूर्वलडाकु अधिकारीको चारवर्षे पदावधि सकिएपछि म्याद थपिएको भन्दै पूर्वसैनिकहरुले आपत्ति जनाएका थिए । वन तथा पर्यावरण सुरक्षा निर्देशनालयको नेतृत्व गरिरहेका अधिकारीको पदावधि थप गर्ने सरकारको निर्णयपछि जंगीअड्डाले समेत उनलाई जिम्मेवारीविहीन बनाएको छ ।
0 प्रतिकृया