एसिसी यू–१९ प्रिमियर कपः फाइनलसँगै नेपाल एसिया कपमा छनोट
एक्सन खबर
काठमाडाैं, ५ कार्तिक । जापानलाई पराजित गर्दै नेपाल एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियाेगिताकाे फाइनलमा प्रवेश गर्दै यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि समेत छनोट भएको छ ।
मलेसियामा शनिबार भएको सेमिफाइनलमा जापानलाई डिएल पद्धतिमा एक सय ४४ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेकाे नेपाल पाकिस्तानमा हुने यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि पनि छनोट भएको हाे ।
वर्षाले प्रभावित खेलमा नेपाल २५ ओभरमा २ विकेट गुमाएर एक सय ४० रनको स्थितिमा थियो । लामो समयसम्म वर्षाले खेल प्रभावित भएपछि निर्धारित ५० ओभरको खेललाई छोट्याएर २२ ओभरमा झारिएकोमा डिएल पद्धति अनुसार जापानले २२ ओभरमा एक सय ८७ रनको लक्ष्य पाएको थियो । तर, जापान ११ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ४३ रनमा समेटिँदा नेपाल फाइनलमा पुग्न सफल भएकाे हाे ।
जापानका शोतारो हिरात्सुकाले १५ र किफर यामामोटोले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि हेमन्त धामी र दीपेश कँडेलले समान ३–३ विकेट लिए । सुभास भण्डारीले २ तथा आकाश चन्दले १ विकेट लिए ।
त्यसअघि ब्याटिङ गरेको नेपालले २५ ओभरमा २ विकेट गुमाएर एक सय ४० रनको योगफल बनाउँदा दीपक बोहोराले ७९ रन जोडे । दीपक र आकाश त्रिपाठीले दोस्रो विकेटका लागि ९३ रनको साझेदारी गर्दा आकाश त्रिपाठीले ३५ रन बनाए । अर्जुन कुमाल १० तथा कप्तान देव खनाल ८ रन जोडे ।
अब नेपालले यही बडा दशैंकाे टिकाकाे दिन कार्तिक ७ गते हुने फाइनल खेलमा युएईको सामना गर्नेछ । युएईले सिंगापुरलाई पराजित गर्दै फाइनल पुगेको हो ।
0 प्रतिकृया