Follow us:


Follow us

१० कार्तिक २०८३, सोमवार
१० कार्तिक २०८३, सोमवार


टि२० आई सिरिजमा नेपालकाे लगातार दाेश्राे जित

एक्सन खबर
कार्तिक, २, २०८०


टि२० आई सिरिजमा नेपालकाे लगातार दाेश्राे जित

काठमाडाैं, २ कार्तिक । त्रिकोणात्मक टि२० आई सिरिजमा हङकङलाई हराउँदै नेपालले लगातार दोस्रो जित हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा भएकाे खेलमा हङकङलाई ६ विकेटले हराउँदै फाइनल नजिक पुगेकाे छ ।

९५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दा ओपनर आसिफ शेखले ३४ बलमा ६ चौकासहित सर्वाधिक ४२ रन बनाए । कप्तान रोहित पौडेल २० बलमा १ चौका र २ छक्कासहित २५ रनमा नट आउट रहे ।

कुशल भुर्तेल ८ रनमा बोल्ड आउट हुँदा कुशल मल्ल १ रनमा बोल्ड आउट भए । सन्दीप जोरा पनि एहसान खानकै बलमा ३ रनमा बोल्ड आउट भएका थिए । गुलशन झा ५ बलमा २ छक्कासहित १४ रनमा नट आउट रहे । हङकङका एहसान खानले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । यासिम मुर्तजाले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १९.३ ओभरमा ९४ रनमा अलआउट भयाे । यासिम मुर्तजाले ३६ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३६ रन बनाए ।

पहिलो बलमै कप्तानलाई गुमाएको हङकङ त्यसपछि लगातार विकेट खस्दा सामान्य स्कोरमा सिमित हुन पुगेकाे हाे । उनी अभिनाश बोहोराको ५० औं टि२०आई विकेट बने । तेस्रो ओभरको तेस्रो बलमा अंशुमन रथ करणकै बलमा कट बिहाईन्ड भए । चौथो ओभरको अन्तिम बलमा सोमपाल कामीले २ रन जोडेका मार्टिन कोट्जीलाई बोल्ड गरे ।

पाँचौ ओभरमा बाबर हायातले ठूलो सट खेल्दा कुशल भुर्तेलको हातबाट क्याच भए । हङकङलाई मुर्तजा र जिशान अलीले ३० रनको साझेदारी गर्दै सम्मानजनक योगफलसम्म पुर्याए । जिशानले २० बलमा २ चौकासहित १७ रन जोडे । हङकङका ९ ब्याट्सम्यानले दोहोरो स्कोर जोड्न सकेनन् ।

नेपालका लागि करण केसीले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट, अभिनाश बोहोराले २ तथा सोमपाल कामी, कुशल मल्ल र श्याम ढकालले समान १-१ विकेट लिए । सिरिजमा नेपालले अब कार्तिक ४ गते हङकङ विरूद्ध, कार्तिक ६ गते युएई विरूद्ध खेल्नेछ । फाइनल खेल कार्तिक १० गते टियु मैदानमा हुनेछ ।













0 प्रतिकृया